९ मंसिर, जनकपुरधाम।
त्रेतायुगमै प्रारम्भ भएको दैवी परम्परालाई पछ्याउँदै आज देश–विदेशभर विवाह पञ्चमी श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाम आज राम–सीता विवाह महोत्सवको भव्यताले झकिझकाउ छ ।
हरेक वर्ष मार्गशिर्ष शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा भगवान् राम र जनकनन्दनी सीताको दैवी मिलनलाई जीवित परम्परा झैँ पुनःअभिनय गरिन्छ।
जनकपुरधाममा दैवी डोला–शोभायात्राको रौनक
मिथिलाको सम्पूर्ण सांस्कृतिक सौन्दर्य झल्काउने मटकोर, तिलकोत्सव, स्वयंवरदेखि विवाह संस्कार आज विशेष विधिबाट सम्पन्न हुँदैछ।
राम मन्दिरबाट बाजागाजा र झाँकीसहित रामको प्रतिमालाई कलात्मक डोला–सिंहासनमा उठाइ रङ्गभूमितर्फ लगिएको छ।
उता जानकी मन्दिरबाट सीतालाई सुनौलो सजावट गरेको डोलामा राखेर स्वयंवरस्थलतर्फ बढाइएको छ।
रङ्गभूमिमा स्वयंवर विधि पूरा भएपछि दुवै डोलाहरू पुनः जानकी मन्दिर फर्काइ मिथिला रीति अनुसार वैवाहिक संस्कार सम्पन्न गरिँदैछ।
लाखौँ भक्तजनको उत्साह, वातावरण विवाह–उत्सवमय
भारत–नेपाल दुवै देशका हजारौँ श्रद्धालु बिहानैदेखि पवित्र सरोवरमा स्नान गरी पूजा–अर्चनामा सहभागी भइरहेकाले जनकपुर आज एक विशाल धार्मिक तीर्थक्षेत्रजस्तै बनेको छ।
भक्तजनले सीता–रामको दिव्य मिलन हेर्न र मनोवाञ्छित फल तथा मोक्ष प्राप्तिको कामना गर्दै डोलासँगै शोभायात्रामा सम्मिलित छन्।
रामलीला, भजन–कीर्तन, झाँकी र प्रवचनले आज जनकपुरधामको हरेक कुनामा विवाहोत्सवको रंग छरिरहेको छ।
परम्परा संक्षिप्त भए पनि उत्साह उस्तै
पहिले एक महिनासम्म चल्ने विवाह पञ्चमी महोत्सव अहिले चार दिनमै सीमित गरिएको भए पनि भव्यता र भक्तिभाव कुनै कमी छैन।
देशभरका राम–सीता मन्दिरहरूमा पनि आज विशेष पूजा, आरती र सांस्कृतिक कार्यक्रम गरी पर्व मनाइँदैछ।
महत्वपूर्ण कुरा—आजको दिनलाई विवाहका लागि ‘साइत नचाहिने’ शुभ तिथि मानिन्छ।











