राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २९ दिनमै सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्, जुन गत वर्षको तुलनामा ४.१७ प्रतिशतले बढी हो। गत वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए।
यस वर्ष परीक्षामा सहभागी ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये ४८ हजार ३९२ जनाले ३.६० देखि ४.०० जीपीए प्राप्त गरेका छन्, जुन सबैभन्दा उच्च श्रेणी हो। त्यस्तै ३.२० देखि ३.६० जीपीए ल्याउने ८० हजार ३७२, २.८० देखि ३.२० जीपीए ल्याउने ९४ हजार २२२, २.४० देखि २.८० जीपीए ल्याउने ५५ हजार ९७७, २.०० देखि २.४० जीपीए ल्याउने ५ हजार १९० र १.६० देखि २.०० जीपीए ल्याउने ७ जना रहेका छन्।
प्रदेशगत विवरणअनुसार कोशीमा ५० हजार ८९०, मधेशमा ४४ हजार ५९२, बागमतीमा ७७ हजार ११३, गण्डकीमा २६ हजार ५५०, लुम्बिनीमा ४४ हजार २५६, कर्णालीमा १९ हजार ९५ र सुदूरपश्चिममा २१ हजार ६६४ विद्यार्थी ग्रेडेड भएका छन्।
सरकारले एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो। त्यसअनुसार बोर्डले समयमै नतिजा प्रकाशित गरेको हो। परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले प्रक्रिया छिटो सम्पन्न भएको बोर्डले जनाएको छ। पुरक परीक्षा असार १ देखि ९ गतेसम्म सञ्चालन हुने र पुनर्योगका लागि समय तोकिएको जानकारी पनि दिइएको छ।











