सही राजनीति रोज्न चित्र बहादुर केसीको आग्रह

 

शंकर प्रसाद पोख्रेल ,मंसिर २७ रुपन्देही ,बुटवल

बुटवलमा राष्ट्रिय जनमोर्चाको विरोध सभा सम्पन्न

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले मुलुक र देशको भविष्य सुरक्षित गर्न जनताले अब बुझेर सही राजनीतिक शक्ति रोज्नुपर्ने बताएका छन्। आज रुपन्देहीको बुटवलमा आयोजित राष्ट्रिय जनमोर्चा जिल्ला समितिको विरोध सभालाई सम्बोधन गर्दै उनले जनतासँग राष्ट्रिय जनमोर्चालाई मतदान गर्न आग्रह गरेका हुन्।

केसीले मुलुक आजको जटिल अवस्थासम्म आइपुग्नुमा नेपाली कांग्रेस र नेकपा एमालेजस्ता ठूला दलहरू जिम्मेवार रहेको आरोप लगाए। साथै, देशमा अमेरिकी साम्राज्यवाद र विदेशी हस्तक्षेप पनि सक्रिय रहेको उनले बताए। यदि नेपाली जनता समयमै सचेत नभए देशमा विदेशीहरूको शासन स्थापित हुने खतरा रहेको उनको चेतावनी थियो।

उनले विशेषगरी नयाँ पुस्ता (जेन–जी) का मागहरू भ्रष्टाचार अन्त्य, सुशासन र राष्ट्रिय स्वाधीनतासँग जोडिएको उल्लेख गर्दै ती मुद्दामा दृढतापूर्वक उभिएको दल राष्ट्रिय जनमोर्चा भएकाले जेन–जी पुस्ताले पनि राजमोलाई रोज्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बद्रे आलाम, कम्युनिस्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, किसान नेता चन्द्र बहादुर केसी, नेकपा मसाल रुपन्देहीका जिल्ला प्रवक्ता लालचन्द पन्थ, अन्टुकका केन्द्रीय अध्यक्ष लोकराज भुसाल, राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका कोषाध्यक्ष गणेश गौतमलगायतले मन्तव्य राखेका थिए।

कार्यक्रम राष्ट्रिय जनमोर्चा रुपन्देही जिल्ला कार्यबाहक अध्यक्ष इन्दिरा उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो। सभाको सञ्चालन गंगालाल सापकोटाले गरेका थिए भने स्वागत मन्तव्य लालबहादुर छेत्रीले राखेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation