विनोद खनाल, बुटवल
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आगामी २०८२ साल फागुन २१ गते हुने भनिएको संसदीय निर्वाचन सशक्त रूपमा बहिष्कार गर्ने निर्णय गरेको छ।
पार्टीका स्थायी समिति सदस्य कृष्ण पौडेलले मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अहिलेको अवस्थामा हुने निर्वाचनले जनताको चाहना पूरा गर्न नसक्ने दाबी गरे। उनले पुरानै संसदवादी दलहरू हावी हुने भएकाले यस्तो निर्वाचनको कुनै औचित्य नरहेको बताए।
नेता पौडेलले जेन–जी आन्दोलनको नाममा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको इसारामा वर्तमान सरकार गठन भएको आरोप लगाउँदै सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक र विदेशी शक्तिहरूको कठपुतली भएको दाबी गरे। उनका अनुसार संसदीय व्यवस्था असफल भइसकेको अवस्थामा चुनाव उपयोगी हुन सक्दैन।
उनले देशभक्त, जनतान्त्रिक, वामपन्थी तथा प्रगतिशील शक्तिहरूबीच राष्ट्रिय राजनीतिक सम्मेलन आयोजना गरी संयुक्त मोर्चा निर्माण गर्नुपर्ने र त्यसकै नेतृत्वमा स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्नेमा जोड दिए।
पौडेलले कांग्रेस, एमाले र नेकपालाई संसदवादी दलको संज्ञा दिँदै यी शक्तिहरू देशलाई सही दिशामा लैजान असफल भइसकेको बताए। फागुन २१ को निर्वाचन विदेशी एजेन्टहरूको वर्चस्व कायम गराउने योजनाअनुसार हुन लागेको उनको आरोप थियो।
पत्रकार सम्मेलन बाबुराम आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो।
पार्टीको विज्ञप्ती (संक्षेप)
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जिल्ला संगठन समिति रुपन्देहीद्वारा जारी विज्ञप्तीमा २०८२ भदौ २३ गतेको जेन–जी आन्दोलनलाई देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूले हिंसात्मक बनाएको दाबी गरिएको छ। विज्ञप्तीमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको सहमतिमा वर्तमान सरकार गठन भएको आरोप लगाउँदै उक्त सरकारले गराउन लागेको निर्वाचन बहिष्कार गर्ने निर्णय गरिएको उल्लेख छ।
विज्ञप्तीमा नेपालको सार्वभौमिकता र राष्ट्रिय स्वाधीनता गम्भीर जोखिममा परेको उल्लेख गर्दै संयुक्त मोर्चामार्फत स्वाधीन सरकार गठन नै अहिलेको राष्ट्रिय आवश्यकता भएको भनिएको छ। संसदवादी व्यवस्था र त्यसअन्तर्गत हुने निर्वाचनबाट जनताको आधारभूत आवश्यकता पूरा नहुने निष्कर्ष निकालिएको छ।











