राष्ट्रिय जनमोर्चाले बुझायो समानुपातिक उम्मेदवारीको बन्दसूची

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारीको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।
महासचिव मनोज भट्टको नेतृत्वमा गएको पार्टीको टोलीले कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर बन्दसूची दर्ता गराएको हो। महासचिव भट्टका अनुसार ५० प्रतिशत महिलाको सहभागितासहित कुल ११० जनाको बन्दसूची आयोगमा बुझाइएको छ।
पार्टीले नियमावलीअनुसार सामाजिक समावेशीतालाई ध्यानमा राख्दै खसआर्य ३३ जना (३०.२८ प्रतिशत), आदिवासी जनजाति ३२ जना (२८.७२ प्रतिशत), मधेसी १८ जना (१६.१५ प्रतिशत), दलित १५ जना (१३.४४ प्रतिशत), थारू ७ जना (६.५ प्रतिशत) र मुस्लिम ५ जना (४.८० प्रतिशत गरी कुल ११० जनाको बन्दसूची पेश गरेको जनाएको छ।
बन्दसूची बुझाउने क्रममा केन्द्रीय सचिव घनश्याम न्यौपाने, केन्द्रीय सदस्य सुधा पौडेलसहित हरिकान्त शर्मा, गोविन्दकुमार शर्मा, धनवीर पुन र मदन शर्मा पनि आयोग पुगेका थिए।
निर्वाचन आयोगका अनुसार आज बन्दसूची बुझाउने दलहरूमध्ये राष्ट्रिय जनमोर्चा तेस्रो क्रममा परेको छ। आयोगले पुस १७ गते उक्त नामावलीमाथि जाँचबुझ गर्ने जानकारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation