नारायण जिसी
प्युठान । झिमरुक गाउँपालिकाको आयोजनामा झिमरुक गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ। झिमरुक नदीको किनारमा रहेको मैनाके खेल मैदानमा आयोजित उद्घाटन समारोह जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जी.सी. को प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
प्रमुख अतिथि जी.सी.ले पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभयो। उद्घाटन समारोहको अध्यक्षता झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतारा क्षेत्री ले गर्नुभएको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा बाल शिक्षा माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिराम पोखरेल, राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका अध्यक्ष टिका बहादुर जी.सी., झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेल लगायतले खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
उद्घाटन कार्यक्रममा वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक, खेलाडी, विद्यार्थी तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगिता मंसिर १०, ११ र १२ गते गरी तीन दिनसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा झिमरुक गाउँपालिकाभित्रका १२ वटा सामुदायिक माध्यमिक विद्यालय सहभागी छन्। प्रतियोगिता संयोजक शेरचन्द्र के.सी. का अनुसार आज पहिलो दिन ८ वटा एथलेटिक्स खेलका फाइनल खेलहरू सम्पन्न भएका छन् भने प्रारम्भिक चरणमा ३ वटा कबड्डी र १ वटा भलिबल खेल सम्पन्न भएका छन्।
खेललाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न एम्पायर, विभिन्न समिति, उप–समिति तथा स्वयंसेवकहरू परिचालन गरिएको छ। यसअघि बाल शिक्षा माध्यमिक विद्यालय मच्छी ले लगातार तीन वर्ष राष्ट्रपति रनिङ शिल्ड जितेपछि नयाँ शिल्डको व्यवस्था गरिएको थियो। नयाँ शिल्डको प्रमुख अतिथि धरम बहादुर जी.सी. ले अनावरण गर्नुभएको थियो।
शिल्ड अनावरणपछि बाल शिक्षा माध्यमिक विद्यालयकी छात्रा पल्पसा रोकाया ले मसाल दौड प्रदर्शन गरेकी थिइन्। कार्यक्रमबीच विभिन्न सांस्कृतिक प्रस्तुति पनि देखाइएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल ले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन शिक्षा शाखा प्रमुख पुष्प राना ले गर्नुभएको थियो।











