श्री प्रभात मा.वि. झिमरुक–३ को ४५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

नारायण जिसी, प्युठान 
प्युठानको झिमरुक गाउँपालिका–३, आहालखोलामा अवस्थित श्री प्रभात माध्यमिक विद्यालयको ४५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले पानसमा मैनबत्ती बालेर गर्नुभएको थियो।
उद्घाटन मन्तव्यका क्रममा प्रमुख अतिथि महतरा क्षेत्रीले लुम्बिनी प्रदेशकै स्थानीय तहमध्ये झिमरुक गाउँपालिका शिक्षा क्षेत्रमा अब्बल रहेको उल्लेख गर्नुभयो। उहाँले प्युठान जिल्लाका स्थानीय तहहरूमा एसईई नतिजा हेर्दा झिमरुकका विद्यालयहरूको नतिजा उत्कृष्ट रहेको बताउनुभयो। साथै शिक्षकहरू उच्च मनोबलका साथ जाँगरिलो, फुर्तिलो र क्षमतावान भई बाल मनोविज्ञान बुझेर शिक्षण गर्नुपर्नेमा जोड दिनुभयो।
स्थानीय सरकार सदैव शिक्षकको पक्षमा रहने उल्लेख गर्दै उहाँले विद्यालयका भौतिक संरचना, खानेपानी, खेलमैदान तथा डेस्क–बेन्च निर्माणमा स्थानीय सरकारले आवश्यक सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँका अनुसार झिमरुक गाउँपालिकाको कुल बजेटको ४२ प्रतिशत शिक्षा क्षेत्रमा खर्च गरिएको छ। साथै वर्तमान गाउँपालिकाले गौमुखी क्याम्पसमा निःशुल्क शिक्षा, १५ प्रतिशत तलब वृद्धि, स्थानीय पाठ्यक्रम कार्यान्वयन लगायतका महत्वपूर्ण निर्णयहरू गरेको जानकारी दिनुभयो।
सोही अवसरमा प्रमुख अतिथि क्षेत्रीले प्रभात मा.वि.का सम्पूर्ण शिक्षकहरूलाई सामूहिक शपथ पनि खुवाउनुभएको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै विशेष अतिथि झिमरुक गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष मिन बहादुर खत्रीले शिक्षक, विद्यार्थी र अभिभावकको अथक मेहनतका कारण प्रभात माध्यमिक विद्यालय ब्राण्डेड विद्यालयका रूपमा स्थापित भएको बताउनुभयो।
शुभकामना व्यक्त गर्ने अन्य वक्ताहरूमा विद्यार्थीको तर्फबाट कृष्णा एम.सी., अभिभावकको तर्फबाट नवराज के.सी. तथा विद्यालयको तर्फबाट श्री सर्वोदय मा.वि. गढेरपानीका प्रधानाध्यापक लाल बहादुर एम.सी. रहनुभएको थियो।
कार्यक्रमका बीचमा अक्षयकोषदाता तथा चन्दादाताहरूलाई सम्मान, मार्मिक नृत्य प्रस्तुति, अक्षयकोष पुरस्कार, प्रोत्साहन तथा प्रशंसापत्र वितरण गरिएको थियो। कार्यक्रममा करिब ७० प्रतिशत अभिभावकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समिति सदस्य धनिराम जैसीले राख्नुभएको थियो भने वार्षिक प्रगति प्रतिवेदन प्रधानाध्यापक खोडस बहादुर के.सी.ले प्रस्तुत गर्नुभएको थियो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशरजंग एम.सी.को अध्यक्षता तथा शिक्षक तीर्थराज पोख्रेलको सञ्चालनमा स्वागत गीत, विद्यालय गीतलगायत विविध सांस्कृतिक कार्यक्रमसहित कार्यक्रम सम्पन्न भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation