कम्युनिष्ट एकतामा दृढ– माओवादी केन्द्र रुपन्देहीको सर्वसम्मत प्रतिबद्धता

शंकर प्रसाद पोख्रेल 

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुपन्देही जिल्ला समन्वय समितिको दशौं पूर्ण बैठकले देशमा विद्यमान राजनीतिक जटिलता र दिगो स्थिरताका लागि आवश्यक रहेको कम्युनिष्ट शक्तिको एकतालाई ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने निष्कर्ष निकालेको छ। आइतबार मणिग्राममा सम्पन्न बैठकमा सहभागी पदाधिकारी तथा सदस्यहरूले पार्टीले निर्धारित कार्यदिशा, सिद्धान्त र संगठनात्मक मार्गनिर्देशनलाई आत्मसात् गर्दै एकतामूलक यात्रामा दृढताको साथ अघि बढ्ने निर्णय गरेका छन्।

जिल्ला संयोजक   नारायण जिसी ,निर्मलका   अनुसार पूर्ण बैठकले माओवादी केन्द्र, एकीकृत समाजवादी तथा अन्य समान विचारधाराका कम्युनिष्ट शक्तिहरूबीच भइरहेको एकता प्रक्रियालाई “राष्ट्रिय आवश्यकता र जनआकांक्षानुसार उठेको सही र समयानुकूल कदम” भनेर समर्थन गरेका छन्।
बैठकले मंसिर १३ गते दाङको लमहीमा आयोजना हुने लुम्बिनी प्रदेशस्तरीय एकता घोषणा सभामा रुपन्देहीको उल्लेख्य सहभागिता सुनिश्चित गर्ने र त्यसका लागि आवश्यक तयारी तुरुन्त सुरु गर्ने निर्णय गरेको छ।

खनालको निर्देशन– “संकुचित सोचले पार्टी कमजोर हुन्छ, ठूलो चित्र हेर्नुपर्छ”

बैठकलाई सम्बोधन गर्दै विघटित माओवादी केन्द्रका केन्द्रीय नेता तथा पूर्वमन्त्री चक्रपाणी खनाल (बलदेव) ले अहिलेको राजनीतिक परिस्थितिमा कम्युनिष्ट एकता केवल विकल्प नभई, राष्ट्रिय आवश्यकता भएको स्पष्ट गरे।
उनका अनुसार, विगतका केही असन्तुष्टि र मतभिन्नता प्राकृतिक भए पनि, कम्युनिष्ट आन्दोलनको दीर्घकालीन भविष्य सुनिश्चित गर्न नेतृत्व तथा कार्यकर्ताले संकुचित सोच छाडेर एकताको व्यापक चित्र हेर्नु आवश्यक छ।

“पार्टीभित्र कहिलेकाहीँ छुट्ने–जुट्ने क्रम चलिरहन्छ। इतिहास हेर्दा धेरैजसो फेरि संगठनमै फर्किन्छन्। त्यसैले भावनामा हैन, विचार र भिजनमा जोड दिनुपर्छ,”
पूर्वमन्त्री खनालले भने।

उनले जनार्दन शर्मा समूहतर्फ संकेत गर्दै, पार्टीप्रतिको असन्तुष्टि समाधान गर्न संवाद र व्यापक छलफललाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे।
देश गम्भीर आर्थिक–राजनीतिक संकटमा रहेको बेला कम्युनिष्ट नेतृत्व विखण्डन होइन, एकतालाई मूल मन्त्र बनाउन सबै तहका कार्यकर्तालाई आग्रह गरे।

स्थानीय संरचना र जनवर्गीय संगठनहरूको सक्रिय सहभागिता

बैठकमा रुपन्देहीका १६ वटै स्थानीय तहका प्रतिनिधि, जनवर्गीय संगठन, क्षेत्रीय कमिटी तथा विभिन्न मोर्चा–संगठनका प्रमुखहरू सहभागी थिए।
बैठकमा नेताहरू सुदर्शन बराल, हकिउल्ला खाँ, रमु परियार, सोनिया यादव लगायतले पार्टी एकतालाई जनस्तरमा सकारात्मक ऊर्जा र आशा पैदा गर्ने विषयका रूपमा लिएर अभियानकै रूपमा अघि बढाउन आग्रह गरे।

उनीहरूले जनताको समस्याप्रति उत्तरदायी र क्रियाशील पार्टीको छवि बनाउँदै संगठनात्मक एकता, अनुशासन, विचारधारात्मक स्पष्टता र नेतृत्वको निष्कपटता नै अहिलेको आवश्यकता भएको बताए।

एकताको पक्षमा रुपन्देहीको सन्देश : “साथ, सहकार्य र साझा लक्ष्य”

पूर्ण बैठकले निकालेको निष्कर्षले रुपन्देही माओवादी केन्द्रले कम्युनिष्ट एकतालाई संगठन पुनर्गठन, जनविश्वास पुनर्जीवन र वैचारिक सुदृढीकरणको महत्वपूर्ण ढोका मानिरहेको स्पष्ट भएको छ।
बैठकपछि जारी गैर–औपचारिक टिप्पणीहरूमा नेताहरूले एकताको पक्षमा उभिनुको उद्देश्य व्यक्तित्वभन्दा संस्थालाई बलियो बनाउनु रहेको आफूहरू विश्वस्त रहेको जनाएका छन्।

बैठकले जिल्लाभर सहकार्य, संयोजन र छलफललाई नियमित बनाउने, पार्टीभित्र उत्पन्न हुन सक्ने गलत बुझाइहरू अन्त्य गर्ने र एकताको अभियानलाई घरघरसम्म पुर्‍याउने निर्णयसमेत गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation