रुपन्देही । कञ्चन गाउँपालिका निवासी १७ वर्षीय युवक ईशान शर्मा पौडेल को रहस्यमय मृत्युले रुपन्देहीमा गम्भीर प्रश्नहरू जन्माएको छ। प्रहरीले प्रारम्भिक रूपमा सडक दुर्घटना भएको दाबी गरे पनि मृतकका परिवार र स्थानीय समुदायले घटनालाई साधारण दुर्घटना मान्न अस्वीकार गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।
ईशानको मृत्यु सार्वजनिक भएपछि आफन्त, छिमेकी तथा स्थानीयवासीहरू आन्दोलित बनेका छन्। उनीहरूले इलाका प्रहरी कार्यालय रुद्रपुरदेखि जिल्ला प्रहरी कार्यालय रुपन्देहीसम्म पुगेर विरोध जनाउँदै सत्य तथ्य सार्वजनिक गर्न दबाब दिएका छन्। प्रदर्शनकारीहरूको मुख्य माग एउटै छ— घटनाको वास्तविक कारण पत्ता लगाइ दोषीलाई कानुनी कठघरामा ल्याइयोस्।
प्रहरीका अनुसार ईशानको मृत्यु लु २ ख ४९४८ नम्बरको फोर्स गाडी को ठक्करबाट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। तर परिवारजन र स्थानीयवासीहरू घटनास्थलको अवस्था, मृतकको शरीरमा देखिएका चोटपटक तथा घटनापछिको गतिविधि शंकास्पद रहेको बताउँदै आएका छन्।
“हामीले कागजमा लेखिएको कथन होइन, सत्य चाहेका हौं,” मृतकका ठूला बुवा पुष्पराज शर्मा ले भन्नुभयो, “निष्पक्ष छानबिन नभएसम्म हामी पछि हट्दैनौं।” उहाँले दोषी पहिचान नभएसम्म शव नउठाइने चेतावनीसमेत दिनुभयो।
बढ्दो दबाबपछि प्रहरीले घटनासँग सम्बन्धित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ। यद्यपि अनुसन्धानको गति र पारदर्शितामाथि पीडित पक्षको विश्वास अझै कायम हुन सकेको छैन।
ईशानको मृत्यु अब एक परिवारको व्यक्तिगत शोकमा सीमित नरही न्याय प्रणालीप्रति जनविश्वासको प्रश्न बनेको छ। स्थानीय बासिन्दा, नागरिक समाजका प्रतिनिधि तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरू निष्पक्ष छानबिनको माग गर्दै एकै स्वरमा उभिएका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पुगेका पीडितका आफन्तलाई सम्बोधन गर्दै प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुरज कार्की ले हाल अनुसन्धान जारी रहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “घटनासम्बन्धी तीन जनामाथि सोधपुछ भइरहेको छ, छानबिन अन्तिम निष्कर्षमा पुगिसकेको छैन।” साथै उहाँले सत्य बाहिर ल्याउन स्थानीय समुदायसँग सहकार्यको अपील गर्नुभयो।
अब सबैको चासो एउटै प्रश्नमा केन्द्रित छ—
ईशानको मृत्यु साँच्चिकै दुर्घटना थियो, कि सुनियोजित अपराध?
यसको उत्तर निष्पक्ष र पारदर्शी अनुसन्धानले मात्र दिनेछ











