बिस्व नेपाली मिडिया प्रा.लि .द्वारा सञ्चालित
सम्पर्क ठेगाना : बुटवल -६,चांदबारी रूपन्देही
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४८६९/२०८१/०८२
प्रेस काउन्सिल सूचिकरण प्रमाणपत्र दर्ता नं:४८८२/२०१/०८२
कम्पनी दर्ताः ३४०४३८/२०८०/०८१
विज्ञापनका लागि
फोन नं: (☏) +977-9842295277
इमेल : 📧 info@vishwanepali.com
सम्पादक : बामदेव भण्डारी
संचालक तथा कार्यकारी सम्पादक : शंकर प्रसाद पोख्रेल
मार्केटिङ प्रमुख :
विश्व नेपाली डटकम नेपाली भाषाको समाचार पोर्टल हो । यो वेबसाईटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सूचना प्राविधि लगायत श्रमजीवी वर्गको पक्षमा बढी भन्दा बढी आवाज उठाउने कोशिश र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।
मनोज भट्ट
मेरो साहित्यसम्बन्धी ज्ञान प्रारम्भिक प्रकारको छ । त्यसैले यहाँ व्यक्त विचारले साहित्यिक दृष्टिकोणले खासै कुनै महत्त्व राख्दैन । साहित्यसम्बन्धी आधिकारिक सोचाइको पनि प्रतिनिधित्व गर्दैन तैपनि मोहनविक्रम सिंहको हालै २०८१ मङ्सिर १५ गते विमोचन गरिएको उपन्यास “कामरेड जलजला” माथि आफ्ना विचार प्रस्तुत गर्ने प्रयत्न गरेको छु तर यो लेखमा व्यक्त विचार उपन्यासमाथिको विवेचना वा समक्षिा होइन ।
विभिन्न विश्वकोष र शब्दकोषमा समक्षिा र समालोचनासम्बन्धी दिइएका परिभाषा र त्यससम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास वा परम्परालाई हेर्दा समक्षिा वा समालोचनाले गहन क्षेत्र ओगट्छ । समीक्षा वा समालोचनाको माध्यमबाट “कामरेड जलजला” उपन्यास वा अन्य कुनै उपन्यासका बेग्लाबेग्लै पक्षका बारेमा ठुला ठुला कृति तयार पार्न सकिन्छ । मोहनविक्रम जस्तो विराट व्यक्तित्वको कृतिमाथिको समीक्षा र समालोचना झन म जस्तो साहित्यको प्रारम्भीक ज्ञानको चरणमा रहेको व्यक्तिका लागि झन् धेरै नै कठिन कार्य हो तैपनि उहाँको उपन्यासमाथि विभिन्न कोणबाट सकारात्मक/नकारात्मक ढङ्गबाट टीकाटिप्पणी, समीक्षा/समालोचना साहित्यका मर्मज्ञहरूले गरिरहने छन् ।
यो उपन्यास विश्वविद्यालयलगायत अन्य सबै क्षेत्रका शोधकर्ताका लागि निरन्तर अनुसन्धानको विषय भइरहने छ । त्यसरी उपन्यासलाई बुझ्न झन्पछि झन् थप सामग्री प्राप्त हुँदै जाने छ ।
मैले मोहनविक्रम सिंहको उपन्यास “कामरेड जलजला” लाई दुई खण्डमा विभाजन गरेर आफ्नो विचार प्रस्तुत गर्ने जमर्को गरेको छु । पहिलो खण्डमा उपन्यासकारको परिचय र साहित्यिक यात्रा, दोस्रो खण्डमा “कामरेड जलजला” उपन्यासका बारेमा ।
खण्ड क : उपन्यासकारको परिचय र साहित्यिक यात्रा
१. मोहनविक्रम सिंहको जन्म १९९२ साल वैशाख ३ गते काठमाडौँको मरुटोलमा भएको हो यद्यपि डेढ वर्षको उमेरमा मोहनविक्रमका पिताले उहाँलाई गृहजिल्ला प्युठान ल्याउनुपरेका कारण उहाँको प्रारम्भिक शिक्षा घरमा नै भयो । २ कक्षासम्म प्युठानको खलङ्गास्थित प्राथमिक पाठशाला र ३ कक्षामा शान्ति विद्यागृह लैनचौर काठमाडौँमा भर्ना हुनुभएको तर पछि शिक्षकसँगको विवादका कारण उक्त विद्यालय छोडेर उहाँ दरबार हाइस्कुलमा भर्ना हुनुभयो । त्यहाँ पनि शिक्षकसँगको विवादका कारण दरबार हाइस्कुल छोडेर जुद्धोदय पब्लिक हाइस्कुल काठमाडौँमा भर्ना हुनुभयो । ८ कक्षासम्म जुद्धोदयमा अध्ययन गरेपछि विभिन्न कारणले उहाँको अध्ययनमा अवरोध पैदा भएका कारण २०१५ सालमा गएर मात्र पाल्पाबाट माध्यमिक शिक्षा उत्तीर्ण हुनुभयो । जेलबसाइको दौरान प्रवीणता प्रमाणपत्र तह र स्नातक तह क्रमशः २०२५ र २०२८ सालमा उत्तीर्ण गर्नुभयो । २०३७ सालमा आगरा विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गर्नुभयो । आगरा विश्वविद्यालयबाट “स्टडी अफ द आग्रियन स्ट्रक्चर अफ द हिल रिजन अफ वेष्ट नेपाल एन्ड गढवाल एन्ड कुमाउँ अफ उत्तर प्रदेश भारत” भन्ने विषयमा पिएचडी गर्न खोज्नुभएको थियो तर विभिन्न कारणले उहाँले पिएचडी पूरा गर्न सक्नुभएन ।
२. मोहनविक्रम सिंह बहुमुखी व्यक्तित्व भएको साहित्यकार हुनुहुन्छ । उहाँले कविता, निबन्ध, नाटक, समालोचना र उपन्यासलगायतका विभिन्न विधामा कलम चलाउनुभएको छ । उहाँले २००५ सालदेखि साहित्यिक यात्राको थालनी गरेको पाइन्छ । २००५ सालमा उहाँको पहिलोपटक शान्ति निकुञ्ज विद्यालयद्वारा प्रकाशित हुने “आँखा” पत्रिकामा “विद्या र हामी” शीर्षकमा निबन्ध प्रकाशित भएको पाइन्छ । २०११ सालमा उहाँले “इङ्कलाब जिन्दावाद”, “लेफ्ट राइट कदम बढाऊ” जस्ता चर्चित गीतिकविता रचना गर्नुभयो यद्यपि “इङ्कलाब जिन्दावाद” गीतिकविता २०१७ सालमा गएर मात्र प्रकाशित भएको थियो । “युग बोल्छ” गीतिनाटक (२०३४), “गङ्गाकाबेरी एक्सप्रेस” कविता (२०४०¬), “आदिविद्रोही खण्डकाव्य (२०४२), “तुफानको सङ्गीत” कविता सङ्ग्रह (२०४२), “झिमरूक नदी र चिवेचराको कथा” खण्डकाव्य (२०४२), “विचार विवेचना तथा विश्लेषण” समालोचना (२०४२), “१२ मई” नाटक (२०४२), “क्रान्ति किन हुन्न” एकाङ्की नाटक (२०४६), “महिला मुक्तिको महान गाथा” समालोचना (२०४८), “साहित्य संवाद” सम्पादन (२०४८), “युगनृत्य” कविता सङ्ग्रह (२०५७), “दुई नाटक दुई एकाङ्की” (२०७१), “साहित्य, समालोचना र सौन्दर्य” (२०७६) र चर्चित उपन्यास “कामरेड जलजला” २०८१ मङ्सिरमा प्रकाशन भएको छ ।
३. मोहनविक्रम सिंहले आफ्नो साहित्यिक जीवनमा उपन्यास लेखनको यात्रा २०१२ सालमा पाल्पा जेलबाट सुरु गरेको देखिन्छ । पाल्पा जेलबसाइको क्रममा उहाँले “बुढा बा” र “झिलिमिली” दुईटा उपन्यास, २०१८ सालमा तौलिहवा जेलमा “ओखरकोट” शीर्षकको उपन्यास, २०२६ सालमा “बुढा बा” शीर्षकको उपन्यास, जुन पाल्पा जेलमा लेखिएका उपन्यास “बुढा बा” को परिमार्जित रूप थियो । २०४६ मा “तारा” शीर्षकको उपन्यास लेख्नुभएको थियो तर ती सबै उपन्यासका पाण्डुलिपि जेल सर्ने क्रममा वा जिम्मा लगाइएका व्यक्तिले प्रहरी प्रशासनको डरका कारण लुकाउन खोज्दा वा ठाउँसारी गर्दा नष्ट हुन पुगेको वा हराएको देखिन्छ । त्यसरी हेर्दा “कामरेड जलजला” उपन्यास उहाँको छैटौँ उपन्यास हो । त्यसैले उहाँले आफ्ना पाँचओटा उपन्यास हराएको र “कामरेड जलजला” उपन्यास प्रकाशित हुन सकेकोमा त्यसलाई लामो दुखान्त यात्राको सुखद अन्तको सङ्ज्ञा दिन रुचाउनुहुन्छ ।
खण्ड ख : “कामरेड जलजला” उपन्यास
१. कथाको विस्तृत रूप नै उपन्यास हो तर कथा तथा उपन्यासको आकारप्रकारबारे विश्वस्तरमा नै कुनै निश्चित मापदण्ड छैन । बिसौँ शताब्दीमा अमेरिकी साहित्यकार अर्नेस्ट हेमिङ्वे को प्रसिद्ध “बेबी जुत्ता” शीर्षकको कथा जम्मा ६ शब्दको रहेको छ । ६ शब्दमा लेखिएकोलाई विश्व साहित्यले कथाको दर्जा दिएको छ । स्मरणर होस्, हेमिङ्वे विश्वप्रसिद्ध उपन्यास “बुढो माझी र समुद्र” का लेखक हुन् । त्यसैगरी अगस्टो मोन्टेरोसोद्वारा लिखित “डायनासोर” शीर्षकको उपन्यास संसारकै सबैभन्दा सानो उपन्यासको कोटीभित्र पर्छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार फ्रान्सेली उपन्यासकार मार्सेल प्राउस्टको ९६ लाख ९ हजार अक्षरको उपन्यास “रिमेम्बरिङ अफ थिङ्स पास्ट” लाई संसारकै सबैभन्दा ठुलो उपन्यास मानिएको छ । त्यसैगरी सन् १९७७ मा लेख्न सुरु गरेर सन् २०१० मा ३३ वर्ष लगाएर पूरा गरिएको उर्दु भाषाको उपन्यास “देवता” मा ३३ लाख ६ हजार ३ सय १० शब्द रहेका छन् । म्याक्सिम गोर्कीले आफ्नो विश्वप्रसिद्ध उपन्यास “आमा” लाई लघुउपन्यासको सङ्ज्ञा दिन रुचाउथे ।
२. नेपालको सहित्यिक जगत्मा २०३३ सालमा प्रकाशन भएको उपन्यासकार भवानी भिक्षुले “आगत” शीर्षक उपन्यास लेख्नमा १८ वर्ष लगाएका थिए । तत्कालनि अवस्थामा यो नै सबैभन्दा ठुलो आकारको अर्थात् ५६७ पृष्ठको उपन्यासमा गणना हुन्थ्यो । त्यसपछि मदनमणि दीक्षितले लेख्नुभएको “माधवी” ६०७ पृष्ठ लामो रहेको छ । मोहनविक्रम सिंहको उपन्यास “कामरेड जलजला” १,३२० पृष्ठ लामो छ । त्यस अर्थमा अहिलेसम्म नेपाली साहित्य जगत्मा प्रकाशित उपन्यासमध्ये “कामरेड जलजला” नै सबैभन्दा ठुलो उपन्यासको कोटिभित्र पर्दछ । नेपालको साहित्यिक जगत्मा अहिलेसम्म महाउपन्यास लेखिएको थिएन । “कामरेड जलजला” उपन्यास पहिलो महाउपन्यासको रूपमा नेपालको साहित्यिक जगत्मा देखा परेको छ । यो उपन्यासमा ५ लाखभन्दा बढी शब्द रहेका छन् । विश्वप्रसिद्ध विकिपिडियामा ५ लाखभन्दा बढी शब्द रहेको उपन्यासलाई सूचीकृत र अद्यावधिक गर्ने चलन छ । ५ लाखभन्दा बढी शब्द भएका ३९ ओटा विश्वका विभिन्न उपन्यासलाई विकिपिडियाले सूचीकृत गरेको छ । त्यस अर्थमा मोहनविक्रम सिंहको उपन्यास “कामरेड जलजला” अन्तर्राष्ट्रिय स्तरको कृतिको हैसियत राख्दछ भन्दा अतिशयोक्ति हुँदैन ।
३. विश्व कम्युनिस्ट आन्दोलनमा र स्वयम् नेपाल र भारतको वामपन्थी आन्दोलनमा रहेका व्यक्तिले आन्दोलनमा ऊर्जा, उत्साह पैदा गर्न र दबिएका चेपिएका शोषितजनका पक्षमा साहित्य सृजना गर्ने गरेको लामो तथा गौरवशाली इतिहास पाइन्छ । मार्क्स, एङ्गेल्स, लेनिन, माओलाई विश्व साहित्य तथा संस्कृतिका विषय गहन अध्ययन थियो । साहित्य र संस्कृतिका विषयमा मार्क्स र एङ्गेल्सले मार्क्सवादी कोणबाट विशद् व्याख्या, विश्लेषण गरेका कैयौँ कृतिरू पाइन्छन् । लेनिनले पार्टी साहित्यमा नै बढी जोड दिएको पाइए पनि उहाँ विश्व साहित्यको एउटा गम्भीर अध्येता हुनुहुन्थ्यो । उहाँले तत्कालीन रुसमा प्रकाशन भएका कैयौँ उपन्यास दर्जनौँपटक दोहोर्याएर पढ्ने गर्नुहुन्थ्यो । भारतको मार्क्सवादी आन्दोलनका कैयौँ हस्तीहरूले पनि गम्भीर साहित्य साधना गरेको पाइन्छ । त्यसमध्ये राहुल सांकृत्यान र यसपालको नाम अग्रपङ्क्तिमा आउँछ । दुईटैले कम्युनिस्ट पार्टीको नेतृत्व तहमा पनि रहेर काम गर्नुभएको थियो । राहुल सांस्कृत्यानको साहित्यमा मुख्य विधा यात्रासाहित्य देखिए पनि कथा, आत्मकथा, धर्म र दर्शन, शब्दकोष, विज्ञान, देशदर्शन, जीवन साहित्य, साहित्य र इतिहासका विषयमा उहाँले गम्भीर कृतिको रचना गरेको पाइन्छ । त्यसका साथै राहुलले आफ्नो जीवनकालमा सातओटा उपन्यास (१) मधुर स्वप्न, (२) जीने के लिए, (३) विस्मृत यात्री, (४) जय यौधेय, (५) सप्त सिन्धु, (६) सिंह सेनापति र दिवोदास गरी सातओटा उपन्यासको रचना प्रकाशन गरेको देखिन्छ । त्यसैगरी यसपालका अहिलेसम्म झन्डै १२ ओटा उपन्यास प्रकाशन भएका छन् : १) दादा कामरेड, २) देशद्रोही, ३) दिव्या, ४) पार्टी कामरेड, ५) मनुष्य के रूप, ६) अमिता, ७) झुठा सच भाग १, ८) झुठा सच भाग २, ९) १२ घण्टे, १०) अप्सराका साँप, ११) क्यों फंसे १ र १२) मेरी, तेरी, उसकी बात गरी १२ ओटा उपन्यास प्रकाशन भएका छन् । यसपालको उपन्यास झुठा सच भाग १ र २ झन्डै ५४० पृष्ठको छ । यसलाई बृहत् आकारको उपन्यास भन्ने गरिन्छ ।
४. “कामरेड जलजला” उपन्यासका मुख्यतयाः दुईटा पक्षमाथि हाम्रो ध्यान जानुपर्दछ : प्रथम र मुख्य यसको वैचारिक पक्ष र दोस्रो यसको कला पक्ष । वैचारिक रूपले “कामरेड जलजला” एउटा सशक्त उपन्यास हो । यसको रचना मार्क्सवादी–लेनिनवादी दर्शनमाथि आधारित भएर नै गरिएको छ । यो उपन्यासले संसारका शोषितजनलाई कम्युनिस्ट पार्टीमा आबद्ध भएर सबै खाले अन्याय, अत्याचारको अन्त गरेर मजदुर, किसान, शोषितजनको व्यवस्था स्थापनाका लागि लड्न आह्वान गरेको छ । शोषितजनको पक्षमा लड्ने आदर्श पात्रको चयन गरेको छ । ती पात्रले पनि जनताको मुक्तिका खातिर त्याग र बलिदानका ठुला ठुला गाथा कायम गरेका छन् । वैचारिक रूपले पनि उपन्यासका मुख्य पात्रलाई उच्च प्रकारको नैतिक धरातलमा खडा गर्ने प्रयत्न गरिएको छ । त्यस अर्थमा वैचारिक रूपले उपन्यास सफल छ ।
उपन्यासकारले उपन्यासको प्रधान पक्ष विश्वदर्शन भएको बताएका छन् । निश्चित रूपले उपन्यासले विश्वदर्शनमाथि जोड दिएको छ । दर्शन जीवन र जगत्लाई हेर्ने आँखा वा दृष्टिकोण हो । दर्शन भनेको मानिसको विश्वदृष्टिकोण हो । विश्वदृष्टिकोण भनेको विश्वप्रतिको दृष्टिकोण, विश्व जगत्लाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने दृष्टिकोण हो । दर्शन प्रकृति, जीवन, समाज र चिन्तनको विकासका चालक नियमको अध्ययन गर्ने शास्त्र र पद्धति हो, जुन अध्ययन पद्धतिलाई यो उपन्यासमा व्यापक रूपमा प्रयोग गरिएको छ । कला पक्ष पनि कमजोर छैन तर लेखकका व्यक्तित्वका दुईटा पाटा छन् । साहित्यिक र राजनीतिक व्यक्तित्व । कला पक्षमाथि विचार गर्दा लेखकको राजनीतिक व्यक्तित्वले कति सन्तुलन कायम गर्न सक्यो ? त्यो कुरा साहित्यका मर्मज्ञले बताउन सक्ने कुरा हो ।
५. उपन्यासको पृष्ठ ५५६ मा सर्सर्ती पुस्तक पढ्ने जलजलाको तरिकालाई अजितले अध्ययनको कङ्गारु तरिकाको सङ्ज्ञा दिएका छन् । उपन्यासमाथि सर्सती अर्थात् अजितको शब्द सापटी लिएर अध्ययनको कङ्गारु तरिकाबाट हेर्ने हो भने “कामरेड जलजला” उपन्यास एउटा प्रेमकथा अझ त्यसमा पनि दुखान्त प्रेमकथामाथि आधारित छ तर यो पूर्ण रूपमा प्रेमकथा अझ त्यसमा दुखान्त प्रेमकथा होइन । उपन्यासले दर्शन, इतिहास, विश्व कम्युनिस्ट आन्दोलन, त्यसमा देखिएका विवाद, टुटफुट, सङ्घर्षको इतिहास, आफूले नेतृत्व गरेको कम्युनिस्ट पार्टीको इतिहास, त्यसको सैद्धान्तिक र राजनैतिक विचारधारा, मानवशास्त्र, पुरातŒवशास्त्र, समाजशास्त्र, विज्ञान, सौर्यमण्डल, अन्तरिक्षलगायत अर्थात् पृथ्वीदेखि ब्रह्माण्डसम्मका ज्ञानविज्ञानका विभिन्न शाखामाथि सविस्तार व्याख्या–विश्लेषण गर्नुका साथै दर्शनलाई मानव समाज विकास र इतिहासको क्षेत्रमा समेत प्रयोग गर्न खोजिएको छ । उपन्यासले ज्ञानका विभिन्न शाखाको गहिराइपूर्वक गरिएको अध्ययनलाई विभिन्न पात्रहरू अझ त्यसमा पनि जलजला र सुनन्दामार्फत पाठकसामु पस्किने काम गरिएको छ ।
६. यो उपन्यासको मुख्य पात्र जलजला छन् । उपन्यास सुरुदेखि अन्तसम्म जलजलाको वरिपरि नै घुमेको छ । उपन्यासकारले आफ्ना साहित्यिक रचनामा मात्र नभएर वास्तविक जीवनमा पनि आदर्श पात्र खोज्न प्रयत्न गर्दै आउनुभएको छ । उपन्यासका साथै वास्तविक जीवनमा उपन्यासकारले कस्तो प्रकारको पात्रको कल्पना गर्ने गर्नुभएको छ ? वास्तविक जीवन र उपन्यासको आदर्श पात्रको बारेमा उपन्यासकारको कल्पना हावामा खडा गरेको नभएर यथार्थ धरातलमा गरेको पाइन्छ । लेखकले त्यसबारे “उजेली र हर्के : आदर्श पात्रहरूको निर्माणबारे मेरो अनुभव” शीर्षकको रचनामा भन्नुहुन्छ– “कैयौँ क्रान्तिकारी गुण अर्थात् क्रान्ति र पार्टीप्रति पूर्ण रूपले समर्पणको भावना उच्च प्रकारको त्याग र बलिदानको स्प्रिट आफ्ना लक्ष्यप्रति लगातार अविचलित र अथक रूपले अगाडि बढिरहने दृढता र धैर्यता, सबै प्रकारका व्यक्ति र पारिवारिक हितलाई क्रान्तिका लागि बलिदान गर्ने स्प्रिट सबै प्रकारका कठिन र प्रतिकूल परिस्थितिमा पनि क्रान्ति र भविष्यप्रति आशावादी रहने सङ्कल्प जस्ता गुणले सम्पन्न” पात्रलाई वास्तविक जीवनमा खोज्ने प्रयत्न गर्दै आउनुभएको छ । उहाँले हरेक युवामा त्यस प्रकारको गुण खोज्ने वा चरित्रको खोजी गर्दै आउनुभएको छ । स्वयम् उहाँको व्यक्तिगत जीवन पनि क्रान्तिकारी गुणले भरिएको वा ओतप्रोत रहेको छ । तिनै गुणले भरिएको क्रान्तिकारी पात्रको खोजी गर्ने क्रममा नै ती गुण उहाँले जलजलामा पाउनुभयो । भौतिक रूपले जलजला जीवित नरहे पनि जलजला जस्तो क्रान्तिकारी चरित्र भएका पात्रको खोजी गर्ने कार्य उहाँको अहिले पनि रोकिएको छैन । त्यसैले उपन्यासमा जलजला अहिलेसम्म उहाँले अँगाल्दै आएको आदर्श र भावना दुईटैसँग एकाकार भएको पाइन्छ ।
७. जलजला पहिले विद्या ढकाल थिइन् र पछि उनी जलजला भएकी हुन्, कामरेड जलजला तर उनी काठमाडौँमा कुनै पेसामा लागेको भए, उनी बनारस नआएको भए वा जलजलासित अजितको भेट नभएको भए निश्चित रूपले विद्या ढकाल जलजलामा बदलिने थिइनन् । उनी कामरेड जलजला हुने थिइनन् । जलजलाको नैतिक धरातल र व्यक्तित्वलाई उपन्यासमा अत्यन्तै माथि राख्ने प्रयत्न गरिएको छ । लेखकले उपन्यासकी पात्र जलजलाको उचाइ र रोल्पा जिल्लाको थबाङस्थित जलजला धुरीलाई एकआपसमा जोडेर हेरेका छन् । दुवैका बिच तादात्म्यता र सम्बन्ध कायम गर्न खोजिएको अनुभूति हुन्छ । ती दुईटै अर्थात् जलजला धुरी र का. जलजला अभिन्न रूपले जोडिएका र तिनीहरूका बिच अन्तर गर्न मुस्किल हुन थाल्छ अर्थात् उपन्यासमा जलजलाको चरित्र चित्रण गर्दै भनिएको छ– जलजला धुरी जस्तै अडिग र दृढ, अविचलित स्वरूपमा देखा पर्दै जान्छिन् । जलजला एउटा विद्रोही नारीको मूर्त रूप, जो सबै खाले सामन्ती, पुँजीवादी धर्म, संस्कृति, परम्परा, प्रचलन, नैतिकता, रीतिरिवाज, अन्धविश्वास, संस्कार, बन्धनभन्दा जलजला धुरी जस्तै माथि उठेकी थिइन्, जसलाई कुनै पनि प्रतिक्रियावादी सरकारको संविधान, कानुन, अदालत, जेल, सेना, प्रहरी र कडाभन्दा कडा सजायले—मृत्युसम्मको सजायले—आफ्नो उद्देश्य र निश्चयबाट डगमगाउन सक्दैनथ्यो । कुनै पनि आपत, खतरा, आतङ्क वा आक्रमणले भयभित पार्न सक्दैनथ्यो, जसले आजको समाजको भग्नावशेष वा खण्डहरको बिचबाट एउटा स्वतन्त्र सुखी, समृद्ध र सुन्दर जीवन निर्माणको सपना देखिरहन्छिन्, जुन सपनाले जस्तोसुकै कठिन र प्रतिकूल क्षणमा पनि दुःख र कष्ट अपमानका बिचमा पनि उनलाई असीम आनन्द, आशा, उत्साह र विश्वासका साथ अगाडि बढ्ने प्रेरणा दिन्छ । जलजलाको नैतिकता, चरित्र मनोबल यति उच्चस्तर निर्माण भएको हुन्छ कि सारा संसारको धनदौलत, उच्चभन्दा उच्च पद, स्वर्गीय र सम्पन्न व्यक्तिगत तथा पारिवारिक जीवनले पनि पथभ्रष्ट गर्न सक्दैनथ्यो । यसरी जलजलालाई लेखकले उपन्यासको माध्यमबाट उच्च, सङ्घर्षशील सर्वहारा वर्गीय दृष्टिकोणयुक्त पात्रको रूपमा स्थापित गर्नुभएको छ ।
७. लेखकले पिथौरागढ जिल्ला दारमा गाउँको कौसानीबाट उत्तराखण्डको अत्यन्तै प्रसिद्ध पर्यटकीय स्थलबाट सुरु भएर अन्तिममा थबाङमा गएर उपन्यासको कथा टुङ्गिन्छ भन्न्भुएको छ तर कथाको सुरुवात अजित र जलजलाका बिच अज्ञात स्थानमा एउटा यात्राको दौरानमा बसबाट हुन्छ । ती दुईटै एकार्कासँग परिचित भए पनि पार्टीको भूमिगत प्रणालीका कारण उनीहरूका बिच खास कुराकानी हुन पाउँदैन । पछि उनीहरूको बिचमा बनारसमा भेट हुन्छ । विद्या ढकाल पार्टीको पार्टटाइमर कार्यकर्ताको रूपमा कार्यरत हुन्छिन् । उनीमा एक प्रकारको दृढ, सौम्य र कुनै पनि कठिनाइका विरुद्ध जुध्न सक्ने उच्च प्रकारको मनोबल भएको अजितले महसुस वा अनुभव गर्दछन् । त्यही भएर अजितले उनलाई नेपाल कम्युनिस्ट पार्टीको पूर्णकालीन कार्यकर्ता भएर काम गर्न र त्यसका लागि रोल्पा जिल्लाको थबाङमा गएर काम गर्न प्रस्ताव गर्छन् । जलजलालाई परीक्षण गर्न त्यो प्रस्ताव स्वीकार गर्दा आइपर्न सक्ने सम्भावित बाधाअप्ठ्याराबारे पनि अजितले जलजलालाई सजग गराउँछन् तर हरेक अप्ठ्यारासँग जुध्ने दृढता विद्याले प्रकट गर्दै पार्टीको पूर्णकालीन कार्यकर्ता भएर थबाङ जान स्वीकार गर्छिन् । यहीँबाट विद्या ढकाल का. जलजला उपनाममा रूपान्तरित हुन्छिन् । उपन्यासको मुख्य कथा त्यहीबाट सुरु हुन्छ ।
८. कम्युनिस्ट पार्टीको कार्यकर्ता भएर भूमिगत रूपले रोल्पाको थबाङमा काम गर्ने सिलसिलामा तत्कालीन पञ्चायती निरङ्कुश व्यवस्थाबाट जलजला वारेन्टेड हुन्छिन् । थबाङ छोडेर भाग्नुपर्ने परिस्थिति सृजना हुन्छ । पार्टीको काम गर्ने दौरानमा नै अजित र जलजलाका बिच प्रेमसम्बन्ध कायम हुन्छ । अजित विवाहित दुईटा छोराछोरीका पिता र जलजला अविवाहित हुन्छन् । दुईटै बिचको प्रेमसम्बन्धलाई तत्कालीन पार्टीले सही मान्दैन र दुईटैलाई कारबाही गर्छ । पार्टीबाट कारबाही भए पनि पार्टी, क्रान्ति, परिवर्तनप्रति दुईटैको आस्थामा कुनै कमी आउन्न । उनीहरूबिचको प्रेमसम्बन्ध साझा उद्देश्यमाथि आधारित थियो । उपन्यासमा पार्टी कामको सिलसिलामा अज्ञात स्थानमा बसमा गरिएको यात्रा र बनारसबाहेक कहीँ पनि अजित र जलजलाबिच प्रत्यक्ष भेटघाट भएको वा प्रेमिल संवाद वा रोमान्स भएको देखिँदैन ।
यसबाहेक अजित र जलजलाबिच गहिरो प्रेमसम्बन्ध रहेको तर प्रत्यक्ष भेटघाट नभएको देख्दा विश्वप्रसिद्ध चिनियाँ उपन्यास “युवाहरूको गीत” को महिला पात्र ताओ चिङ र लु चिआ चुआनबिचको प्रेमसम्बन्धको “कामरेड जलजला” उपन्यासले स्मरण गराउँछ । जलजलाको अनुभूति, विगतको सम्झनामा जलजलाको बहिनी कान्ताले दिएको विवरण र अजित र जलजलाका बिच चलेका पत्राचारबाट नै उनीहरूको बिचको अगाध प्रेम सम्बन्धका बारेमा जानकारी प्राप्त हुन्छ ।
आफ्नो प्रेमका लागि अजित र जलजलाले थुप्रै प्रकारका अपमान, कष्ट, आर्थिक अभावको सामना गर्नुपरेको हुन्छ तर त्यसबाट उनीहरूको प्रेममा कुनै कमी आउन्न । पार्टीको नयाँ जिम्मेवारी समाल्न दिल्ली आएको पाँचौँ दिनमा बस दुर्घटनामा जलजलाको दुखद मृत्यु हुन्छ । अजितले जलजलालाई दिल्लीमा भेट्ने र जलजलाको पार्टीको नयाँ जिम्मेवारी सम्पादन र पढाइको सवालमा थुप्रै योजना बनाउने सल्लाह गरेका थिए । उनीहरूका बिच लामो समयदेखि भेटघाट हुन नपाएका कारण पनि दुईटै एकार्कासँग भेट्न आतुर थिए तर जलजलाको दुर्घटनामा दुखद मृत्युका कारण अजित र जलजलाबिचको प्रेमको दुखद अन्त हुन्छ ।
९. सुनन्दा र डा. जगदीशका बिचको प्रेमसम्बन्धलाई पनि यहाँ चर्चा नगरिरहन सकिदैन । डा. जगदीशले सुरुदेखि नै सुनन्दालाई एकतर्फी प्रेम गर्छन् । एकतर्फी यस मानेमा कि डा. जगदीशले प्रेम गर्छन् भन्ने कुरा सुनन्दालाई थाहा हुन्छ तर डा. जगदीशप्रति सुनन्दाको प्रेम हुन्न । त्यसका पछाडि दुईटैले अँगालेका परस्पर विरोधी वा फरक विचारधारा र सिद्धान्त नै मुख्य कारण हुन्छ । सुनन्दा गान्धिवादी तर डा. जगदीश कम्युनिस्ट । गान्धिवादी सिद्धान्तका पक्षधरले कम्युनिस्टलाई रुचाउने प्रश्न भएन तर अर्कोतर्फ, मानवीय संवेदनाको पक्ष हेर्दा सुनन्दामा पनि डा. जगदीशप्रति प्रेमको भावना रहेको तर प्रेम मनको कुनामा लुकेको वा दबिएको अवस्थामा मात्र देखिन्छ । डा. जगदीशले सुनन्दालाई पटक पटक विवाहको प्रस्ताव राख्छन् वा पत्रद्वारा विवाहको प्रस्ताव पठाउँछन् तर सुनन्दाले आफूले अँगालेको आस्थाका कारण विवाह प्रस्ताव स्वीकार गर्न सकेकी हुँदैनन् ।
पछि कम्युनिस्ट भएपछि सुनन्दाले डा. जगदीशको विवाह प्रस्ताव त स्वीकार गर्छिन् तर उनीहरूका बिच रुसी कम्युनिस्ट पार्टीको बिसौँ महाधिवेशन, स्टालिनको मूल्याङ्कनसम्बन्धी विषयलगायतका अन्य कुरामा थुप्रै मतभिन्नता देखिन थाल्छन् । डा. जगदीशको आफ्नो आस्था र विचारबाट धेरै नै पतन भइसकेको हुन्छ । जगदीशसँग विवाह गरेर आफू खुसी हुन नसक्ने निर्क्यौलमा सुनन्दा पुग्छिन् तर सुनन्दासँग विवाह गर्न पाए डा. जगदीश आफ्नो सिद्धान्त, आदर्श छोड्न तयार हुने, सुनन्दा गान्धिवादी भए आफू पनि गान्धिवादी हुने, यदि सुनन्दा सच्चा कम्युनिस्ट भए भए आफू पनि सच्चा कम्युनिस्ट हुने अवसरवादी तरिका अपनाउन तयार भएको देखेर सुनन्दालाई डा. जगदीशप्रति झन् घृणा जागेर आउँछ । सुरुमा त सुनन्दा दुईटैका बिच भएको मतभिन्नताको बिचबाट एकताको सम्भावना खोजेर भए पनि दाम्पत्य जीवन अगाडि बढाउन सकिन्छ कि भन्ने उपायका बारेमा सोचविचार गरेकी हुन्छिन् तर विवाहका लागि आफ्नो सिद्धान्तप्रतिको धोका र गद्दारी देखेर डा. जगदीशले राखेको विवाहको प्रस्ताव दृढतापूर्वक अस्वीकार गर्छिन् यद्यपि सुनन्दाले डा. जगदीशसँग विवाह गर्न तयार भएको भए सुनन्दाले एउटा वैभवपूर्ण र सम्पन्न जीवन बिताउन सक्थिन् । डा. जगदीश रुस सरकारको एउटा प्रोजेक्टमा रुसमा कार्यरत थिए । उनीसँग रुस, गढवाल, दिल्ली, लखनऊमा बङ्गला, घर, गाडी थिए । प्रशस्तै पैसा थियो तर सुनन्दाले आफ्नो आदर्शको रक्षाका लागि ती सबै वैभव, सुखलाई अस्वीकार गर्न तयार हुन्छिन् ।
१०. उपन्यासमा जलजला र अजित, डा. जगदीश र सुनन्दा र अन्तिमतिर आएर अजित र सुनन्दा बिचको प्रेमका विषयमा चर्चा गरिएको छ । उपन्यासले मार्क्सवादी दृष्टिकोणको आधारमा प्रेम, यौन र विवाहलाई व्याख्या र त्यसका मान्यतालाई स्थापित गर्ने प्रयत्न गरेको छ । समाज विकासका बेग्लाबेग्लै चरणमा प्रेम, विवाह तथा यौनसम्बन्धी मान्यतामा परिवर्तन हुँदै आएका छन् । नैतिक मानिएका मान्यता अनैतिक र अनैतिक ठानिएका मान्यता नैतिक ठहर हुँदै गएका छन । पुँजीवादी समाजमा कायम विवाह संस्था दोहोरो प्रेम वा पारस्परिक प्रेममाथि आधारित नभएको हुनाले नै एङ्गेल्सले यस्तो विवाहलाई एकनिष्ठ विवाह बताएका छन् । अहिले प्रचलित विवाह संस्था परस्पर प्रेममाथि कम स्वार्थमाथि बढी आधारित छ । प्रेम समाप्त भएमा वा पति वा पत्नीमध्ये कसैको प्रेम समाप्त भए पनि दाम्पत्य जीवन विभिन्न कारणले टिकाइराख्नुपर्ने वा मन नलागी नलागी दाम्पत्य सम्बन्धमा रहनुपर्ने सामाजिक, आर्थिक, नैतिक बाध्यता छ । यो मान्यताले गर्दा कैयौँका लागि दाम्पत्य जीवन “नर्क” मा परिणत भएको छ । एङ्गेल्सले “परिवार र निजी सम्पत्ति र राज्यको उत्पत्ति” शीर्षकको आफ्नो पुस्तकमा प्रेम र यौनको परिभाषा मार्क्सवादी दृष्टिकोणको आधारमा प्रस्तुत गरेका छन् । एङ्गेल्सले प्रेमबिनाको यौनसम्बन्ध वा चुम्बनलाई समेत यौन भ्रष्टीकरण बताएका छन् ।
विवाह र दाम्पत्य जीवनको मुख्य आधार नै पारम्परिक प्रेम हो । प्रेमको अभावमा गरिने विवाहलाई मार्क्सवादीको त कुरै छाडौँ, पुँजीवादीले समेत विरोध गर्दछन् । विवाहपश्चात् यदि प्रेम टुट्छ भने त्यो अवस्थामा सम्बन्धविच्छेद गर्न पाउनुपर्दछ । यही मान्यताका आधारमा अजितले जलजलासँगको आफ्नो प्रेमसम्बन्धलाई नैतिक भएको दाबी गर्छन् । त्यसैमा अडान रािख्छन् । अरूले अजित र जलजलाबिचको सम्बन्ध अनैतिक भने पनि प्रेम, विवाह र यौनसम्बन्धी मार्क्सवादी मान्यताको आधारमा नै जलजला पति पत्नीको रूपमा आफ्नो सम्बन्धलाई नैतिक ठान्दछन् ।
१२. सुनन्दाको उपस्थितिले यो उपन्यासलाई अगाडि बढाउन लेखकलाई धेरै सहयोग पुगेको छ । सुनन्दाको उपस्थितिबिना यो उपन्यास अगाडि बढ्न सक्दैनथ्यो । सुनन्दा पिथौरागढ जिल्ला दारमापट्टीको सिपुको तल झरेपछि आउने अन्तिम गाउँ दाँतुका शौका जनजाति परिवारमा जन्मेकी महिला हुन् । उपन्यासमा सुरुमा उनी एउटा गान्धिवादीको रूपमा देखा पर्छन् । सुनन्दामा गान्धीको प्रचुर प्रभाव परेको पाइन्छ तर त्यसका साथै उनी समाजसेवाको भावनाद्वारा पनि ओतप्रोत हुन्छन् । त्यसैमा भारत स्वतन्त्र भएपछि गान्धीले आफ्नो अनुयायीलाई राजनीतिमा नलाग्न समाजसेवामा समर्पित हुन निर्देशन दिएका कारण गान्धीका थुप्रै अनुयायी सक्रिय राजनीतिसँग सम्बन्धविच्छेद गरेर समाज सेवामा समर्पित भएका थिए । त्यसको छाप र प्रभाव पनि सुनन्दालाई प्रशस्तै परेको थियो । त्यसको साथै उत्तराखण्डका महिलामा शैक्षिक जागरण ल्याउन एक जना स्वीडेनकी महिला सरला बहन कौसानी आएर आफूलाई आजीवन रूपमा त्यसमा समर्पित गरेकी थिइन् । उनले आफ्नो सम्पूर्ण जीवन त्यसैमा बिताइन् । सुन्दरलाल बहुगुणाकी पत्नी विमला बहनले पनि आफ्नो सम्पूर्ण जीवन समाजसेवामा समर्पित गरेकी थिइन् । कौसानीमा भएको लक्ष्मी आश्रममा स्वयम् सुनन्दाले समेत काम गरेको हुनाले सरला र विमलाको त्यागबाट उनी असाध्ये प्रभावित थिइन् । अजितले जलजलालाई लेखेको पत्र सुनन्दाले रोल्पा थबाङको विद्या थापामार्फत् पढ्ने मौका पाउँछिन् । विद्या थापा लखनऊmमा अध्ययनरत नेपाली विद्यार्थी र सुनन्दाको फुपूको छिमेकी हुन्छिन् । उनीलाई सानैमा जलजलाले थबाङबाट लखनऊm ल्याएर पढ्न छोडेकी हुन्छिन् । त्यही पत्रको माध्यमबाट सुनन्दामा जलजला र अजितप्रति सद्भाव पैदा हुन्छ । तिनै जलजलालाई खोज्न सुनन्दाले विद्यावारिधिका लागि “नेपाल तथा कुमाउँ गढवालको मध्यकालीन इतिहास” शीर्षक रोज्छिन् । उनी विद्यावारिधिका लागि सामग्री जुटाउने निहुँमा जलजला खोज्न नेपाल आउँछिन् । त्यसै दौरान उनले निकै कष्ट व्यहोर्नुपर्छ । झन्डै ५ महिना भैरहवा जेलमा बिताउनुपर्दछ । काठमाडौँमा जलजलालाई भेट गर्न सकिने सम्भावित सूत्र खोज्न ठाउँ ठाउँ भौतारिन्छिन् । जलजलाको चितवनस्थित तोरीखेत घरमा पुग्छिन् । बुटवल जान्छिन् । त्यहाँबाट कपिलवस्तुको कुस्मा जान्छिन् । भारतको गोरखपुर, लखनऊ, बनारस खोज्दै हिँड्छिन् तर कारणवश सुनन्दा त्यहाँ पुग्नुभन्दा अगाडि नै जलजला हिँड्नुपरेका कारण सुनन्दा र जलजलाका बिच भेट हुन नसकेको दुखद अवस्था पैदा हुन्छ । अर्कोतर्फ, जलजला पनि सुनन्दालाई खोज्दै हिँड्छन् तर भेट हुन सकेको हुँदैन । जलजलालाई खोज्न नेपाल आउने क्रममा सुनन्दाले व्यहोरेको जेलजीवन, दुःखकष्ट, कम्युनिस्ट पार्टीका सदस्यसँगको सम्पर्क, मार्क्सवादी–लेनिनवादी साहित्यको अध्ययनबाट उनी क्रमशः गान्धिवादबाट मार्क्सवादतर्फ सङ्क्रमणको यात्रामा अगाडि बढ्छन् । अन्ततः जलजला र सुनन्दाका बिच भारतको लखनऊमा भेट हुन्छ । यसरी सुनन्दा जलजलामा विलय हुन्छिन् अर्थात् सुनन्दा जलजलाले अँगालेको बाटोमा हिँड्न अग्रसर हुन्छिन् । यसरी समग्रमा हेर्दा उपन्यासमा सुनन्दाले जलजलालाई खोज्दै जाँदा उनीहरूका बिचमा एक प्रकारको भेट भएको पनि हुन्छ तर भेट हुन नसकेको स्थिति पनि हुन्छ । भेट यस मानेमा भएको हुन्छ, सुनन्दाले जलजलाले अपनाएको बाटोलाई अर्थात् मार्क्सवादी–लेनिनवादी बाटोलाई पच्छ्याउँदै जान्छिन् । उनी कम्युनिस्ट विचारमा रूपान्तरण हुँदै जान्छिन् । त्यसरी जलजलासँग उनको भेट भएको हुन्छ । अर्कोतर्फ, सुनन्दा जलजलालाई भेट्न जहाँ जहाँ पुग्छिन्, त्यहाँबाट पहिले नै जलजला हिँडिसकेकी हुन्छिन्, त्यसरी भौतिक रूपले उनीहरूका बिच भेटघाट हुन सकिरहेको हुँदैन ।
१३. सुनन्दाले जलजलाको बाटो अख्तियार गरिन् । जलजलाको मृत्युपछि उनी नेपालको कम्युनिस्ट आन्दोलनमा सक्रियतापूर्वक लाग्ने अठोट गर्छिन् र त्यसका लागि अजितलाई खोज्दै प्युठानका विभिन्न गाउँ गाउँ हिँड्दै रोल्पा पुग्छन् । अजित पनि सुनन्दा प्युठान आएको खबरले उत्साहित हुन्छन् । रोल्पामा गएर अजित र सुनन्दाबिच भेट हुन्छ । नेपाल कम्युनिस्ट पार्टीले उनलाई सदस्यता दिने निर्णय गर्दछ । रोल्पामा तत्कालीन समयमा भएको सङ्घर्षमा सुनन्दा अर्थात् भामाले साहसको प्रदर्शन गर्दछिन् । शोषितजनको पक्षमा काम गर्दै जाने क्रममा नै अजित र सुनन्दाको भावनामा मेल खाँदै जान्छ । दुईटै साझा उद्देश्यका लागि आफूलाई सम्पूर्ण रूपले न्यौछावर गर्नु गयार हुनु, त्यसरी आफ्नो उद्देश्यप्राप्तिका लागि कष्टकर बाटोमा हिँडिरहेको अजित र सुनन्दाका बिच प्रेम हुन्छ । त्यो प्रेम विवाहमा परिणत हुन्छ । सुनन्दा का. भामामा परिणत हुन्छिन् ।
जलजलाको मृत्यु भए पनि सुनन्दा स्वयम् जलजलाकै रूप वा स्वरूपमा अगाडि आएकी थिइन् । जलजला धुरीको नामबाट विद्याको नाम जलजला रहेको थियो भने जलजला धुरीमा भामा नामको ओडार छ त्यसको नामबाट सुनन्दाको नाम भामा नामकरण हुन्छ । भामालाई जलजलाको उत्तराधिकारीको रूपमा काम अगाडि बढाउन पार्टीले जिम्मेवारी दिन्छ ।
१४. जलजला उपन्यासमा कथाको परिवेश कौसानी र थबाङ दुई विन्दुको रूपमा देखा परेका छन् । उपन्यासको परिवेश उत्तराखण्डको जिल्ला अल्मोडास्थित कौसानीबाट सुरु हुन्छ । दार्जिलिङ, लखनऊ, कौसानी, लक्ष्मी आश्रम, दिल्ली, भैरहवा, पेरिस, बर्लिन, मास्को, लेनिनग्राद, स्टालिनग्राद, युनान, ओखरकोट, गौमुखी, दियाल्नाचौर, रोल्पाको जलजला धुरी, भामा ओडार आदि रहेका छन् । उपन्यासका यी सबै परिवेशका बारेमा लेखकले विशद् व्याख्या र गहन जानकारी पाठकलाई पस्केका छन् । त्यसबाट उपन्यास रचनाको क्रममा ती ठाउँमा लेखक आफ्ना पात्र र स्थान खोज्न एक वा दुईपटक नभएर दर्जनौँपटक यात्रा गरेर त्यससम्बन्धी सामग्रीको विपुल भण्डार सङ्कलन गरेको देखिन्छ । उपन्यासमा देखिएका विभिन्न परिवेशको सानोभन्दा सानो जानकारी पनि लेखकबाट छुटेको छैन । त्यसका केही उदाहरण यहाँ सङ्क्षिप्त चर्चा गर्नु सान्दर्भिक होला ।
१५. इतिहास, पुरातत्त्व, मानव समाज, दर्शन, सौयमण्डल, पर्यावरणको रक्षा, पर्वतारोहणसमेतका यावत् विषय एउटै उपन्यासमा समेटिएको यस्तो कृति सायदै अहिलेसम्म रचना गरिएको छ । ऐतिहासिक पात्र, वीरविरङ्गनाको जीवनचरित्र, प्रेमकथा, आञ्चलिक परिवेश, समुद्रलगायतका विभिन्न विषयलाई आधार बनाएर उपन्यास रचना गरिएको छ । प्रदीप नेपालद्वारा लिखित लघुउपन्यास “एक हजार वर्ष” मा आजभन्दा एक हजार वर्षअगाडिको नेपालको इतिहास अझ, त्यसमा पनि सिँजा राज्यको इतिहास, सिँजा राज्य कमजोर भएपछि उदाउँदो दुल्लु राज्यको इतिहासका बारेमा चर्चा गरिएको छ । लुम्बिनीमा आजभन्दा एक करोड दश लाख वर्ष पूर्वको मानव रामापिथेकसका बारेमा पनि चर्चा गरिएको छ । राहुल सांस्कृत्यानको “भोल्गा से गङ्गा” कथासङ्ग्रहले पनि हाम्रा पुर्खा भोल्गाबाट गङ्गासम्म पुगेका बारेमा चर्चा गरेका छन् तर “कामरेड जलजला” उपन्यासका उपन्यासकारले मानवजातिको वर्तमान र धर्तीको पूर्व इतिहास पृथ्वीदेखि ब्रहमाण्डका बारेमा विस्तृत रूपमा समेट्ने प्रयास गरेका छन् ।
१७. कौसानी भारतको एउटा प्रसिद्ध पर्यटकीय केन्द्र हो । त्यसबारे उपन्यासमा चर्चा छ । उत्तराखण्डमा भएको विश्वको सबैभन्दा अग्लो हिमालमा सगरमाथापछि दोस्रोमा नन्दादेवी पर्वत शृङ्खला पर्दछ यद्यपि इतिहासको एउटा कालखण्डमा अर्थात् सन् १८०८ अघिसम्म नन्दादेवी हिमाल (भारतको सबैभन्दा अग्लो चुली) संसारको सबैभन्दा अग्लो शिखर भएको मानिन्थ्यो । पिथौरागढका विभिन्न गाउँहरू† जस्तै : बोगलिङ, अलो दारमा, नाथलिङ, उरथिङ, सेलागाउँ, उरपिङ, वालिङ, दातु गाउँ, तुग्तु, ठाकरगाउँ, तिबमङ, मार्छा र सिपु गाउँको नाम उपन्यासमा उल्लेख छ । ती गाउँमा मनाइने मेलापर्व, त्यहाँका जनतामा व्याप्त कूप्रथाको पनि चर्चा गरिएको पाइन्छ । त्यहाँका शौका जातिका मान्छे गर्मी महिनामा भेडा लिएर बुइग्याल जाने चलन र जाडोमा कुचा झर्ने चलन, छोरीबेटीको सानैमा विवाह गरिदिने कूप्रथा, थैचो विवाह पद्धति, त्यहाँ १२/१२ वर्षमा लाग्ने केदाली मेला, १२/१२ वर्षमा वर्षा ऋतुमा फुल्ने फिर्जो नामको फूललगायतका यस्ता कैयौँ सूक्ष्मभन्दा सूक्ष्म विषयको लेखकले चर्चा गरेका छन् । यसबाट उपन्यासको भौगोलिक परिवेशप्रति लेखकको गहिरो ज्ञानलाई बताउँछ ।
उपन्यासमा कौसानीलगायत कुमाउँ, गढवालको धर्मसंस्कृति, चाडपर्व, नाचगान, त्यहाँ फुल्ने फूल, स्थानीय सङ्घर्ष, आन्दोलन, कुमाउँगढवालका मान्छे गएर लखनऊ बस्दा त्यहाँ स्थापना भएको कुर्माञ्चल बस्ती, लेखकको गृहजिल्ला प्युठानस्थित ओखरकोट, गौमुखी र दियाल्नाचौर आदिको बारेमा पढ्दा यस्तो लाग्छ† मानौँ : हामी कुनै आञ्चलिक उपन्यासमा विचरण गरिरहेका छौँ तर कौसानी, ओखरकोट, गौमुखि विश्वमा अन्तरनिहित छ । विश्व कौसानी वा कुमाउँ गढवाल, ओखरकोट, गौमुखीमा अन्तरनिहित छ । त्यसरी कौसानी र विश्वका बिच अन्तरसम्बन्ध छ र तिनीहरूका बिच अन्तरद्वन्द्व र भिन्नता पनि छ । उपन्यासका कैयौँ पृष्ठमा लेखकले पटक पटक पिथौरागढ, नैनीताल, कुमाउँको यात्रा गरेको चर्चा पनि पाइन्छ । अझ त्यसमा पनि लेखकलले कुमाउँ, गढवालको कृषि संरचनाका बारेमा पिएचडीको तयारी गर्ने क्रममा सङ्कलन गरेका सामग्रीको विपुल भण्डारको ज्ञानले पनि उपन्यासको बौद्धिक स्तरलाई धेरै नै विश्वसनीय बनाउनुका साथै माथिल्लो स्तरमा उठाएको छ ।
१८. उपन्यासमा लेखकको प्रकृतिप्रतिको अगाध लगाव र प्रेमलाई देखाएको छ । प्रकृतिप्रतिको यो लगाव वा सौन्दर्यबोध उहाँको स्वाभाविक रुचिको विषय हुन सक्दछ । का. लेनिन पनि प्रकृतिप्रेमी थिए । प्रायः फुर्सदको समयमा पहाड, नदी र जङ्गलको यात्रा गर्न निकै मन पराउँथे । लेनिनको प्रकृतिप्रेमकै कारण उनको नाम लेनिन रहन गयो । रुसको साइबेरियामा बग्ने लेना नदीको नामबाट उनले आफ्नो नाम लेनिन राखेका थिए । उपन्यासका लेखकको पनि प्रकृतिप्रेमका कारण विद्या ढकालको नाम जलजला राखेको हुनुपर्दछ । उपन्यासकारको प्रकृति र हिमालयप्रतिको प्रेम तथा लगावका कारण नै लेखकसँग परिचित नभए पनि सुनन्दाको पनि प्रकृति वा हिमालयप्रतिको प्रेमका कारण सुरुदेखि नै आत्मीयपनको भाव उत्पन्न हुँदै त्यो गहिरो हुँदै गएको थियो । उपन्यासकारले पर्वतारोहण, कौसानी, कुमाउँ, गढवाल, पिथौरागढको माध्यमबाट हिमालय पहाडका विषयमा परापूर्वकालदेखिको ऐतिहासिक जानकारी प्रस्तुत गर्नुभएको छ ।
नेपालको साहित्य जगत्मा हिमालय साहित्यबारे अत्यन्तै थोरै सामग्री वा त्यससम्बन्धी साहित्यिक कृतिको अभाव पाइन्छ । हिमाली साहित्यका बारेमा मुस्किलले पनि आधा दर्जनभन्दा बढी कृति पाइदैनन् । सरुभक्तको लघुउपन्यास “चुली”, दौलतविक्रम विष्टको “एक पालुवा अनेक याम”, नयनराज पाण्डेको “सल्लीपिर”, हिमलाल गौतमको “पन्ध्रौँ चुली” मात्रै देखिन्छ । विदेशीले लेखेका सर एडमन्ड हिलारी, तेन्जिङ नोर्गेका संस्मरण, भारतीय हरिपालसिंह अहलुवालियाका संस्मरण वा हिमालयको इतिहाससँग सम्बन्धित सामग्रीको अभाव देखिन्छ तर उपन्यासकारले पर्वतारोहण, कुमाउँ, गढवाल, कौसानीलगायतका परिच्छेदमा हिमालयको गहन रूपमा अन्वेषण र विश्लेषण गरेका छन् । त्यति मात्र नभएर दारमाका मान्छे तिब्बतको बजार जाँदाआउँदा लाग्ने समयावधि, तिब्बतका विभिन्न नाकामा भएका बजार, त्यहाँ गरिने किनमेलको चर्चा सुनन्दाका हजुरबुबामार्फत् उपन्यासमा गराइएको छ । यसरी तिब्बतसँग सीमा जोडिएका भारतीय हिमाली गाउँका मान्छे तिब्बत बजारमा पुग्न लाग्ने समय र दुखकष्टलाई पनि निकै मार्मिक तथा जीवन्त ढङ्गबाट उपन्यासमा प्रस्तुत गरिएको छ । नेपालबाट बजार गर्न पहिला तिब्बतको ल्हासा जाने चलन पनि पाइन्थ्यो । नेपाली व्यापारी ल्हासा बजार पुग्दा पाइने दुःखको बारेमा पनि साहित्यको अत्यन्तै अभाव छ । त्यस विषयमा डोरबहादुर विष्टको लघुउपन्यास सोतालाबाहेक अरू पाइदैन ।
१९. मोहनविक्रम सिंहले नेपाल र विश्वसँग जोडिएका थुप्रै विषयमा गहन अध्ययन र विश्लेषण गर्नुभएको छ । इतिहासको अध्ययनको विषयमा उहाँको विशेष प्रकारको रुचि रहेको छ । आफ्नो त्यो रुचि तथा त्यो क्षेत्रमा गरिएको गहन अध्ययन, अनुसन्धान र विश्लेषणलाई उपन्यासको पात्र सुनन्दालाई माध्यम बनाएर अगाडि ल्याउने वा पाठकमाझ प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । इतिहासप्रतिको उहाँको लगावकै कारण सुनन्दालाई “भारतको उत्तराखण्ड र पश्चिम नेपालको मध्यकालीन इतिहासको तुलनात्मक अध्ययन” शीर्षकमा विद्यावारिधि गर्न अगाडि सारिएको छ । भारतको उत्तराखण्ड र पश्चिम नेपालको मध्यकालीन इतिहासको माध्यमबाट अष्टमातृका, काठमाडौँ उपत्यका, पशुपतिनाथ, स्वयम्भुनाथ, जनजातिलगायतका सबै जातिमा पाइने मातृपूजा, ढुङ्गेयुगीन सभ्यता, रामापिथेकस, होमोसेपियन मानव, लुम्बिनी, तिलौराकोट, प्राग्ऐतिहासिक जाति, थारू, मगर, कर्णाली प्रदेश, खस जाति, मष्टो, हिन्दु सभ्यताको केन्द्र बनारस, सिन्धु घाँटीको, अमेरिकाका माया सभ्यता, मेसोपोटियाको सभ्यता, लुम्बिनीको बौद्ध सभ्यता, कुमाउँ, गढवाललगायतको क्षेत्रको इतिहासलाई भौतिकवादी दृष्टिकोणबाट प्रस्तुत गरिएको छ । लेखक इतिहासको अध्ययनसँग मात्रै आफूलाई सीमित नराखेर सिङ्गै विश्वको रूपरेखा पृथ्वी वायुमण्डल, गति र कक्ष, सूर्य, सूर्यको दुरी, चन्द्रमा, सौर्य परिवार, ग्रह, गुरुत्वाकर्षण, धुम्रकेतु, उल्कापिण्ड, तारा, आकाशगङ्गालगायतका थुप्रै प्रश्नमा गहन विश्लेषण र ज्ञान सुनन्दामार्फत् उपन्यासमा प्रस्तुत गर्नुभएको छ ।
२०. विश्वमा चलेका विभिन्न आन्दोलन पर्यावरणको रक्षाका लागि पिथौरागढमा चलेको चिपको आन्दोलन, मध्य प्रदेशको नर्मदा बचाऔँ आन्दोलन, कौसानीमा अवस्थित खिराकोटको खरी उत्खनन् विरुद्धको आन्दोलन, राजस्थानको खोजगुडी गाउँमा सन् १७३० मा जोधपुरका राजा अजित सिंहलाई आफ्नो महल बनाउन इँटाका लागि आवश्यक पर्ने रुख काट्ने क्रममा त्यसको रक्षाको क्रममा राजाबाट झन्डै ३६३ जना किसानको हत्या भएको थियो । आसाम कुमारीकट्टा गाउँमा आदिवासीले गरेको सङ्घर्षसहितलाई अत्यन्तै गहन प्रकारले प्रस्तुत गर्नुभएको छ । त्यसैगरी, भोजपुर जिल्लाका महिलामाथि गरिने अन्याय–अत्याचारका विरुद्ध योगमायाको सङ्घर्ष र त्यो सङ्घर्षको क्रममा ६०–७० जनाले अरुण नदीमा हाम फालेर गरेको सामूहिक रूपमा गरिएको जलसमाधि योगवाणी र विश्वका विभिन्न मुलुकमा सङ्घर्षको क्रममा भएका त्यही प्रकृतिका सामूहिक आत्महत्याको इतिहासलाई समेत विस्तारमा चर्चा गर्दै उपन्यासमा उल्लेख गर्नुभएको छ । आत्महत्याका त्यस प्रकारका घटनाका बिच पनि अन्तर गरिएको छ । धेरैजसो यस संसारबाट मुक्त भएर स्वर्ग जानका लागि वा ईश्वरमा लिन हुन गरिएका थिए भने कतिपय आत्महत्याका घटना दुस्मनबाट पराजित भएपछि त्यसबाट पुग्ने क्षति, विनाश, दासत्वको खतराबाट बच्न वा महिलाद्वारा आफ्नो अस्मिता बचाउन पनि भएका थिए । मुगल आक्रमणबाट चितौडका राजपुतको हार भएपछि आफ्नो अस्मिता बचाउन त्यहाँका महिलाले आत्मदाह गरेका थिए । प्राचीनकालमा रोमन सेनाले जेरुसेलममा कब्जा गरेपछि त्यहाँको एउटा कट्टर धार्मिक सम्प्रदायका एक हजार व्यक्तिले सामूहिक आत्महत्या गरेका थिए । फ्रान्समा उन्मूलन गरिएको दासप्रथालाई नेपोलियनले पुनर्स्थापना गरेपछि त्यसका विरुद्धको सङ्घर्षमा दासको पराजय भएपछि ४ सय जनाले पुनः दास हुनुपर्ने बाध्यताबाट बच्न सामूहिक आत्महत्या गरेका थिए । टर्कीको सेनाले युनानको एउटा गाउँ सौलीमा आक्रमण गरेका थिए । त्यस आक्रमणबाट बच्न गाउँमा भएका महिला र केटाकेटीहरू पहाडबाट हाम फालेर आत्महत्या गरेका थिए ।
फ्रान्सको पेरिस विद्रोह, रुसको समाजवादी क्रान्ति, फ्रेन्च क्रान्ति, फासिवादका विरुद्धको रुसको नेतृत्वमा भएको प्रतिरोध युद्धलगायतका थुप्रै सङ्घर्षका कथा तथा बलिदानका गाथाले यो उपन्यास भरिएको छ । त्यसैले “कामरेड जलजला” उपन्यास सङ्घर्षको कथा, दस्तावेज र त्याग, बलिदानको गाथाको इतिहास हो ।
२१. “कामरेड जलजला” उपन्यासले कम्युनिस्ट आन्दोलनमा लागेका सदस्यलाई जस्तोसुकै कठिन र प्रतिकूल परिस्थितिमा आन्दोलन निरन्तर लागिरहन महत्त्वपूर्ण सन्देश दिन खोजेको छ । विश्व कम्युनिस्ट आन्दोलन आज रक्षात्मक अवस्थामा छ । नेपालको कम्युनिस्ट आन्दोलन पनि विश्व कम्युनिस्ट आन्दोलनको विद्यमान अवस्थाबाट अप्रभावित रहन सक्दैन तर यो क्षणिक कुरा हो । अन्ततः समग्र विश्व परिस्थितिलाई हेर्दा क्रान्तिका लागि वस्तुगत अवस्था तयार छ तर त्यसको तुलामा आत्मगत स्थिति कमजोर छ । त्यसैले क्रान्तिकारी आशावादका साथ नयाँ जनवाद, समाजवादको स्थापनाका लागि उत्साहका साथ निरन्तर क्रान्तिमा लाग्नुपर्दछ तर यो काममा कैयौँ कोणबाट बाधा पुगिरहेको छ । क्रान्तिमा निस्वार्थ, निरन्तर क्रान्तिकारी आशावादका साथ लाग्ने सवालमा विश्वदृष्टिकोणको प्रश्नले पनि गम्भीर प्रभाव पारेको छ । मार्क्सवादी–लेनिनवादी साहित्यको निरन्तर अध्ययन र वर्गसङ्घर्षमा निरन्तर सहभागिताले नै सर्वहारा विश्वदृष्टिकोणको निर्माणमा मदत पुग्दछ । त्यसका लागि मार्क्सवादी दर्शनको निरन्तर अध्ययनले नै हामीले अहिलेको अवस्थामा सुधार गर्न सक्छौँ भन्ने लेखकको ठम्याइ छ । त्यसैले उपन्यासको सुरुदेखि नै लेखकले दार्शनिक ढङ्गबाट विषयलाई ग्रहण गर्ने, त्यसको व्याख्या गर्ने समाधानका उपाय पहिल्याउने प्रयत्नरत रहनुभएको पाइन्छ । हरेक वस्तुमा हुने द्वन्द्वको परिणाम नै त्यसले गति लिन्छ । नराम्रो पक्षको निषेध हुँदै जान्छ र राम्रो पक्षले त्यो ठाउँ लिँदै जान्छ भन्ने कुरामा नै लेखकले बारम्बार जोड दिएको पाइन्छ ।
२२. उपन्यासको माध्यमबाट लेखकले व्यक्तिवादी तथा स्वार्थपरायण प्रवृत्तिमाथि प्रहार गर्नुभएको छ । त्यसो गर्ने क्रममा सामाजिक हित तथा समाजसेवाका लागि आफ्नो सम्पूर्ण जीवन अर्पण गरेका पात्रलाई महŒवका साथ अगाडि सार्नुभएको छ । समाजसेवाका लागि आफ्नो सम्पूर्ण जीवन न्यौछावर गर्ने पात्रप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ । व्यक्तिगत स्वार्थका लागि मात्रै आफ्नो व्यवहार र चिन्तनलाई केन्द्रित गर्ने सोचाइ र प्रवृत्तिलाई उहाँले तुच्छ ठान्नुभएको छ । कौसानीको लक्ष्मी आश्रमकी प्रमुख सरला बहन भारतीय थिइनन् । उनी स्वीडेनकी नागरिक हुन् । आफ्नो युवावस्थामा उनी भारत आइन् । गान्धीको प्रभावमा परेर उत्तराखण्डमा महिलामा शैक्षिक जागरण ल्याउन उनी पिथौरागढ आइन् । विवाह नगरी वर्षौंसम्म अविवाहित बसेर पिथौरागढमा महिला साक्षरताका लागि आफ्नो जीवन होमिदिइन् । त्यस्तै, विमला बहन पनि त्याग र बलिदानकी प्रतिमूर्ति थिइन् । यिनीहरू गान्धिवादी भए पनि समाजको सेवाका लागि आफ्नो सम्पूर्ण जीवन नै न्यौछावर गरेका थिए ।
२३. “कामरेड जलजला” उपन्यासकी एक जना महŒवपूर्ण पात्र सुनन्दा हुन् । सुनन्दाबिना यो उपन्यास अगाडि बढ्न सक्दैन । सुनन्दा गान्धिवादी थिइन् । यिनले आफ्नो व्यक्तित्व विकासका लागि उच्चस्तरको शैक्षिक डिग्री प्राप्त गरेकी थिइन् । सुनन्दा जवाहरलाल नेहरू जस्तो प्रसिद्ध विश्वविद्यालयमा “भारतको उत्तराखण्ड र पश्चिम नेपालको मध्यकालीन इतिहासको तुलनात्मक अध्ययन” शीर्षकमा विधावारिधि गर्दै थिइन् । यिनले पर्वतारोहण, कराँते, नृत्यलगायतका थुप्रै प्रशिक्षण लिएकी थिइन् । डा. जगदीश जस्तो बौद्विक तथा आर्थिक रूपले सम्पन्न व्यक्ति, जसले सुनन्दालाई पत्नीको हैसियतले सबै प्रकार वैभव, सुख सदन सक्दथे, सुनन्दाले आफ्नो जीवनको लक्ष्य पर्वतारोहण बनाएकी थिइन् तर उनीमा गान्धिवादको प्रभावका कारण आफ्नो व्यक्तिगत स्वार्थलाई महŒव नदिएर समाजसेवाको बाटो रोजिन् । त्यही समाजसेवाको भावनाले उनीलाई जलजलालाई खोज्दै नेपाल पुर्यायो । जेल परिन् । थुप्रै कष्टको सामना गर्नुपर्यो । त्यही क्रममा उनले थप सङ्घर्षको बाटो रोजिन् । मार्क्सवाद, लेनिनवाद, कम्युनिस्ट क्रान्तिको बाटो रोजिन् । आफ्नो आस्थाकै कारण डा. जगदीशसँग विवाहलाई अस्वीकार गरिन् । भारतीय भएर पनि नेकपाको सदस्यता लिएर सर्वहारा अन्तर्राष्ट्रवादको पक्षमा दह्रो गरी उभिइन् । कम्युनिस्ट पार्टीको सदस्य बनेर उनी नेपालमा भूमिगत भइन् । उनी सुनन्दाबाट का. भामामा रूपान्तरण भइन् । का. जलजलाको उत्तराधिकारीको रूपमा उनले छोडेर गएका अधुरा काम र जिम्मेवारी समाल्न आफूलाई उभ्याइन् ।
२४. का. जलजला उपन्यासकी मुख्य पात्र हुन । जसको वरिपरि उपन्यास केन्द्रित छ । का. जलजला स्वयम् एउटा सङ्घर्षकी प्रतिमूर्ति हुन् । २३ वर्षको कलिलो उमेरमा उनी पार्टीको पूर्णकालीन कार्यकर्ता बनिन् । पार्टीको निर्देशनमा रोल्पाको थबाङमा गएर भूमिगत भएर क्रान्तिका लागि आधार तयार पार्न दत्तचित्त भएर लागिन् । सरकारले उनलाई वारेन्ट गर्यो । कहिले प्युठान, कहिले काठमाडौँ त कहिले चितवन, कपिलवस्तु, भारतका गल्ली गल्लीमा पुगेर क्रान्तिको पक्षमा काम गर्न थालिन् । उनको व्यक्तिगत जीवन बर्बाद हुँदै गयो । पार्टीको काममा पूर्ण रूपले होमिएको हुनाले समाजले उनलाई वेश्या, राति राति परपुरुषसँग हिँड्ने भनेर कुरा काट्न थालेका थिए । उनले सामाजिक अपमान र बदख्वाइँको सामना गर्नु परिरहेको थियो तर जलजला नारीको यस्ती प्रतीक बन्न पुगिन्, जसको हृदयमा खाली नारीको वर्तमान अवस्था मात्र होइन, सम्पूर्ण सामाजिक व्यवस्थाका विरुद्ध प्रचण्ड विद्रोहको ज्वाला उठिरहेको हुन्छ । क्रान्तिकारीका लागि उनका जीवन सफल थियो तर स्वार्थपरायण व्यक्तिका लागि उनको जीवन असफल र बर्बाद भएको देख्दथे । क्रान्तिको कामको सिलसिलामा नै अल्पायुमा दिल्लीमा बस दुर्घटनामा उनको मृत्यु हुन्छ ।
२५. चन्द्रसिंह गढवाली र गढवाली दुइटै सङ्घर्षका प्रतीक तथा आदर्श व्यक्तित्व हुनुहुन्छ । चन्द्रसिंह गढवालीको सम्पूर्ण जीवन नै सङ्घर्षमा बित्यो । ठिक त्यसै प्रकारले गढवालीको सम्पूर्ण जीवन शोषित, पीडित जनको उद्धार तथा सङ्घर्षको पक्षमा व्यतित भयो । जहाँ जहाँ जनतामाथि प्रहरी प्रशासन, गुण्डा, ठेकेदार, जमिन्दारबाट अत्याचार हुन्थ्यो, गढवाली त्यहाँ त्यहाँ पुग्दथे । उहाँको न त विवाह भएको थियो, न कुनै घर थियो, न बस्ने ठेगान थियो यद्यपि चन्द्रसिंह गढवालीमा वैचारिक अस्पष्टताका कारण गलत बाटो अख्तियार गर्नुभयो । गढवाली जनताको पक्षमा सङ्घर्ष त गर्थे तर क्रान्तिकारी सङ्गठनको आवश्यकतामा ध्यान दिन नसक्ने केही कमीकमजोरी थिए तर उहाँहरूले आफ्नो जीवन सम्पूर्ण रूपले सामूहिक तथा सामाजिक स्वार्थका लागि नै न्यौछावर गरेका छन् ।
२६. सुनन्दाका फुफा अर्थात् सरस्वतीका पति कल्याणसिंह पतिपाल भारतका स्वतन्त्र सेनानी थिए । उनले आफ्नो सम्पूर्ण जीवन भारतको स्वतन्त्रता सङ्ग्रामको लागि समर्पित गरेका थिए । कल्याणसिंहका बुबा ब्रिटिस सरकारअन्तर्गत सरकारी सेवामा उच्च ओहदामा थिए । ब्रिटिस विरुद्धको स्वतन्त्रता आन्दोलनमा लागेर जेल गएका कारण कल्याणसिंहका बुबाले उनलाई घरबाट निकालिदिन्छन् । ब्रिटिस सरकारको अधिकृतको छोरा भएको हुनाले सरस्वतीले कल्याणसिंहसँग आफ्नो जीवन सुखमय हुने ठानेर विवाह गरेकी थिइन् तर स्वतन्त्रता सङ्ग्राममा लागेका कारण कल्याणसिंहले कुनै मान, पदवी, धनसम्पत्ति केही कमाउन सकेका हुँदैनन्, जसको परिणाम घरपरिवार सबैले उनलाई बहिष्कृत गर्छन् । यहाँसम्म कि सरस्वतीले समेत आफ्नो पतिलाई छोडेर माइत गएर बस्छिन् । माइतीले पनि कल्याणसिंहमाथि हातपात र अपमानजनक व्यवहार गर्छन् । उनले गरिबी र अभावको जीवन बिताउनु परेको हुन्छ । उनी करिब करिब सडक छापको स्थितिमा झरेका हुन्छन् । सरस्वती भारतबाट ब्रिटिस शासनको अन्त हुन नसक्ने कुरा ठान्थिन् । त्यसका बाबजुद पनि कल्याणसिंह आफ्नो आस्था र निष्ठामा कायम राख्दै निरन्तर आन्दोलनमा लागि रहन्छन् । आफ्नो परिवार वा पत्नीलाई खुसी बनाउने नाममा आन्दोलनसँग गद्दारी गरेनन् । आफ्नो आस्था, सिद्धान्त र उद्देश्यका लागि आफ्नो सबै इच्छा, आकाङ्क्षा, बलि दिन तयार भएका थिए ।
२७. जलजला, सुनन्दा, अजित, चन्द्रसिंह गढवाली, गढवाली, स्वतन्त्रता सेनानी कल्याणसिंह लक्ष्मी आश्रमकी सरला, कमला, विमला बहन, सुन्दरलाल बहुगुणा, मार्क्स, लेनिन यी सबै आफ्ना व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर पार्टी, क्रान्ति, परिवर्तन, समाजसेवाका लागि आफ्नो जीवन उत्सर्ग गरेका थिए । देश, राष्ट्रियता, राजनीतिक परिवर्तन आफ्नो सिद्धान्त, आस्था र उद्देश्यको रक्षाका लागि वैयक्तिक स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने सन्देश उपन्यासले दिन्छ । राष्ट्र, जनता, परिवर्तनका लागि आफूलाई उत्सर्ग गर्दा त्यसमा आनन्दको अनुभूति हुनुपर्ने आवश्यकतामा लेखकले जोड दिएका छन् ।
२८. पार्टी, क्रान्ति, राजनीतिक परिवर्तनका लागि वैयक्तिक स्वार्थलाई त्यागेर पार्टी, क्रान्ति, राजनीतिक परिवर्तन र आजीवन समाज सेवाका लागि आफूलाई होम्ने सन्देश उपन्यासले दिनुका साथै त्यो गरेबापत् आफूले कुनै लाभको इच्छा वा स्वार्थ राखिएको छ भने त्यो गलत हुन्छ भनेर पनि सचेत गराउनुभएको छ । यदि निस्वार्थ सेवाको बदलामा मानसम्मान वा पदप्रतिष्ठाको आशा वा आकाङ्क्षा राखेर काम गरेमा त्यो प्राप्त नहुँदा कैयौँ मान्छे आफ्नो आस्था, आदर्श, सिद्धान्त तथा उद्देश्यका विरुद्ध खडा हुन पुग्छन् । वैयक्तिक स्वार्थभन्दा माथि उठ्न सक्दैनन् । राजनीतिमा लागेबापत् त्यसबाट फाइदा उठाउने वा जनताको सेवाको आवरणमा कुनै लाभ लिने प्रवृत्तिलाई सही मान्न सकिँदैन । यस्तो गलत प्रवृत्तिको परिणाम राजनीति सेवाको विषय नभएर नाफा र नोक्सान हेर्ने व्यापार बन्न पुग्दछ । समाजसेवा राजनीति फगत एउटा व्यापार बनेमा जनताको राजनीतिमाथि विश्वास पनि घट्दै जान्छ । त्यो प्रवृत्तिका विरुद्ध लगातार सङ्घर्षमा जोड दिनुपर्नेमा उपन्यासले जोड दिएको छ । स्वयम् लेखकले आफ्नो राजनीति जीवनमा सर्वहारा विश्वदृष्टिकोणको निर्माणमा विशेष जोड दिंँदै आउनुका साथै पार्टी र आन्दोलनमा देखा पर्ने महत्त्वाकाङ्क्षाको प्रवृत्तिका विरुद्ध लामो सङ्घर्ष गर्दै आउनुभएको छ । यो महŒवाकाङ्क्षाको प्रवृत्तिका विरुद्ध चलाइने सङ्घर्ष वा सम्झाई बुझाएको प्रक्रियाबाट समाधान भएपछि पनि पुनः देखा पर्दैन भन्ने सोच्नु गलत हुन्छ । यो एउटा निरन्तर चलाइ राख्ने शुद्धीकरण प्रक्रिया हो ।
२९. आफ्नो वैयक्तिक स्वार्थको सट्टा सामूहिक हितलाई प्राथमिकता दिनुपर्दछ वा त्यसलाई यसरी पनि भन्न सकिन्छ कि समाजको हितभित्र नै मेरो व्यक्तिको पनि हित सुरक्षित छ वा हुने छ । सामूहिक स्वार्थका लागि सङ्घर्ष गर्ने बेला पनि त्यसबाट आफूलाई कति लाभ पुग्यो भनेर हामीले सोचाइ बनायौँ वा त्याग वा बलिदान गरेका कारण मलाई कति लाभ पुग्ने छ भन्ने सोचाइ र चिन्तनले हामी खुसी र उत्साहित भएर काम गर्न सक्दैनौँ । त्यसैले उपन्यासमा लेखकले अरूको लागि वा पार्टी, क्रान्ति, राष्ट्र र समाजको लागि आफूलाई मेटाएर वा न्यौछावर गरेर गरिने सङ्घर्षमा नै खुसी प्राप्त हुने छ भन्ने कुरामा जोड दिँदै कवि लक्ष्मीप्रसाद देवकोटाको “मार्ग” शीर्षक कविताको निम्न अंशलाई उपन्यासमा प्रस्तुत गर्नुभएको छ । “मार्ग” कवितामा महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका छन् ।
“सबै खोज्छन् सुख भनी सुख त्यो कहाँ छ ?
आफू मेटाई अरूलाई दिनु जहाँ छ
अर्थात् उपन्यासकारले मानिसले जीवनमा के कति लाभ प्राप्त हुन्छ ? त्यसको आधारमा सुख खोज्ने नभएर आफूलाई मेटाएर पनि अरूका लागि काम गर्दा प्राप्त हुने सुखमा जोड दिनुभएको छ । सच्चा सुख व्यक्तिगत स्वार्थ पूरा गर्ने स्वार्थपरायण व्यवहारमा होइन, देश र जनताको अधिकतम सेवाको दौरानमा प्राप्त हुन सक्दछ । पार्टीमा काम गरेपछि दुःखकष्ट सहेपछि त्याग बलिदान गरेपछि त्यसको सट्टा व्यक्तिगत रूपमा लाभप्राप्तिको इच्छालाई प्राथमिकता दिएर सोच्न थाल्यो भने त्यस्तो व्यक्ति क्रान्तिपथमा लामो समय टिक्न सक्दैन ।
३०. उपन्यासकारले उपन्यासका विभिन्न पृष्ठमा कस्तो प्रकारको दृष्टिकोण बनाउनेबारे आफ्नो धारणा प्रस्तुत गर्नुभएको छ, जुन धेरै नै महत्त्वपूर्ण छ । विश्वदृष्टिकोणसम्बन्धी धारणालाई स्पष्ट पार्न उहाँले “गीता” को मुख्य सन्देश वा सार अगाडि सारेको पाइन्छ । “गीता” ले निष्काम सेवामाथि जोड दिएको छ । “गीता” ले भन्छ– “काम गर्दै जाऊ तर फलको आशा नगर ।” त्यसका साथै लेखकले अजितमार्फत् जलजलालाई एउटा सच्चा क्रान्तिकारीले आफ्नो विश्वदृष्टिकोण कस्तो बनाउनुपर्छ भनेर दिएको सुझाव वा अजित र जलजलाकाि बच भएको संवादको पनि यहाँ चर्चा गर्नु सान्दर्भिक होला ।
जलजलाले उपन्यासमा भनेकी छिन्– अजितले प्रायः “गीता” को कुरा गर्दथे । अजितले गीताको “नै नं छिन्दान्ति शस्त्राणी नै नं दहत्रि पावक” श्लोकको बारम्बार चर्चा गर्दथे भनेर जलजलाले उपन्यासमा प्रसङ्ग उठाएकी छन् अर्थात् गीताको “नै नं छिन्दन्ति शस्त्राणी नै नं दहति पावक” श्लोकको अर्थ हुन्छ– “आत्मालाई शस्त्रले काट्न सक्दैन । आगोले डढाउन सक्दैन ।” निश्चित रूपले भौतिकवादीले आत्मामाथि विश्वास गर्दैनन् । कुनै आत्मा भन्ने चिज नभएपछि त्यो अमर हुने प्रश्न पनि आउँदैन तर श्लोकमा लेखिएको कुरा एउटा क्रान्तिकारीका लागि पनि सत्य भएको कुरा उपन्यासकारले जोड दिनुभएको छ । हरेक प्रकारका कठिन तथा प्रतिकूल परिस्थितिमा पनि उत्साह, आँट र मनोबलका साथ लगातार क्रान्तिकारी बाटोमा त्यतिखेर मात्र अगाडि बढ्न सकिन्छ, जब त्यसमा निस्वार्थ कर्मयोगका साथ काम गर्ने स्प्रिट हुन्छ । निस्वार्थ कर्मयोगले काम गर्ने स्प्रिट भएका क्रान्तिकारीहरू सधैँ गीताको श्लोकमा भने जस्तै अजर र अमर हुन्छन ।
३१. उपन्यासकारले उपन्यासमा कुनै क्रान्तिकारीको विश्वदृष्टिकोण सही भएपछि मात्र ऊ क्रान्तिको बाटोमा सधैँ र हरेक विघ्नबाधाका बिचबाट पनि अगाडि बढ्न सक्दछ भन्ने कुरामा जोड दिइएको छ । मार्क्सवादी–लेनिनवादी सिद्धान्तको आधारमा विश्वदृष्टिकोणको निर्माण हुन सकेमा वा आफूलाई सम्पूर्ण रूपले क्रान्तिको वेदीमा होमेपछि ऊसँग गुमाउनका लागि केही बाँकी रहँदैन । उपन्यासकारले उपन्यासको मुख्य पात्र जलजलालाई मन परेको निम्न कविताको पनि उपन्यासमा उल्लेख गरेका छन् । उक्त कविता जलजलालाई निकै मन पर्दथ्यो । त्यसबाट पनि जलजलामार्फत् उपन्यासकारले एउटा क्रान्तिकारीको विश्वदृष्टिकोण कस्तो हुनुपर्दछ भन्नेबारे दिन खोजेको सन्देश बुझ्न थप मदत पुग्ने छ । कविता यस प्रकार छ :
“तिमीहरूले सम्पूर्ण रूपमा आफूलाई
क्रान्तिको बेदीमा होमेपछि
गुमाउनका लागि केही बाँकी रहने छैन
जित्नका लागि सारा संसार
त्यसपछि संसारमा कुनै
यस्तो शक्ति बाँकी रहने छैन
जसले तिमीहरूको बेगलाई रोक्न सकोस्
तिमीहरू अजेय बन्ने छौ
निर्भय र सबै खतराबाट बाहिर
बन्धनमा बसेर पनि
बन्धनदेखि स्वतन्त्र
दुःखकष्टमा रहेर पनि
त्यसको शोकबाट मुक्त
मरेर गए पनि
मृत्युको कालो छायाँबाट टाढा
अजर र अमर
नै नं छिन्दन्ति शस्त्राणी नै नं ।”…
यो कविताले कम्युनिस्ट घोषणापत्रको सर्वहाराका लागि गुमाउन जन्जिरबाहेक अरू केही छैन, जित्नका लागि सारा संसार छ भन्ने स्प्रिटलाई पक्रेको छ । आफूलाई सम्पूर्ण रूपले क्रान्तिवेदीमा होमेपछि हामीसँग गुमाउनका लागि केही बाँकी रहन्न । उपन्यासकारले गीताको श्लोक र यो कविताको माध्यमबाट एउटा क्रान्तिकारीले अपनाउने विश्वदृष्टिकोणलाई प्रष्ट्याउने प्रयत्न गरेका छन् ।
३२. उपन्यासकारले व्यक्तिमा पाइने व्यक्तिवादी र स्वार्थपरायण दृष्टिकोणका कारण क्रान्ति र आफ्नो आदर्शप्रति गर्ने गद्दारी अत्यन्तै तुच्छ ठान्नुहुन्छ । आफन्तजनका बिचमा हुने झगडा र हत्या, निजी स्वार्थका लागि कैयौँ बालबालिकाको अपहरण उनीहरूलाई अपाङ्ग बनाएर भिक माग्न लगाउने निष्कृष्ट कार्य, महिलालाई बेचेर यौनधन्दामा लगाउने क्रियाकलाप, चोरी, तस्करी डकैतीका घटना हुने गरेका बताउनुभएको छ तर समाजको अर्को पाटोप्रति पनि लेखकले ध्यान दिनुभएको छ । मानिसमा व्यक्तिवादी र स्वार्थपरायण प्रवृत्ति भए पनि उनीहरूमा सामाजिक प्रवृत्ति पनि हुने भएकोले आफ्ना व्यक्तिगत स्वार्थलाई बलिदान दिएर सामाजिक हितका लागि काम गर्दै अगाडि बढेको लामो इतिहास पाइन्छ ।
३३. “कामरेड जलजला” उपन्यासमा जोड दिएको महŒवपूर्ण विषय दर्शन हो । सायद नै नेपालको साहित्यिक जगत्मा उपन्यासको माध्यमबाट दर्शनको व्याख्या र दर्शनको आधारमा समाज, इतिहास र व्यक्तिको विश्वदृष्टिकोण घटनाक्रमको व्याख्या गरिएको उपन्यास “कामरेड जलजला” नै हो । उपन्यासकारले दर्शनको क्षेत्रमा देखिएका आधारभूत विवाद पदार्थ चेतनामध्ये कुन प्रमुख हुन्छ भन्ने विषयमा मानव जीवनको सुरुदेखि नै चल्दै आएको विवादबारे मार्क्सवादी दृष्टिकोणबाट जवाफ वा उत्तर दिनुभएको छ ।
टाउकोको बलमा उभिएको हेगेलको द्वन्द्ववादलाई मार्क्सले खुट्टामा टेक्ने बनाएका थिए । दर्शनसम्बन्धी शास्त्रीय कुराको चर्चाभन्दा महत्त्वपूर्ण कुरा दर्शनलाई हामीले आफ्नो दैनिक जीवनमा वा व्यवहारमा लागु गर्न सके वा अपनाउन सके मात्र हामी सही निष्कर्षमा पुग्न सक्ने छौँ भन्ने कुरामा उपन्यासमा जोड दिइएको छ । उपन्यासमा त्यसबारे एक ठाउँमा भनिएको छ– “व्यावहारिक जीवनमा हामीले कुनै चिजलाई खालि तत्कालीन उपरी वा एकाङ्की रूपमा बुझ्ने प्रयत्न गर्दछौँ तर दर्शनले प्रत्येक चिजलाई विस्तृत गहन र समग्र रूपमा हेर्दछ । त्यस प्रकारको दार्शनिक दृष्टिकोणले हामीलाई कुनै चिजलाई सही परिप्रेक्ष्यमा बुझ्न मदत गर्दछ । निश्चय नै त्यो कुरा पुनः कुनै दर्शन कहाँसम्म सही छ ? त्यो कुरामाथि नै निर्भर गर्दछ । दर्शनको यो मान्यताको कति धेरै ठुलो महत्त्व छ ?
निश्चित रूपले विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । स्वयम् नेपाल पनि त्यसको प्रभावबाट अछुतो छैन । हाम्रो तुलनामा प्रतिक्रियावादी शक्तिशाली देखिन्छन् तर यो तात्कालिक समस्याको उपरी र एकाङ्की पक्ष मात्र हो । यसको दीर्घकालीन पक्ष पनि छ । आज विद्यमान स्थितिलाई हेर्ने हो भने उत्पादन पद्धति सामूहिक छ तर स्वामित्व व्यक्तिगत छ, जसको परिणाम त्यसमा लगातार द्वन्द्व र सङ्घर्ष भइरहेको हुन्छ । सर्वहारा वर्गको सङ्ख्या बढ्दो छ । बढ्दो सर्वहारा वर्गले पुँजीवादको चिहान खन्ने छ । अन्तर्राष्ट्रिय रूपमा साम्राज्यवादीका बिच बढ्दो अन्तरविरोधले क्रान्तिका लागि अनुकूल स्थिति पैदा गर्दै गइरहेको छ । त्यसैले तत्कालका लागि प्रतिक्रियावादी बलिया देखिए पनि क्रान्ति भइछाड्ने कुरामा कुनै दुविधा छैन । यो दार्शनिक मान्यताले क्रान्तिप्रतिको आशावादलाई पैदा गर्दछ । मार्क्सवादी दर्शनले अन्धकारको बिचमा प्रकाशको किरण खोज्ने र चरम निराशा र असफलताका बेला आशाको रेखा कोर्ने विश्वासमा उपन्यासले जोड दिएको छ ।