शंकर प्रसाद पोख्रेल ,
राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्युठानको आयोजनामा बिजुवारमा उत्साहजनक जनसहभागितासहित जागरण सभा सम्पन्न भएको छ। वर्तमान राजनीतिक, आर्थिक तथा सामाजिक संकटप्रति जनतालाई सचेत गराउने उद्देश्यले आयोजना गरिएको सभामा विभिन्न ज्वलन्त राष्ट्रिय मुद्दामाथि गम्भीर बहस तथा विचार–विमर्श गरिएको थियो।
सभामा जेन–जी आन्दोलनको उदय, संसद विघटनलगायत राज्यसत्तामाथि आइपरेको संकट, बढ्दो वैदेशिक चलखेल, संस्थागत भ्रष्टाचार, सहकारी ठगी प्रकरण, तीव्र गतिमा भइरहेको युवाशक्ति पलायन, कमजोर बन्दै गएको राष्ट्रिय अर्थतन्त्रजस्ता विषयहरूलाई वक्ताहरूले केन्द्रमा राख्दै धारणा व्यक्त गरेका थिए। वक्ताहरूले वर्तमान राज्य व्यवस्था जनताको अपेक्षा पूरा गर्न असफल हुँदै गएको भन्दै देश बहुआयामिक संकटमा फस्दै गएको निष्कर्ष प्रस्तुत गरे।
कार्यक्रममा बोल्ने वक्ताहरूले संसदको आवश्यकता स्वीकार गर्दै अल्पकालीन रूपमा केही अस्थायी समाधानका उपायहरू सम्भव भए पनि ती समाधानहरू दीर्घकालीन र स्थायी नहुने स्पष्ट पारे। उनीहरूले दीर्घकालीन रूपमा देशको वास्तविक निकास जनवादी गणतन्त्र नै भएको उल्लेख गर्दै त्यसका लागि संगठित जनसंघर्ष अपरिहार्य रहेकोमा जोड दिए।
सभामा राष्ट्रिय जनमोर्चाका नेतृ दुर्गा पौडेल, राजमो प्रदेश अध्यक्ष बोम बहादुर खत्री, नेकपा मसाल प्रदेश प्रबक्ता तिलक जिसी, तारा थापा तथा अखिल छैठौंका अध्यक्ष सुबास जिसीले आ–आफ्ना धारणा राख्नुभएको थियो।
वक्ताहरूले वर्तमान सत्ताधारी शक्तिहरूले जनताको जीवनस्तर सुधारभन्दा सत्ता स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाउँदै भ्रष्टाचार र दलालीकरणविरुद्ध सशक्त जनआन्दोलन आवश्यक रहेको बताए।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपानेले गर्नुभएको थियो। अध्यक्षीय मन्तव्यमा न्यौपानेले देशलाई विद्यमान संकटबाट मुक्त गर्न वैकल्पिक राजनीतिक धार आवश्यक रहेको उल्लेख गर्दै जनमोर्चाले त्यस दिशामा निरन्तर संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सभा सहभागीहरूको उल्लेखनीय उपस्थितिले जनस्तरमा वैकल्पिक राजनीतिक बहसप्रति बढ्दो चासो देखिएको आयोजकले जनाएका छन।











