अधिकार र संगठनिक एकता प्रवासी नेपालीका आधारस्तम्भ: त्रिभुवन भट्टराई

 

भारतको राजस्थान राज्यअन्तर्गत बिकानेरमा (३० नोभेम्बर २०२५) सम्पन्न एकदिवसीय नगरस्तरीय प्रशिक्षण सम्पन्न भएको  छ। कार्यक्रमका प्रमुख अतिथि तथा मूल प्रवाहका केन्द्रीय महासचिव त्रिभुवन भट्टराईले मुलुक र प्रवासी नेपाली समुदायबीचको सम्बन्ध, वर्तमान चुनौती र आगामी रणनीतिबारे महत्वपूर्ण मन्तव्य व्यक्त गर्दै भने— “मुलुकलाई अस्थिरतामा जान दिन हुँदैन। राष्ट्रको स्थायित्व र प्रगतिमा सबै नेपालीहरू एकजुट हुन आवश्यक छ।”

कार्यक्रमको उदघाटन गर्दै महासचिव भट्टराईले भारतमा नेपाली समुदायले भोगिरहेका भोटर आईडी, आधार कार्ड, मताधिकार, नागरिकता लगायतका संवेदनशील विषयमा प्रवासी नेपालीहरूलाई सजग, संगठित र अधिकारप्रति सचेत हुन आग्रह गरे। उनले हाल भारतमा देखिएका व्यवस्थापकीय जटिलता तथा प्रशासनिक चुनौतीबारे समेत स्पष्ट पार्दै मूल प्रवाहले उठाउँदै आएका मुद्दाहरू क्रमशः सम्बोधन हुँदै जाने विश्वास व्यक्त गरे।

कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य तथा सुदूर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमारेले भारतस्थित नेपालीहरूका हकहितको संरक्षणमा मूल प्रवाहले बजाइरहेको भूमिकालाई “गौरवमय र निरन्तर प्रभावकारी” भन्दै संगठनको सक्रियताबारे विस्तृत जानकारी दिए।
उनका अनुसार, शिक्षा, श्रम अधिकार, सामाजिक सुरक्षा र आप्रवासनका मुद्दामा मूल प्रवाहले विगतदेखि निरन्तर काम गरिरहेको छ।

कार्यक्रममा मूल प्रवाहको सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य रामप्रसाद पोखरेल, महिला क्षेत्रीय सदस्य सबिता पाण्डे र सुना थापा, समता विभागका राजु नेपाली, पूर्व अध्यक्ष लोकबहादुर पाण्डे, रक्तिमबाट उषा बिक, बिशाफ भुल, पटेल नगर क्षेत्रका बखत सलामी, बलबहादुर राना, करण भुल, सुनिता भट्टराई लगायतका अगुवा तथा प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो।
उपस्थित सदस्यहरूले संगठनका आगामी योजनामाथि सुझाव, अनुभव र प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रम सबिता खनालको सञ्चालन तथा विशाल अधिकारीको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भयो।
सहभागीहरूका अनुसार यस्तो प्रशिक्षण कार्यक्रमले प्रवासी नेपालीहरूलाई अधिकार सचेतना, संगठनिक एकता र समुदायिक नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation