शंकर प्रसाद पोख्रेल ,बुटवल
५ पुस ,रुपन्देही
राजनीतिमा ‘शुद्धिकरण’ को अभियानलाई नयाँ मोड
प्युठान जिल्लाको लिबाङलाई कर्मभूमि बनाउँदै आएका राजनीतिज्ञ गोबिन्द गिरीले नेकपा (एमाले) परित्याग गर्दै श्रम–संस्कृति पार्टीसँग औपचारिक रूपमा आफ्नो राजनीतिक यात्रा जोड्नुभएको छ। लामो समयदेखि नेपाली राजनीतिमा देखिएको अवसरवाद, सत्तामुखी सोच र जनविरोधी प्रवृत्तिको विरोध गर्दै ‘राजनीतिक शुद्धिकरण’ को अभियानमा सक्रिय रहनुभएका गिरीको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
रुपन्देहीको बुटवलमा आयोजित विशेष कार्यक्रममा श्रम–संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गिरीलाई पार्टीमा स्वागत गर्नुभयो। कार्यक्रममा बोल्दै अध्यक्ष साम्पाङले श्रम, इमानदारी र जनसेवामूलक राजनीतिलाई संस्थागत गर्ने अभियानमा गोबिन्द गिरीको प्रवेशले पार्टीलाई थप ऊर्जा र वैचारिक मजबुती दिने विश्वास व्यक्त गर्नुभयो। “राजनीति सत्ता र सुविधा होइन, माटो र श्रमसँग जोडिनुपर्छ,” उहाँले भन्नुभयो।
नवप्रवेशी नेता गोबिन्द गिरीले पनि आफ्नो राजनीतिक निर्णय कुनै आकस्मिक आवेग नभई लामो आत्ममन्थनको परिणाम भएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “पुरानो ढाँचाको राजनीति जनताबाट टाढा हुँदै गयो। दलहरू सत्ता केन्द्रित भए, श्रम र उत्पादनलाई हेपियो। अब जनमाटोसँग जोडिएको, श्रमलाई सम्मान गर्ने राजनीतिक धार आवश्यक छ, र त्यो बाटो श्रम–संस्कृति पार्टीले देखाएको छ।”
गिरी प्युठानको सामाजिक र राजनीतिक क्षेत्रमा चिनिएको नाम हुनुहुन्छ। स्थानीय तहदेखि राष्ट्रिय राजनीतिसम्मको अनुभव बटुल्नुभएका उहाँले पछिल्लो समय वैकल्पिक राजनीतिक सोच र संस्कृतिको आवश्यकता औंल्याउँदै आउनुभएको थियो। उहाँको पार्टी प्रवेशले श्रम–संस्कृति पार्टीलाई पश्चिम नेपालमा संगठन विस्तार र जनआधार बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा विभिन्न क्षेत्रका अभियन्ता, समर्थक र स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले देशमा नयाँ राजनीतिक संस्कार स्थापना गर्न यस्ता वैचारिक रूपमा स्पष्ट र साहसी निर्णयहरू आवश्यक रहेको धारणा राखे।
गोबिन्द गिरीको श्रम–संस्कृति पार्टी प्रवेशलाई केवल पार्टी परिवर्तनका रूपमा होइन, नेपाली राजनीतिमा चलिरहेको वैकल्पिक धार र शुद्धिकरण अभियानको एक महत्वपूर्ण कडीका रूपमा हेरिएको छ। आगामी दिनमा उहाँको सक्रियताले पार्टी र समग्र राजनीतिक बहसमा कस्तो प्रभाव पार्ला भन्ने चासो व्यापक रूपमा देखिएको छ।










