
रुपन्देही बुटवल । रुपन्देही जिल्लाको बुटवलमा सामना परिवारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको छ । दलाल पुँजीवादविरुद्ध समाजवादको पक्षमा सामना परिवारले विभिन्न सांस्कृतिक प्रस्तुति गरेको हो ।
बुधबार बुटवलस्थित उद्योग बाणिज्य महासंघको सभाहलमा आयोजित कार्यक्रममा वरिष्ठ गीतकार मणि थापा, वरिष्ठ गीतकार तथा संगीतकार माइला सी, कलाकारहरु आरोह नेपाली, रमण थामी, सुशीलसिंह ठकुरीलगायत एकदर्जन भन्दा बढी कलाकारहरुले समाजवादको पक्षमा सांस्कृतिक प्रस्तुति देखाएका थिए ।
सांस्कृतिक कार्यक्रममा दुइवटा महत्वपूर्ण ‘आउँछन् यादहरु’ शीर्षकको ओपेरा र ‘करेसाबारीमा साग’ शीर्षकको लघु नाटक प्रस्तुत गरिएको थियो । यी दुई प्रस्तुतिले दर्शकको ध्यानाकर्षण गरेको थियो । ओपेराले जनयुद्धको इतिहासलाई जीवन्त ढंगले प्रस्तुत गरेको छ भने लघुकथाले वर्तमान समाजको यथार्थलाई प्रस्तुत गर्दै उत्पादनलाई क्रान्तिको अभिन्न अंश बनाउनुपर्ने कुरामा जोड दिएको छ । ओपेरा प्रस्तुत गर्दा दर्शकको आँखामा आँसु बगेका थिए ।
नेकपाका नेता एवं वरिष्ठ गीतकार माइला लामाको उद्घोषण र वरिष्ठ गीतकार मणि थापाको ‘अरुण तरेर नाना..’ शीर्षकले दर्शकलाई आकर्षण गरेको थियो ।
कार्यक्रमको अर्को प्रस्तुति कवि एवं गीतकार मणि थापाद्धारा लिखित ‘बकबास बन्द गर’ शीर्षकको कवितालाई अभिनय कलाद्धारा शसक्त रुपमा प्रस्तुत गरिएको थियो । उक्त प्रस्तुतिले माओवादी जनयुद्धमाथि गरिएको आक्रमण विरुद्ध र जनयुद्धको सौन्दर्यमूल्यलाई उजागार गरिएको छ ।
सांस्कृतिक कार्यक्रमको व्यवस्थापन नेकपा रुपन्देहीले गरेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, वरिष्ठ साहित्यकार दिल साहनी, वरिष्ठ कवि रामचन्द्र भट्टराई, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायत पार्टीका नेता कार्यकर्ता, विभिन्न उद्योगी व्यवसायी, कानुन व्यवसायी, पत्रकारलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सुरुवातमा नेकपा पिबिएम बसन्त सीले मन्तव्य मार्फत् स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा नेकपाका पिबिएम विनोद सी, सिसिएमहरु शरद सी, विश्वास सी, जिल्ला सेक्रेटरी विरेन्द्र सीलगायतले कलाकारहरुलाई खादा अविर लगाएर स्वागत गर्नुभएको थियो ।