शंकर प्रसाद पोख्रेल
रुपन्देही । राजनीतिक अभियानलाई जनमुखी उत्पादनसँग जोड्ने रणनीति अघि सार्दै नेकपा (माओवादी) ले रूपन्देहीमा कृषि गतिविधि सशक्त रूपमा अघि बढाएको छ। हाल देशभर ‘उत्पादन र स्वावलम्बन’ लाई मुख्य नाराका रूपमा अघि सारेका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समेत स्वयं विभिन्न स्थानमा खेतबारीमा उभिएर किसानसँगै रोपाइँ कार्यमा सहभागी भइरहेका छन्।
यही अभियानलाई निरन्तरता दिँदै शनिबार रूपन्देहीको सुद्दोधन गाउँपालिका–६, रजड क्षेत्रस्थित करिब १ विघा खेतमा सामूहिक आलु रोपाइँको औपचारिक सुरुवात गरिएको हो। पार्टीको जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा पोलिटब्युरो सदस्य बसन्त श्रेष्ठ प्रमुख अतिथि रहेका थिए।
रोपाइँ कार्यक्रममा गाउँ–टोल कमिटी, युवा संगठन, विद्यार्थी संगठनलगायत विभिन्न तह–तहका नेता तथा कार्यकर्ताहरूको ठूलो भीड देखियको थियो। खेतका आघिँचोभरि कार्यकर्ताहरूले हुटहुटीका साथ रोपाइँमा सहभागिता जनाएका दृश्यले राजनीतिक कार्यक्रमभन्दा फरक तरिकाको सामाजिक ऊर्जा झल्किएको स्थानीयवासीले बताएका छन्।
कार्यक्रममा सहभागी स्थानीय किसानहरूले राजनीतिक दलले खेतबारीमा उत्रिएर उत्पादनलाई प्राथमिकता दिन थालेको कदमले गाउँले स्तरमै नयाँ प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन्। “नेता–कार्यकर्ता सभा–सभा मात्रै होइन, जमिनमै खनजोत गर्दै देखिनु सकारात्मक अभ्यास हो,” एक किसानको भनाइ थियो।
उत्पादन–स्वावलम्बन अभियान देशभर विस्तार गर्दै माओवादी
पार्टी जिल्ला सेक्रेटरी बिरेन्द्र सिका अनुसार, माओवादीले लामो समयदेखि उठाउँदै आएको ‘जनजीविकाका सवाल’ लाई प्रत्यक्ष उत्पादनसँग जोडेर गाउँ–समुदायमा व्यवहारिक काम देखाउने रणनीति अघि बढाएको हो।
महासचिव विप्लवले हालैका कार्यक्रममा ‘आर्थिक स्वाधीनता बिना राजनीतिक स्वतन्त्रता अधुरो हुन्छ’ भन्दै खेतीपाती, सीपमूलक काम र सामूहिक उत्पादनमा पार्टीले अग्रसर हुनेछ भन्ने धारणा व्यक्त गर्दै आएका छन्।
रुपन्देहीमा सुरु गरिएको आलु रोपाइँ पनि सोही अभियानको एक महत्वपूर्ण उदाहरण भएको पार्टीले बताएको छ। कृषिमा सक्रियताले ग्रामीण संरचनालाई सबल बनाउने, युवा बेरोजगारी घटाउने र आत्मनिर्भर अर्थतन्त्रतर्फ उन्मुख गराउने लक्ष्य रहेको उल्लेख गरिएको छ।
अभियानले स्थानीय विकासमा सहयोग पुर्याउने अपेक्षा
सुद्दोधन गाउँपालिका क्षेत्र कृषि उत्पादनका सम्भावनासहितको फापरभूमि हो। वर्षेनी प्रशस्त मात्रामा आलु तथा तरकारी उत्पादन हुने यो क्षेत्रमा सामूहिक खेतीको पहल राजनीतिक नेतृत्वबाट नै सुरु हुनुले भविष्यमा सहकारी तथा समूहगत कृषि मोडेललाई अझ विस्तार दिन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी नेताहरूले उत्पादनमुखी राजनीतिको आवश्यकता रहेको उल्लेख गर्दै राजनीतिक दलले अब नाराभन्दा कामलाई प्राथमिकता दिनुपर्ने समय आएको बताए।
माओवादीको रूपन्देहीस्थित यो पहलले कृषिलाई राजनीतिको सीमित दायराबाट बाहिर निकाल्दै जनजीवनसँग जोडिने व्यवहारिक अभ्यासका रूपमा लिएको छ। उत्पादन–स्वावलम्बनलाई केन्द्रमा राखेर अघि बढाइएको अभियानले स्थानीयस्तरमा नयाँ प्रकारको सकारात्मक राजनीतिक संदेश फैलाएको छ।











