प्युठानमा जनजाति सम्मेलनको संगठन विस्तार, थापाखर्क र सालबाङमा प्रशिक्षण तथा समिति गठन

खलङ्गा ।
अखिल नेपाल जनजाति सम्मेलनले सञ्चालन गरेको एकमहिने साङ्गठनिक अभियानअन्तर्गत प्युठान जिल्लाका स्वर्गद्वारी–६ स्थित थापाखर्क र सालबाङमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षणसँगै दुबै स्थानमा संगठनात्मक संरचना विस्तार गर्दै वडास्तरीय समिति गठन गरिएको छ ।
२०८२ पुस १४ गते सोमबार आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अगुवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकी, उपाध्यक्ष उषा पुन, केन्द्रीय सदस्य हरि आले तथा जनजाति सभाका सदस्य एवम् जनप्रतिनिधि गिरबहादुर गुरुङले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणका क्रममा स्थानीय विकास निर्माण, जनजाति समुदायका समस्या, जेनजी आन्दोलनको प्रभाव र आगामी निर्वाचनका सन्दर्भमा विचार–विमर्श गरिएको थियो । साथै, संगठन विस्तारलाई लक्षित गर्दै सदस्यता अभियान सञ्चालन गर्नुका साथै प्रचार सामग्री (पर्चा) वितरण गरिएको थियो ।
भेलाले बोमबहादुर पुनको अध्यक्षतामा जनजाति सम्मेलनको वडासमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा देवेन्द्र घर्तीमगर, सचिवमा दुनाराम घर्तीमगर र कोषाध्यक्षमा झगी पुनमगर चयन हुनुभएको छ ।
त्यसैगरी समितिको सदस्यमा अमृता पुन, उमेश गुरुङ, चेतमान घर्तीमगर, गनबहादुर पुन, तिलक पुन, तुलसीराम पुन, प्रेम पुन, मानबहादुर घर्तीमगर र जीवा पुन रहनुभएको छ ।
जनजाति सम्मेलनले यस्ता कार्यक्रममार्फत प्युठान जिल्लामा संगठनलाई थप मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation