
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र जोगाउन संघीयता खारेज गर्नुपर्ने बताउनुभएको छ ।
आइतबार साँझ सिंहदरबारमा बसेको सर्वदीय बैठकमा अध्यक्ष केसीले यस्तो धारणा राख्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको गणतन्त्र पक्षधर दलहरूको बैठकमा पूर्वराजा र उनका समर्थकको गतिविधिबारे छलफल भएको छ।
बैठकमा धारणा राख्दै अध्यक्ष केसीले आफूहरूले प्रतिगमनको खतराबारे बारम्बार कुरा उठाएपनि ठूला दलहरूले आफ्नो सुझावलाई नसुनेको बताउनुभयो । उहाँले जनतामा देखिएको असन्तुष्टीको मुख्य कारण ठूला भनिएका दल नै रहेको आरोप पनि लगाउनुभयो ।
‘हामीले यो कुरा सुरुदेखि नै भनिरहेको हो। प्रतिगमनविरुद्ध मिलेर जानुपर्छ भनेर ठूला दलले सुनेनन्’ उहाँले भन्नुभयो, ‘जनतामा देखिएका असन्तुष्टी पनि तपाईंहरूकै कारण देखिएको हो। गणतन्त्र जोगाउन संघीयता खारेज गर्नुपर्छ।’
बैठकले प्रतिगमनविरुद्ध गणतन्त्रवादीहरू मिलेर जान एकताबद्ध हुने निष्कर्ष निकालेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी दिनुभयो ।
बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले ‘तीनकुने घटनाको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र नै रहेको र यसलाई सरकारले गम्भीर ढंगले लिएको बताउनुभयो ।
शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीहरूले हिंसात्मक प्रदर्शन गरेपछि गणतन्त्र पक्षधर दलहरू पहिलोपल्टै एकै ठाउँमा भेला भएका हुन्।
बैठकमा राष्ट्रिय जनमोर्चाको तर्फबाट अध्यक्ष केसी र महासचिव भट्ट सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्री ओलीले आह्वान गरेको सो बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्री कृष्ण सिटौला, कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखक, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत, नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्षा डा. बाबुराम भट्टराईलगायत शीर्ष नेता सहभागी थिए।