काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान ले आजदेखि लागू हुने भनेको नेपाल बन्द तथा अनिश्चितकालीन आम हड्तालको कार्यक्रम फिर्ता लिएको छ।
शनिबार बालुवाटारमा सरकार र महाअभियानका प्रतिनिधिबीच भएको वार्तामा सहमति बनेपछि हड्ताल फिर्ता लिइएको हो। वार्तामा महाअभियानले प्रस्तुत गरेका २७ बुँदे माग समाधानका लागि निरन्तर संवाद अघि बढाउने सहमति भएको जानकारी दिइएको छ।
महाअभियानले जारी गरेको विज्ञप्तिअनुसार हालको शान्ति–सुरक्षा अवस्था र नागरिक चासोलाई प्राथमिकता दिँदै, प्रधानमन्त्रीको तर्फबाट उठाइएका मुद्दाहरू सम्बोधन गर्ने स्पष्ट प्रतिबद्धता आएपछि कार्यक्रम फिर्ता गर्ने निर्णय गरिएको हो। सरकारको तर्फबाट पनि निरन्तर वार्ता, छलफल र सहजीकरण प्रक्रिया जारी राख्ने प्रतिवद्धता व्यक्त गरिएको विज्ञप्तिमा उल्लेख छ।
सम्झौता भएको विज्ञप्तिमा महाअभियान तर्फबाट सचिव प्रेमदीप लिम्बु तथा सरकारतर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल का हस्ताक्षर छन्। विज्ञप्तिमा महाअभियानका २७ बुँदे मागबारे समाधानका लागि दुवै पक्ष मिलेर निरन्तर संवाद अघि बढाउने औपचारिक सहमति जनाइएको छ।
वार्तामा महाअभियानतर्फ सचिव प्रेमदीप लिम्बुको नेतृत्वमा अधिवक्ता विनोदमणि भट्टराई, लवण न्यौपाने, र दुर्गा प्रसाईका छोरा डा. निराजन प्रसाई सहभागी थिए।
सरकारतर्फ गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, र सल्लाहकार गोविन्दनारायण तिमिल्सिना पनि उपस्थित रहे।
यस सहमतिसँगै देशभर आजदेखि लागू हुने भनिएको बन्द र हड्ताल कार्यक्रम स्थगित भएको छ।











