
असोज १९, बुटवल । रुपन्देहीको सैनामैनामा तरामु मगर समाजले प्रकाशन गरेको तरामु परिवारको वंशावली सार्वजनिक गरेको छ । काठमाडौ विश्वविद्यालयका सहायक प्राध्यापक एवं प्राज्ञ भुवन थापा ‘बहुवि’ले एक कार्यक्रमका बीच वंशावली सार्वजनिक गर्नुभएको हो ।
प्राज्ञ भुवन थापा ‘बहुवि’ले मगर जातिभित्रका सबै थर उपथरहरुको इतिहास खोजी गरी प्रकाशनमा ल्याउनुपर्ने बताउदै यसले इतिहासको संरक्षण गर्ने बताए । उनले ठूलो लुम्पेकमा मगर जातिका मात्रै झण्डै २० भन्दा धेरै उपथरहरु रहेको बताउदै यसको खोजी गर्नुपर्ने बताए ।
पूर्वसांसद सिर्जना तरामुले वंशावलीले सिंगो मगरजातिको इतिहास समेटेको भन्दै नयाँ पुस्ताका लागि यसले प्रेरणा दिने बताए । सत्यवती गाउँपालिकाका उपाध्यक्ष निरमाया तरामु मगरले शुभकामना दिदै वंशावली मगर जातिकै लागि मार्गदर्शन भएको बताईन्् । कञ्चन गाउँपालिकाका निवर्तमान उपाध्यक्ष गोमा तरामु मगरले वंशावलीले नयाँ पुस्तालाई इतिहासको जानकारी दिएको बताइन् ।
नेपाल मगर संघका केन्द्रीय सचिव लोकेन्द्र तरामु मगरले तरामु परिवारको इतिहासलाई एकरुपता बनाउनुपर्ने भन्दै तरामुहरु प्रकृति पुजक भएको बताए । सत्यवती गाउँपालिका वडा नं.३ का अध्यक्ष जितु तरामु मगर वंशावलीले परिवारभित्र अंश र वंशको इतिहास र अधिकार समेटिएको बताउदै हाम्रा सन्तानहरुलाई प्राविधिक शिक्षामा जोडदिनुपर्ने बताए ।
इतिहास एवं वंशावली लेखनका संयोजक खोमा तरामु मगरले मगर जातिको इतिहाससित जोडिएको भन्दै यसलाई नयाँ पुस्ताले निरन्तरता दिन इतिहास उत्खनन गर्नुपरेको बताए । उनले अहिलेसम्म इतिहास लेखन पूर्वाग्रही, एकलकाँटे र तोडमोड गरिनु दुःखद् भएको बताउदै यसलाई सच्चाएर सत्य इतिहासलाई स्थापित गर्नुपर्ने बताए ।
कार्यक्रममा ताङ्नामी थापा मगरका अध्यक्ष निमप्रसाद थापा, राहादी मगर समाजका अध्यक्ष जितबहादुर राहादी मगर, सिंजाली मगर समाजका खिमबहादुर सिंजाली, मिधनु मगर समाजका जनक मिधुन मगर, पुलामी मगर समाजका रुमबहादुर पुलामी, श्रीस मगर समाजबाट ओमबहादुर श्रीस मगर, फौंजा मगर समाजका रुमबहादुर फौंजा, राना मगर समाजका सुवेदार ज्ञानी राना मगरले वंशावली पुस्तकमाथि चर्चा गर्दै शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको अवसरमा तराई मधेश क्षेत्रमा रहेका तरामु परिवारका ज्येष्ठ सदस्य बोमबहादुर तरामु मगर, तरामु मगर समाज ठूलो लुम्पेक, गुल्मीका संस्थापक अध्यक्ष गिरी तरामु मगर र तरामु मगर समाज तराई मधेश क्षेत्रका संस्थापक अध्यक्ष सुवेदार चित्रबहादुर तरामु मगरलाई सम्मान गरिएको थियो ।
तरामु मगर समाज तराई मधेश क्षेत्रका अध्यक्ष सुवेदार धनबहादुर तरामु मगरको अध्यक्षता, तरामु मगर समाज ठूलो लुम्पेक गुल्मीका अध्यक्ष अर्जुन तरामु मगरको संचालन र तरामु मगर समाज तराई मधेश क्षेत्रका उपाध्यक्ष रामबहादुर तरामु मगरले स्वागत गरेका थिए । समीक्षा तरामु मगरले नाँच प्रस्तुत गरेकी थिइन् । वंशावली प्रकाशनका परिकल्पनाकार एवं प्रथम संस्करणका प्रकाशक दिवंगत क्याप्टेन दिलाराम तरामु मगरको तश्वीरमा माल्यार्पण गरिएको थियो ।