मुलप्रवाह हिसराले मनाइयो मजदुर दिवस:महासचिव ,भट्टराई द्वारा मजदुर संघर्षलाई सशक्त बनाउन आह्वान

खिमराज चालिसे ,भारत

भारतको हरियाणा राज्यको हिसारमा १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विशाल मार्चपाससहित भव्य रूपमा सम्पन्न भएको छ। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र अखिल भारत नेपाली एकता समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा श्रमिक एकता, अधिकार संरक्षण र प्रवासी नेपालीका समस्यालाई प्रमुख रूपमा उठान गरिएको थियो।


कार्यक्रममा मूल प्रवाहका केन्द्रीय महासचिव त्रिभुवन भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले स्वयं मार्चपासको नेतृत्व गर्दै श्रमिकहरूको उत्साहलाई थप उचाइ दिएका थिए। विभिन्न नारासहित निकालिएको मार्चपासले हिसारका सडकहरूमा श्रमिक एकताको सशक्त सन्देश प्रवाह गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “अन्तर्राष्ट्रिय श्रमिक दिवस केवल औपचारिकता होइन, यो वर्गीय आन्दोलनको इतिहास हो। श्रमिकहरूले विगतका संघर्षबाट प्राप्त गरेका अधिकारहरू आज फेरि खुम्चिँदै गएका छन्।” उनले थप भने, “प्रवासी नेपाली श्रमिकहरू अझै शोषण र असुरक्षाको अवस्थाबाट गुज्रिरहेका छन्, त्यसैले उनीहरूको अधिकारको रक्षा गर्न संगठित संघर्ष अपरिहार्य छ।” उनका अनुसार, “जबसम्म शोषणमूलक व्यवस्था अन्त्य हुँदैन, तबसम्म श्रमजीवी वर्गको वास्तविक मुक्ति सम्भव हुँदैन।”


कार्यक्रममा विशिष्ट अतिथिका रूपमा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य श्याम बिकले सम्बोधन गरेका थिए। उनले श्रमिक एकता र संगठन सुदृढीकरणको आवश्यकता औंल्याउँदै आन्दोलनलाई अझ प्रभावकारी बनाउन सबै पक्ष एकजुट हुनुपर्ने बताएका थिए।


कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य तथा सुदूर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमरे, भारतीय भाईचाराबाट सकुन्तला जाखड़, परिषद सदस्य नारायण बिक, क्षेत्रीय कोषाध्यक्ष बाबुराम शर्मा, सदस्य सुरेश क्षेत्री, अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिवालय सदस्य राम बहादुर कौशल, क्षेत्रीय महिला सदस्य सिता पोखरेल, राजमो पाल्पाकी निरु सारु, जनजाति विभागका केयर सिंह घर्तीमगर, सांस्कृतिक विभागका लाल बहादुर चुदाली, जालन्धर नगरका जमुना गाह लगायतले पनि आफ्ना धारणा राखेका थिए।
यसैगरी, कार्यक्रममा इन्डस्ट्रियल एरियाका चन्द्र प्रकाश गैरे, सिटी ए एरियाका रामु शर्मा, सिटी बी का विशाल विष्ट, अखिल भारत नेपाली एकता समाजका राम बहादुर सुनार र ज्योति कुँवरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।


कार्यक्रम जुद्ध बहादुर कुवरको अध्यक्षता तथा कमला बगालेको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा ज्ञात–अज्ञात शहीदहरूप्रति एक मिनेट मौनधारण गरिएको थियो भने बाबुराम पोख्रेलले स्वागत मन्तव्य राखेका थिए।
समग्रमा, हिसारमा आयोजित यो कार्यक्रमले श्रमिक एकता, अधिकारको रक्षा र प्रवासी नेपालीहरूको हकहितका लागि निरन्तर संघर्ष आवश्यक रहेको सन्देश स्पष्ट रूपमा दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation