
मोरङको बूढीगंगामा मिक्सचर ट्रकको ठक्करबाट आइतबार दिउँसो १ जना सशस्त्र प्रहरीको मृत्युु भएको छ ।
कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका– ४ गोकुवा चोकमा प्रदेश १–०२–०५४ प ९२०२ नम्बरको मोटरसाइकललाई प्रदेश १–०२–००१ क ३७१३ नम्बरको मिक्सचर ट्रकले दिउँसो १ः४० बजेतिर ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार पूर्वबाट राजमार्गमा निस्किएर उत्तरतर्फ मोडिदै गरेको मोटरसाइकललाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मिक्सर ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत सशस्त्र प्रहरी जवान २७ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार संखुवासभा घर भएका तामाङ दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए ।
उपचारका लागि बूढीगंगाकै विराट शिक्षण अस्पताल लगिएको थियो ।चिकित्सकले दिउँसो २ः ४५ बजेतिर मृत घोषित गरेको जानकारी जोशीले दिए ।दुर्घटनामा परेर मोटरसाइकल चालक सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत अर्का जवान ३० वर्षीय युशन राई घाइते भएका छन् । धनकुटाको साँगरीगढी गाउँपालिका– ९ घर भएका उनको विराटमै उपचार भएको छ । अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै प्रहरीले मिक्सर ट्रक र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका – ६ का ३० वर्षीय सुवास झाँगडलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मिक्सरको तीव्र गति र मोटरसाइकल चालकको कमजोरीले दुर्घटना भएको प्रहरीले जनाएको छ ।