रूपन्देही, ४ पुस । रूपन्देहीको कञ्चन गाउँपालिकामा १८ वर्षीय किशोरको हत्या भएको घटनाले स्थानीय क्षेत्रमा सनसनी मच्चाएको छ। शान्त मानिँदै आएको बस्तीमा घर नजिकैको नालीमा शव फेला परेपछि सुरक्षा अवस्था प्रति गम्भीर चासो पैदा भएको छ।
कञ्चन गाउँपालिका–४ धौलागिरीचोक निवासी स्मिथ शर्मा तीन दिनदेखि बेपत्ता थिए। खोजीका क्रममा बिहीबार साँझ करिब ७ बजे आफ्नै घर नजिकको नालीमा उनको शव फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ। शव अत्यन्तै विभत्स अवस्थामा भेटिएको बताइएको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानबाट हत्या भएको पुष्टि गरेको छ। घटनामा संलग्न हुनसक्ने आशंकामा कञ्चन क्षेत्रका चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएको छ।
घटनाको विस्तृत कारण र पृष्ठभूमि खुल्न बाँकी रहेको जनाउँदै प्रहरीले दोषी पहिचान गरी छिट्टै कानुनी प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाएको छ। यसैबीच, हत्यामा संलग्नलाई कडा सजायको माग गर्दै स्थानीय बासिन्दाहरू इलाका प्रहरी कार्यालय रूपन्देही पुग्ने तयारीमा रहेका छन्।
यस घटनाले कञ्चन क्षेत्रमा भय र असुरक्षाको वातावरण सिर्जना गरेको छ।











