भारतस्थित नेपालीका समस्या राज्यको प्राथमिकता हुनुपर्छ: महासचिव ,त्रिभुवन भट्टराई

हनुमानगढ (राजस्थान) ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूर पश्चिमोत्तर क्षेत्र अन्तर्गत हनुमानगढ नगर समितिको नगर भेला आज २८ डिसेम्बर २०२५ का दिन भव्य रूपमा सम्पन्न भएको छ। प्रवासी नेपालीहरूलाई संगठित गर्दै हक–अधिकारका विषयमा सचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त भेलाले नयाँ नगर समिति गठन गर्दै महत्वपूर्ण निर्णयहरू समेत गरेको छ।
मूल प्रवाहका केन्द्रीय महासचिव त्रिभुवन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा सुदूर पश्चिमोत्तर क्षेत्रका विभिन्न स्थानबाट प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भेलामा बोल्दै प्रमुख अतिथि महासचिव भट्टराईले मूल प्रवाहको ऐतिहासिक पृष्ठभूमि, संगठनको उद्देश्य र प्रवासी नेपालीहरूको भूमिकाबारे विस्तृत चर्चा गर्नुभएको थियो।
महासचिव भट्टराईले मूल प्रवाह नेपाली कम्युनिस्ट आन्दोलनसँग जोडिएको संगठन भएको उल्लेख गर्दै भारतमा श्रम गरिरहेका लाखौँ नेपाली मजदुर, कर्मचारी र व्यवसायीहरूको अधिकारका लागि निरन्तर संघर्ष गर्दै आएको बताउनुभयो। उहाँले प्रवासी नेपालीहरूले भोगिरहेका श्रम शोषण, तलब नपाउने, कानुनी झन्झट, स्वास्थ्य र सामाजिक सुरक्षाका समस्याहरू गम्भीर रहेको उल्लेख गर्दै ती विषयमा संगठित आवाज आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
भट्टराईले नेपालमा देखिएको वर्तमान तरल राजनीतिक अवस्थाप्रति पनि चिन्ता व्यक्त गर्दै प्रवासी नेपालीहरू पनि देशको राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणसँग प्रत्यक्ष रूपमा जोडिएको बताउनुभयो। “देशको राजनीति स्थिर नभएसम्म विदेशमा रहेका नेपालीहरूको समस्या पनि दीर्घकालीन रूपमा समाधान हुन सक्दैन,” उहाँले भन्नुभयो। साथै उहाँले प्रवासी नेपालीहरूको समस्याप्रति नेपाल सरकारको गम्भीर ध्यान जानुपर्ने आवश्यकता औँल्याउनुभयो।
नगर भेलाले नयाँ नगर समिति गठन गरेको छ। भेलाबाट राजु रसालीको अध्यक्षतामा ११ सदस्यीय नगर समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नवगठित समितिको सचिवमा हिमराज सुनार र कोषाध्यक्षमा हिरा बहादुर सुनार चयन हुनुभएको छ। सदस्यहरूमा नर बहादुर सुनार, खिम बहादुर सुनार, मिना सुनार, दिपक सुनार, प्रेम सुनार, रबि साह, मोहन रसाली र केस बहादुर केसी रहनुभएको छ।
निर्वाचित नगर समितिको औपचारिक घोषणा क्षेत्रीय सदस्य गिरु प्रसाद न्यौपानेले गर्नुभएको थियो। घोषणा कार्यक्रममा बोल्दै न्यौपानेले नवगठित समितिलाई बधाई दिँदै संगठनलाई अझ सक्रिय, अनुशासित र जनमुखी बनाउँदै लैजान आग्रह गर्नुभयो।
कार्यक्रममा उपस्थित वक्ताहरूले मूल प्रवाहले भारतमा रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै सामाजिक, राजनीतिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय बनाउँदै आएको उल्लेख गरे। साथै हनुमानगढ क्षेत्रमा संगठनलाई अझ विस्तार गर्दै नयाँ सदस्यता अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइयो।
नगर भेला मोहन रसालीको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रमको सञ्चालन राजु रसाईलीले गर्नुभएको थियो। कार्यक्रमको सुरुवातमा स्वागत मन्तव्य हिरा बहादुर सुनारले व्यक्त गर्नुभएको थियो। उहाँले अतिथि, प्रतिनिधि तथा उपस्थित सबैलाई धन्यवाद दिँदै नगर भेलाले संगठनलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागिहरूले मूल प्रवाहलाई प्रवासी नेपालीहरूको साझा संगठनको रूपमा अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। भेलाले संगठनलाई जनस्तरसम्म पुर्‍याउने, श्रमिकका मुद्दा उठाउने र नेपाल–भारतबीच रहेका नेपालीहरूको समस्यामा सामूहिक पहल गर्ने संकल्पसहित कार्यक्रम समापन भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation