सिन्धुली । बुहारीमाथि पेट्रोल खन्याएर आगो लगाई हत्या गरेको आरोपमा सिन्धुलीमा सासु र नन्द पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कमलामाई नगरपालिका–४ धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्या प्रकरणमा उनकी ५९ वर्षीया सासु मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामालाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार अभियुक्तद्वयले गत आइतबार सुशीलाको शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। घटनामा गम्भीर घाइते भएकी सुशीलाको घटनास्थलमै मृत्यु भएको थियो। उनका श्रीमान् विगत दुई वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका छन्।
घटनास्थलबाट जलेको शव प्रहरीले बरामद गरेको छ भने मृतकका ससुरा दुर्गामान बम्जन समेत घाइते भएका छन्। उनलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीको भनाइ छ।
प्रहरीले जिल्ला अदालतबाट आवश्यक म्याद थप गरी दुवै अभियुक्तलाई थुनामा राखेर अनुसन्धान अघि बढाएको जनाएको छ। उता, घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै स्थानीयवासीहरूले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्।











