बुटवल — नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अखिल (समाजवादी) ले बुटवलमा आयोजना गरेको मसाल जुलुसका क्रममा प्रहरीले तीन जना विद्यार्थी नेतालाई नियन्त्रणमा लिएको छ।
बुटवलको राजमार्ग चौराहामा सम्पन्न जुलुसका क्रममा प्रहरीले हस्तक्षेप गर्दै अखिल (समाजवादी) का केन्द्रीय सचिवालय सदस्य पदम नेपाली ‘तुफान’, केन्द्रीय सदस्य राजेश नेपाली ‘बारुद’ तथा रुपन्देही जिल्ला अध्यक्ष कुमार नेपाली ‘बिराट’ लाई नियन्त्रणमा लिएको हो।
संगठनका अनुसार सरकारको दमनकारी नीति, बढ्दो महँगी, बेरोजगारी, शैक्षिक क्षेत्रमा देखिएको संकट तथा जनविरोधी कदमहरूको विरोधमा मसाल जुलुस आयोजना गरिएको थियो। जुलुस शान्तिपूर्ण रूपमा अघि बढिरहेको अवस्थामा प्रहरीले हस्तक्षेप गरी विद्यार्थी नेताहरूलाई पक्राउ गरेको संगठनको दाबी छ।
पक्राउपछि विद्यार्थी संगठनले उक्त घटनालाई लोकतान्त्रिक अधिकारमाथिको हस्तक्षेप भन्दै कडा आपत्ति जनाएको छ। संगठनले पक्राउ परेका नेताहरूको तत्काल रिहाइको माग गर्दै दमन जारी रहे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।
यस विषयमा प्रहरीले भने सार्वजनिक सुरक्षा र शान्ति कायम राख्न आवश्यक कदम चालिएको प्रतिक्रिया दिएको छ।











