शंकर प्रसाद पोख्रेल
११ पुस, बुटवल
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमाथि अमेरिकी साम्राज्यवादले योजनाबद्ध, संगठित र आक्रामक रूपमा हस्तक्षेप बढाउँदै देशलाई बन्धक बनाउने प्रयास गरिरहेको गम्भीर आरोप लगाउनुभएको छ। उहाँले कांग्रेस, एमाले र माओवादीजस्ता सत्ताधारी दलहरू विदेशी शक्तिका दलाल बनेर एमसिसी जस्तो राष्ट्रघाती सम्झौता संसदबाट पारित गराई अमेरिकी चलखेललाई औपचारिक रूपमा नेपाल भित्र्याएको दाबी गर्नुभयो।
आजदेखि बुटवलमा सुरु भएको अखिल नेपाल शिक्षक संघ राष्ट्रिय समितिको पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा मन्तव्य राख्दै अध्यक्ष केसीले भन्नुभयो।
आजको राज्यसत्ता जनताको होइन, विदेशी शक्तिको इसारामा चल्ने दलाल सत्तामा रूपान्तरण भएको छ। एमसिसी केवल आर्थिक परियोजना होइन, यो अमेरिकी साम्राज्यवादको राजनीतिक, सैनिक र वैचारिक हस्तक्षेपको ढोका हो।
अध्यक्ष केसीले अमेरिकी योजनाअनुसार नेपालमा राजनीतिक अस्थिरता सिर्जना गर्ने, आन्दोलनहरूलाई दिशाहीन बनाउने र जनआक्रोशलाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्ने षड्यन्त्र तीव्र रूपमा अघि बढिरहेको उल्लेख गर्नुभयो। “सत्ता र भ्रष्टाचारको लोभमा ठूला दलहरूले देशको सार्वभौमिकता, स्वाधीनता र आत्मनिर्णयको अधिकार कौडीको भाउमा सुम्पिएका छन ।उहाँको कडा टिप्पणी थियो।
जेन–जी आन्दोलनको सन्दर्भमा अध्यक्ष केसीले युवाहरूका मागहरू स्वाभाविक, जायज र जनपक्षीय भए पनि ती आन्दोलनहरूलाई विदेशी शक्तिहरूले आफ्नो स्वार्थ पूरा गर्न प्रयोग गरेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो।
जेन–जीका मागहरू गलत होइनन्, ती देशको वस्तुगत अवस्थाबाट जन्मिएका हुन्। तर ती आन्दोलनहरूलाई विदेशी शक्तिहरूले अपहरण गरेर आफ्नो एजेन्डा पूरा गर्न खोजिरहेका छन्। सचेत नभए युवाको विद्रोह साम्राज्यवादी खेलको मोहरा बन्न सक्छ।।
शिक्षक समुदायलाई सम्बोधन गर्दै अध्यक्ष केसीले विद्यालयहरूलाई विदेशी विचारधाराको प्रयोगशाला बन्न नदिने दृढ अडान लिन आग्रह गर्नुभयो। “शिक्षकहरू ज्ञान बेच्ने व्यापारी होइनन्, उनीहरू राष्ट्रियता, स्वाधीनता र क्रान्तिकारी चेतनाका निर्माता हुन्। शिक्षक मौन बस्यो भने देश साम्राज्यवादको गुलाम बन्नेछ। उहाँले चेतावनी दिनुभयो।

कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले कांग्रेस, एमाले र माओवादीको सत्ता–केन्द्रित, अवसरवादी र जनविरोधी कार्यशैलीका कारण जनतामा विद्रोहको चेतना तीव्र रूपमा फैलिँदै गएको बताउनुभयो। उहाँले शिक्षकहरू राष्ट्रका बौद्धिक हतियार भएको उल्लेख गर्दै राष्ट्रियताको सवालमा सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने धारणा राख्नुभयो।

महाधिवेशनमा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो। शुभकामना मन्तव्य दिनेहरूमा
नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रतिनिधि,
नेपाल विद्यालय कर्मचारी परिषदका अध्यक्ष गंगाराम तिवारी,
प्रगतिशील राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष अच्युत राज नेपाल,
अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि गंगालाल प्रधान,
नेपाल राष्ट्रिय शिक्षक परिषदका भीम पाण्डे,
नेपाल शिक्षक संघका प्रतिनिधि,
नेपाल शिक्षक महासंघका महासचिव विक्रम झा उपाध्याय,
कम्युनिस्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य,
अनेटेयु महासंघ (अन्टुक) का अध्यक्ष लोकराज भुसाल,
किसान महासंघका चन्द्र बहादुर केसी,
अखिल नेपाल युवक संघका सचिव ठाकुर पन्थी,
महिला संघकी संझना पौडेल,
अखिल छैठौँका अध्यक्ष सुवास जिसी,
बुद्धिजीवी संघका दुर्गनाथ खरेल,
कानुन व्यवसायी हेमराज शर्मा,
तराई–मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम,
अनेउका सल्लाहकार ढुन्डिराज शर्मा,
र केहर सिंह पुनलगायतले साम्राज्यवाद, भ्रष्टाचार र दलाल सत्ताविरुद्ध संगठित संघर्ष अपरिहार्य भएको धारणा व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता अखिल नेपाल शिक्षक संघका अध्यक्ष सानोभाइ कार्कीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव चक्रपाणि पौडेलले गर्नुभएको थियो। स्वागत मन्तव्य कृष्ण प्रसाद आचार्यले राख्नुभएको थियो।
महाधिवेशनले शिक्षा क्षेत्रलाई साम्राज्यवादविरोधी, राष्ट्रवादी र क्रान्तिकारी दिशामा उभ्याउँदै आगामी संघर्षको स्पष्ट खाका तय गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।













