काठमाडौँ, ९ पुस २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँगको भेटपछि अब परिवर्तनको एजेन्डा बोकेका अन्य नयाँ शक्तिसँग संवाद विस्तार गर्ने बताएका छन्।
मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङ र वर्तमान उर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग पनि सहकार्यको सम्भावनाबारे छलफल अघि बढाउने स्पष्ट पारे।
उनले परिवर्तन चाहने शक्तिहरू अब छुट्टाछुट्टै नभई एकै मोर्चामा उभिनुपर्ने आवश्यकता औँल्याए।
“परिवर्तनको पक्षमा उभिएका सबै शक्ति संवादमार्फत एक ठाउँमा आउनुपर्छ,” उनले भने, “सुदन गुरुङसँग निरन्तर कुराकानी भइरहेको छ, र अब समय मिलाएर कुलमान घिसिङसँग पनि गम्भीर छलफल गरिनेछ।”
यसअघि सोमबार राति काठमाडौंको कमलपोखरीमा रवि लामिछाने र बालेन शाहबीच करिब ६ घण्टा लामो गोप्य छलफल भएको थियो। उक्त भेटमा भावी राजनीतिक सहकार्यको सम्भावित खाका कोर्ने प्रारम्भिक प्रयास भएको स्रोतले जनाएको छ।











