सरोज न्यौपाने
नेपाली जनता अब भाषण, सम्झौता र गठबन्धन संस्कृतिको भ्रममा बाँच्न तयार छैनन् ।दशकौंदेखि सत्ता कब्जा गर्दै आएका पुराना राजनैतिक दलहरूले न सुशासन दिए, न विकास, न त जनताको भरोसा नै बाँकी राखे । यही निराशा, आक्रोश र शून्यताको पृष्ठभूमिमा परिवर्तनको उत्कट आकांक्षाबाट जन्मिएको पार्टी हो- रास्वपा ।अब त्यो रास्वपा झनै सुदृढ र बिस्तार भएको छ । रवी, बालेन र कुलमानहरूको यो प्रयास कुनै चुनावी तालमेल होइन, यो असफल सिद्ध राजनैतिक शक्तिविरुद्धको निर्णायक, तर, सामुहिक हस्तक्षेप हो । विभिन्न चरणहरू पार गर्दै आजबाट यसले लगभग पूर्णता पाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका भीमकाय नेताहरू सभापति रवी लामिछाने र रास्वपाका नवप्रवेशी नेता तथा काठमाडौं महानगर प्रमुख बालेन शाह र पूर्व नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख तथा अन्तरिम सरकारका भौतिक तथा ऊर्जा मन्त्री कुलमान घिसिङबीच आगामी निर्वाचनलाई प्रस्थान बिन्दु मानेर बनेको सहकार्य पुरानो सत्ता संरचनामाथिको खुला राजनीतिक चुनौती हो !
साथै, रवीले सौदाबाजीमा टिकाइएको मौजुदा राजनीतिको चरित्रमा प्रश्न मात्रै गरेनन्, लुटको स्वर्गमा धावा बोल्दै थिए, बालेनले स्थानीय तहबाट सुशासनको उदाहरण प्रस्तुत गर्दै सत्ताको अकर्मण्यता चिर्ने प्रयत्न गर्दै थिए, कुलमानले प्रशासनभित्र बसेर मात्रै होइन, सत्तामा पुगेर पनि परिणाम दिन सकिने प्रमाण प्रस्तुत गरिसकेका छन् । हामीले सधैं कल्पना गर्ने यी तीनै धार अब एउटै दिशामा बग्ने समझदारी बनेको छ । नेपाली राजनीतिको इतिहासकै महत्त्वपूर्ण घटना हो यो, जसले नेपाललाई नयाँ युगमा प्रवेश गराउने सामर्थ्य राख्दछ ।
यो सहमति कुनै नयाँ सत्ता समीकरणको सामान्य अभ्यास मात्रै होइन, यो कांग्रेस-एमाले-माओवादीले निर्माण गरेको संरक्षणमुखी राजनीति, कार्यकर्ता-केन्द्रित सत्ता र परिणामविहीन शासन संस्कृतिविरुद्धको सीधा हमला हो । जनतालाई भोट बैंकमा सीमित गर्ने, राज्यलाई भागबन्डाको अखडा बनाउने र असफलतालाई गठबन्धनको नाममा ढाकछोप गर्ने पुरानो राजनीतिक प्रवृत्तिको विकल्प खोज्दै यो मोर्चा औपचारिक रूपमा अघि बढेको छ ।
राजनीतिमा इमानदारी देखाउन नसक्ने नेतृत्व, प्रशासनलाई चलायमान बनाउन नसक्ने सरकार र जोखिम उठाउन डराउने सत्ता अभ्यासबाट दिक्क भएका नागरिकका लागि रवी-बालेन-कुलमानको सहकार्य आशाको नारा मात्र होइन, जिम्मेवारीबोधको अभ्यास पनि हो । यो सहकार्यले ‘को प्रधानमन्त्री बन्छ’ भन्ने पुरानो बहसलाई विस्थापित गर्दै ‘राज्य कसरी चलाइन्छ’ भन्ने मूल प्रश्नलाई केन्द्रमा ल्याएको छ।
आसन्न निर्वाचनमा विस्तारित रास्वपाले कांग्रेस-एमाले-माओवादीको परम्परागत चुनावी गणितलाई मात्र चुनौती दिँदैन, उनीहरूले वर्षौंदेखि जोगाउँदै आएको सत्ता-संस्कृतिमाथि नै निर्णायक हमला गर्नेछ । दलको झण्डाभन्दा सार्वजनिक हित, नेताको भाषणभन्दा संस्थागत परिणाम र सम्झौताभन्दा जवाफदेहितालाई प्राथमिकतामा राख्ने यो एकता नेपाली राजनीतिमा संरचनागत रूपान्तरणको आधारशीला बन्ने सम्भावना तीब्र बनेको छ ।
यस अर्थमा, रवी-बालेन-कुलमानको सहकार्य कुनै नयाँ गठजोड होइन ! यो त कांग्रेस-एमाले-माओवादी युगको राजनीतिक असफलतापछि जन्मिएको निर्णायक वैकल्पिक हस्तक्षेप हो । अब नेपाली राजनीति सहमतिका नाटक होइन, परिणामको कठोर परीक्षातर्फ प्रवेश गरिसकेको छ ! र, यही नै नयाँ युग प्रवेशको प्रस्थान बिन्दु हो ! अर्थात्, विस्फोटक, तर, विवेकपूर्ण प्रारम्भ ।











