शंकर प्रसाद पोख्रेल , पुस १२
बुटवल । नेपाली कम्युनिस्ट पार्टीको बुटवल उपमहानगर स्तरीय एकता सन्देश सभा हिजो भव्य रूपमा सम्पन्न भएको छ।
सोमप्रसाद पाण्डेको प्रमुख आतिथ्यता तथा सुदर्शन बरालको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता चिनबहादुर गुरुङले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन नेपाली कम्युनिस्ट पार्टी बुटवल उपमहानगरपालिकाका अध्यक्ष महेन्द्र भुसालले गर्नुभएको थियो।
एकता सन्देश सभामा पार्टीभित्रको एकता, संगठन सुदृढीकरण, जनजीविकाका सवाल तथा वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर छलफल गरिएको थियो। वक्ताहरूले देशमा बढ्दो असमानता, बेरोजगारी र कुशासनको अन्त्यका लागि वैकल्पिक कम्युनिस्ट शक्तिको आवश्यकता रहेको औंल्याउँदै पार्टीलाई जनतासँग अझ नजिक लैजानुपर्नेमा जोड दिएका थिए।
सभाको विशेष आकर्षणका रूपमा कृष कसाैधन र छवि मगरसहित विभिन्न वडाका २४ जना युवाहरूले नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका अध्यक्ष भुसालले बताउनुभयो । युवाहरूको सक्रिय सहभागिता र पार्टी प्रवेशले पार्टीको एजेन्डामा जेनजि पुस्ताको बढ्दो भरोसा र आकर्षण स्पष्ट देखिएको छ।
कार्यक्रमले बुटवल क्षेत्रमा पार्टी संगठनलाई थप मजबुत बनाएको र कार्यकर्ताहरूमा नयाँ उत्साह तथा आत्मविश्वास थपेको आयोजकले जनाएको छ।













