अखिल (समाजवादी) रुपन्देहीको २८औँ जिल्ला सम्मेलन सम्पन्न  

शंकर प्रसाद पोख्रेल ,१२ ,पुस रुपन्देही 

जनवादी शिक्षाको झण्डा उठाउँदै कुमार नेपालीको नेतृत्वमा ४३ सदस्यीय जिल्ला समिति निर्वाचित
रुपन्देही ।
बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) निकट विद्यार्थी संगठन अखिल (समाजवादी) रुपन्देही जिल्ला समितिको २८औँ जिल्ला सम्मेलन पूँजीवादी शिक्षा प्रणालीविरुद्ध सशक्त वैचारिक हस्तक्षेप गर्दै क्रान्तिकारी उत्साहका साथ सम्पन्न भएको छ।
सम्मेलनले कुमार नेपालीको अध्यक्षतामा ४३ सदस्यीय रुपन्देही जिल्ला समिति सर्वसम्मत रूपमा निर्वाचित गर्दै जिल्लामा क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने संकल्प गरेको छ। जिल्लाभरिका विद्यालय तथा क्याम्पसबाट सहभागी प्रतिनिधि विद्यार्थीहरूको विशाल उपस्थितिले सम्मेलनलाई संघर्षको अखडा बनाएको थियो।


जिल्ला सम्मेलनमा नेकपा (माओवादी) का केन्द्रीय पोलिटब्युरो सदस्य वसन्त श्रेष्ठ, रुपन्देही जिल्ला सेक्रेटरी बिरेन्द्र सी. तथा पार्टी नेता सरद ओली ले शुभकामना मन्तव्य राख्दै वर्तमान राज्यसत्ताले लादेको उपभोक्तावादी, दलाल–पूँजीवादी शिक्षा प्रणाली को कडा भण्डाफोर गर्नुभयो। उहाँहरूले शिक्षा श्रमसँग नजोडिएसम्म, उत्पादनसँग  सम्बन्धित नरहुन्जेलसम्म जनताको मुक्ति सम्भव नहुने स्पष्ट पार्नुभयो।
वक्ताहरूले अबको विद्यार्थी आन्दोलन जनवादी, उत्पादनमुखी र सीपमूलक शिक्षा स्थापनाका लागि निर्णायक संघर्षमा उत्रिनुपर्ने धारणा व्यक्त गर्दै शिक्षा क्षेत्रलाई श्रम, उत्पादन र राष्ट्रिय स्वाधीनतासँग जोड्ने वैकल्पिक मार्ग अखिल (समाजवादी) ले मात्र देखाउन सक्ने दाबी गर्नुभयो।
विद्यार्थी नेता विज्ञान सी. (राउत), पदम नेपाली लगायतका नेताहरूले सम्मेलनमा वैचारिक बहस प्रस्तुत गर्दै विद्यार्थी आन्दोलनलाई केवल शैक्षिक मागमा सीमित नराखी राज्यसत्ताको दलाल चरित्रविरुद्ध संघर्षको अग्रपंक्तिमा उभ्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
विद्यार्थी नेता विज्ञान सी. (राउत) ले जानकारी दिँदै रुपन्देही जिल्लाका विद्यालय तथा क्याम्पसहरूबाट प्रतिनिधि विद्यार्थीहरूको व्यापक सहभागिता रहेको र सम्मेलनमा करिब ४ सय विद्यार्थीहरूको उपस्थितिले संगठनको क्रान्तिकारी आधार झनै मजबुत बनेको बताउनुभयो।


सम्मेलनमा बोल्ने वक्ताहरूले आगामी चुनावमा गुलाफ चिन्हमा मतदान गरी बिप्लव नेतृत्वको माओवादी शक्तिलाई विजयी बनाउँदै प्रतिक्रियावादी राज्यसत्तालाई परास्त गर्न विद्यार्थी तथा जनसमुदायलाई खुलेर आह्वान गरे।
जिल्ला सम्मेलनले विद्यार्थी आन्दोलनलाई वर्गसंघर्षको धारमा उभ्याउँदै, श्रम–उत्पादन–सीपमा आधारित जनवादी शिक्षाका लागि संघर्षलाई अझ तीव्र बनाउने संकल्पसहित सम्पन्न भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation