कृष्णप्रसाद कँडेलको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत रूपमा निर्वाचित
शंकरप्रसाद पोख्रेल
पुस १२, तिलोत्तमा (रुपन्देही)
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–१ स्थित नयाँ चपरहट्टी टोल विकास संस्थाको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीयस्तरमा सामाजिक सद्भाव, पूर्वाधार विकास तथा सरसफाइलाई प्राथमिकता दिँदै आएको उक्त संस्थाको अधिवेशनले कृष्णप्रसाद कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।
अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा टिकादेवी ढकाल न्यौपाने, सचिवमा टोपराम पाण्डे र कोषाध्यक्षमा सम्झना पाण्डे निर्बाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा मिना पराजुली, मञ्जबहादुर क्षेत्री (सुरेश), सबिता जिसी, रिता गाहा तथा यमुना घर्ती सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।
छैटौँ वार्षिक साधारणसभामा प्रमुख अतिथिका रूपमा तिलोत्तमा नगरपालिका–१ का वडा अध्यक्ष फर्सुराम गिरीको उपस्थिति रहेको थियो। कार्यक्रममा वडा सदस्यहरू गीता देवी न्यौपाने, हिरा देवी विक, मिलन राना र विष्णु प्रसाद पाण्डेको समेत सहभागिता रहेको थियो।
त्यसैगरी वडा नम्बर ६ का वडा सचिव कृष्णबहादुर क्षेत्री, आनन्दवन–शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कार्यालय प्रमुख नवराज न्यौपाने, देवदह मेडिकल कलेजका सञ्चालक निर्देशक गोपालबहादुर पोख्रेल, नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेशका महासचिव उदयबहादुर खत्री, वडा स्तरीय टोल विकास सञ्जालका अध्यक्ष टोपलाल भण्डारी, सिद्धार्थ क्लबका अध्यक्ष पोष्टबहादुर थापा, पामिर बोर्डिङ स्कुलका प्रिन्सिपल गोपाल गौतम लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले टोल विकास संस्थाले स्थानीयस्तरमा विकास, सरसफाइ र सामाजिक एकता प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ सक्रिय र प्रभावकारी रूपमा अघि बढ्नुपर्ने सुझाव दिएका थिए। वक्ताहरूले टोल विकास संस्थाहरू नै स्थानीय विकासका मेरुदण्ड भएको उल्लेख गर्दै नागरिक सहभागिता, पारदर्शिता र सहकार्यको महत्वमा जोड दिएका थिए।
संस्थाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद कँडेलका अनुसार टोल विकास संस्थाले हालसम्म विद्युत् पोल व्यवस्थापन, ह्युम पाइप व्यवस्थापन, छाडा गाईवस्तु नियन्त्रण तथा व्यवस्थापन, सरसफाइमा प्रयोग हुने फलामे औजार निर्माण, नियमित टोल सरसफाइ अभियान सञ्चालन, प्लास्टिक झोला न्यूनीकरण गर्ने उद्देश्यसहित २०० थान इको ब्याग वितरण, बाटो ग्राभेल, दोहोरो नालीसहित सडक स्तरोन्नति, तरकारीका बीउ वितरण तथा विभिन्न सिपमूलक तालिम सञ्चालन जस्ता महत्वपूर्ण कार्यहरू गर्दै आएको छ।
अध्यक्ष कँडेलले आगामी कार्यकालमा टोललाई अझ सफा, व्यवस्थित र विकासमैत्री बनाउन दीर्घकालीन योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्थानीय सरकार, विभिन्न संघ–संस्था तथा सम्पूर्ण टोलवासीको सहकार्यमा टोल विकास संस्थालाई नमुना संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको पनि बताउनुभयो।
कार्यक्रम टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन टोल विकास संस्थाकी सदस्य मिना पराजुलीले गर्नुभएको थियो। कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष टिकादेवी ढकाल न्यौपानेले व्यक्त गर्नुभएको थियो।
छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वप्रति टोलवासीहरूले विश्वास व्यक्त गर्दै संस्थाले आगामी दिनमा अझ प्रभावकारी रूपमा स्थानीय विकास, सरसफाइ तथा सामाजिक गतिविधिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।













