जनप्रतिनिधि शंकर पोख्रेलको उन्नत ड्रागन खेती, झिमरुकका युवाका लागि प्रेरणाको स्रोत

 

शंकर प्रसाद पोख्रेल ,

प्युठान, झिमरुक–१ बडाचौर।
जनप्रतिनिधि शंकर पोख्रेलले बडाचौरस्थित आफ्नै जग्गामा सुरु गरेको ड्रागन फ्रुट खेती अहिले स्थानीय तहमा उदाहरणीय कृषि मोडेलका रूपमा स्थापित हुँदै गएको छ। छोटो समयमै राम्रो उत्पादन लिन सफल भएपछि यो खेतीप्रति स्थानीय कृषकहरूको चासो उल्लेखनीय रूपमा बढेको छ।

पोख्रेलका अनुसार ड्रागन फ्रुट खेती अन्य पारम्परिक फलफूलको तुलनामा कम लागत, कम श्रम र उच्च आम्दानी दिने हुँदा यसले गाउँमा आय–आर्जनका नयाँ सम्भावना खोलेको छ।
“देशमै जैविक, गुणस्तरीय र स्वास्थ्यवर्द्धक फल उत्पादन गर्ने लक्ष्यका साथ ड्रागन खेती अघि बढाएको हुँ,” उनले बताए।

उनीले हालसम्म प्राप्त उत्पादन बजारमा राम्रो मूल्यमा बिक्री भएको र आगामी वर्ष थप क्षेत्रफल विस्तार गर्ने तयारी गरेको बताए।

यसैबीच पोख्रेलले झिमरुक गाउँपालिकाको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
“कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने हो, तर गाउँपालिकाबाट अपेक्षित सहयोग र ध्यान पाइएन,” उनले टिप्पणी गरे। उनको भनाइअनुसार स्थानीय सरकारसँग सहकार्य हुन सके कृषकहरूले अझै ठूलो लाभ लिन सक्ने थिए।

ड्रागन फ्रुटमा पाइने भिटामिन ‘C’, एन्टिअक्सिडेन्ट, क्याल्सियम, फाइबरलगायतका पोषक तत्वका कारण यसको माग बजारमा तीव्र रूपमा बढिरहेकाले गाउँका युवाहरू पनि यस खेतीतर्फ आकर्षित भएका छन्। बडाचौर आसपासका किसान पोख्रेलको फार्म अवलोकन गर्न आउने क्रम दिनप्रतिदिन बढ्दो छ।

विशेषज्ञहरूका अनुसार व्यवस्थित व्यवस्थापन, सिँचाइ तथा बजारसँग जोडिएर ड्रागन फ्रुट खेती गाउँमै रोजगार सिर्जना, आम्दानी वृद्धि र आत्मनिर्भरता स्थापना गर्न महत्वपूर्ण आधार बन्न सक्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation