
रुपन्देही : केही समययता नेपाली बजारमा सुनको मूल्य निरन्तर रुपमा उकालो लागेको छ। नेपालीका मुख्य चाडबाडको बेलामा नेपाली बजारमा सुनको मूल्य उकालो लागेको हो।
यसअघि लगातार तीन दिनसम्म उकालो लागेर थप नयाँ-नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले आजपनि निरन्तरता पाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो।
यसअघि आइतबार तोलामा १७ सय, सोमबार ४०० र मंगलबार ५०० रुपैयाँले बढेर सुनको मूल्यमा रेकर्ड बनाउँदै गएको थियो। योसँगै पछिल्लो ४ दिनमा मात्र सुनको भाउ तोलामा ३३ सय रुपैयाँ बढेको देखिन्छ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर १९ सय ५५ रुपैयाँ कायम भएको छ।
मंगलबार चाँदीको भाउ प्रतितोला १९ सय १५ रुपैयाँ कायम रहेको थियो।
अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ। जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्य पनि उच्च दरमा घटबढ हुन्छ।
यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्यमा असर परिरहेको छ।
यसका साथै, अन्तर्राष्ट्रिय स्तरका ठूला बैंकको ब्याजदर, ठूला राष्ट्रले सुनमा दिने महत्त्व र त्यसको कारोबार, भूराजनीतिक द्वन्द्व र आर्थिक गतिविधिमा सुस्तता जस्ता कारणले सुन बढ्नु या घट्नुमा प्रत्यक्ष रुपमा प्रभाव पार्दछन्।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६५९.५४ र चाँदी प्रतिऔंस ३१.९३ डलरमा कारोबार भइरहेको छ।