गढवा गापा वडा नम्बर १ मा जग्गा व्यवस्थापन अभियान गठन

 

वैशाख १९, कालाकाटे । दाङ जिल्लाको गढवा गाउँपालिका वडा नम्बर १ अन्तर्गत पर्ने धानखोला, चिसापानी , जुरौनी, कालाकाटे, धोद्रे, टहडा , मलमला, वनघुस्री, वनबारी, बडहरा , पत्रीङ्गा र जेठानगाउँका जनताहरु स्वत: स्फूर्त रुपमा आज कालाकाटेमा जम्मा भएर चित्रबहादुर महताराको संयोजकत्वमा २५ सदस्यीय सुकुम्वासी, भूमिहीन, अव्यवस्थित जग्गा व्यवस्थापन अभियान गठन गरेका छन् ।

अभियानलाई व्यवस्थित रुपमा संचालन गर्नको लागि चित्रबहादुर महतारा संयोजक रहेको ९ सदस्यीय सचिवालय पनि गठन गरिएको छ । सचिवालय सदस्यहरुमा रमेश वली , पदम गिरी , ढकबहादुर महतारा , राजकुमार योगी , माधव केसी , चन्द्र पुरी , लालमणि गिरी र बुद्धिराम कुमाल रहेका छन् ।

अभियानले भूमिहीन सुकुम्वासीको उचित व्यवस्थापन गर्नुपर्ने , पुस्तौंदेखि अव्यवस्थित रुपमा बसोवास गर्दै आएका नागरिकहरुको पालिका मार्फत भूमि आयोगले लगत संकलन एवं नापी गरेर निस्सा समेत उपलब्ध गराएको अवस्थामा अव्यवस्थित बसोवासीहरुलाई व्यवस्थापन गर्नको लागि वैशाख २१ गते वडा कार्यालय , गढवा गाउँपालिका , प्रदेश कार्यालय र दाङ क्षेत्र नम्बर १ का संघीय सांसद देवराज पाठकलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ ।

अभियानले संघीय सरकारले भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुलाई हटाउन सक्ने खतरा देखिएको भन्दै हटाएर होइन उचित व्यवस्थापन गरेर अघि बढ्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation