नगरप्रमुख झबिलाल थापा नेतृत्वमा रेडक्रससँग नि:शुल्क रक्त सेवा सम्झौता

शंकर प्रसाद पोख्रेल
बुटवल, रुपन्देही

रुपन्देही — भुमिकास्थान नगरपालिका, अर्घाखाँची र नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाबीच नगरपालिकाका बासिन्दालाई निःशुल्क रगत तथा रक्ततत्व उपलब्ध गराउने उद्देश्यले औपचारिक सम्झौता सम्पन्न भएको छ। सम्झौता आज रुपन्देहीको भैरहवामा सम्पन्न भएको हो।

सम्झौताअनुसार भुमिकास्थान नगरपालिकाका बासिन्दाले नेपाल रेडक्रस सोसाइटी रुपन्देही अन्तर्गत सञ्चालित रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) बाट निःशुल्क रगत तथा रक्ततत्व प्राप्त गर्न सक्नेछन्। निःशुल्क सेवा उपलब्ध गराए वापत नगरपालिकाले प्रति युनिट ९५० रुपैयाँ सेवा शुल्क नेपाल रेडक्रस सोसाइटीलाई भुक्तानी गर्ने व्यवस्था गरिएको छ।

सम्झौतामा रक्तसञ्चार सेवाको खर्च विवरणसहितको प्रतिवेदन प्रत्येक त्रैमासिक १५ गतेभित्र बिलसहित नगरपालिकामा पेश गर्नुपर्ने उल्लेख छ। साथै सेवा प्रदान गर्दा बिरामीको नामावली, उपलब्ध गराइएको रगत वा रक्ततत्वको किसिम तथा लागेको शुल्कसहित आवश्यक कागजात संलग्न गर्नुपर्ने प्रावधान राखिएको छ।

निःशुल्क रक्त सेवा लिन नगरपालिकाका बासिन्दा भएको प्रमाण खुल्ने कागजात—नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, बसाइँसराइ प्रमाण, सवारी चालक अनुमति पत्र, राहदानी, जन्म दर्ता वा विवाह दर्ता—अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। आकस्मिक अवस्थामा कागजात तत्काल पेश गर्न नसकेमा पहिले सेवा शुल्क बुझाई २४ घण्टाभित्र कागजात पेश गरेमा उक्त रकम फिर्ता गरिने व्यवस्था गरिएको छ।

सम्झौताअनुसार अस्पतालका लागि लगिएको रगत प्रयोग नभएमा २४ घण्टाभित्र रक्त बैंकमा फिर्ता गर्नुपर्नेछ। साथै नगरपालिकाले वार्षिक कार्ययोजना तयार गरी कम्तीमा वर्षमा दुई पटक नेपाल रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

रक्तसञ्चार सेवा सहज र निरन्तर बनाउन नगरपालिकाले अग्रिम रूपमा एक लाख रुपैयाँ नेपाल रेडक्रस सोसाइटीमा जम्मा गर्ने र उक्त रकम २० प्रतिशतभन्दा कम भएमा पुनः रकम थप गर्ने प्रावधान पनि सम्झौतामा समावेश गरिएको छ।

सम्झौता समारोहमा बोल्दै भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झबिलाल थापाले यो सम्झौताले नगरवासीको जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “रक्त अभावका कारण कुनै पनि नागरिकले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो लक्ष्य हो। यस सम्झौतामार्फत भुमिकास्थान नगरपालिकाका नागरिकले सहज, सुरक्षित र निःशुल्क रक्त सेवा पाउने व्यवस्था गरिएको छ। आगामी दिनमा रक्तदान संस्कृतिलाई अझ सशक्त बनाउँदै लैजानेछौं।”

सम्झौतामा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट समयसमयमा तोकिएको रक्त सेवा शुल्क परिमार्जन भएमा सोहीअनुसार लागू हुने उल्लेख छ। आपसी सहमतिमा सम्झौताको अवधि तथा शर्त थपघट गर्न सकिने र प्रत्येक वर्ष कम्तीमा एक पटक दुवै पक्षको सहभागितामा समीक्षा बैठक आयोजना गर्ने सहमति पनि भएको छ।

यो सम्झौता २०८३ साल मसान्तसम्म लागू रहनेछ।

सम्झौतामा भुमिकास्थान नगरपालिकाका तर्फबाट नगर प्रमुख झबिलाल थापा र नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका तर्फबाट सभापति रामचन्द्र उपाध्यायले हस्ताक्षर गर्नुभएको छ। साक्षीका रूपमा स्वास्थ्य शाखा प्रमुख सुरेश प्रसाद गैरे तथा रक्तसञ्चार सेवा समिति रुपन्देहीका संयोजक सुषील गुरुङ रहनुभएको छ।

साथै, उक्त सम्झौता कार्यक्रममा अर्घाखाँची भुमिकास्थान निवासी भई हाल बुटवल बसोबास गर्दै आउनुभएका समाजसेवीहरू उमलाल बन्जाडे, गोपाल बन्जाडे, ज्ञानु पाण्डे, रामप्रसाद भुसाल, लक्ष्मण बेलवासे लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation