भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट रिहा भएपछि सार्वजनिक प्रतिक्रिया दिएका छन्। रिहाइपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले आफूविरुद्ध नियोजित रूपमा अन्याय गरिएको बताए।
उनले राज्यशक्ति र केही स्वार्थ समूहले आफूलाई घेराबन्दी गरेको दाबी गर्दै सत्यलाई दबाउने प्रयास भए पनि अन्ततः सत्यकै जित हुने बताए। उनले भने, “सत्यलाई केही समयका लागि दबाउन सकिएला, तर समाप्त पार्न सकिँदैन। ममाथि भएको एक–एक अन्यायको हिसाब समय आएपछि कानुनी र राजनीतिक दुवै रूपमा मिलाएरै छाड्नेछु।”
लामिछानेले अन्यायविरुद्ध डटेर लड्ने स्पष्ट पारे र अन्तिम फैसला जनताकै अदालतबाट हुने विश्वास व्यक्त गरे। उनले कठिन परिस्थितिमा साथ दिएकोमा समर्थक र शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै राजनीतिक यात्रामा अझ दृढ भएर अघि बढ्ने बताए।
रिहाइपछि बाहिर समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। यस घटनाले देशको राजनीतिक वृत्तमा थप चर्चा र बहस उत्पन्न गरेको छ।











