
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले काठमाडौँमा संघीयताविरुद्ध आन्दोलन सुरु गरेको छ । आइतबार (चैत २४ गते) राजधानीको शान्तिबाटिमामा जनसभा गरी संघीयता खारेजीका लागि अभियान थालेको हो ।
साताब्यापी संघीयताविरुद्ध आन्दोलन कार्यक्रमको सुरुवात गर्दै पार्टीका अध्यक्ष चित्रबहादुर केसीले शासकको कानमा पुग्नेगरी संघीयताविरुद्ध आवाज बुलन्द गर्न आफूहरूले राजधानी केन्द्रित आन्दोलन थालेको बताउनुभयो ।
उहाँले अन्तरिम संविधानबाट जबर्जस्ती संघीयता लादिएको उल्लेख गर्दै गएको १५/१६ वर्षमा जनतामा धेरै नै जागरण आएको स्पष्ट पार्नुभयो ।
‘संघीयता ठीक छैन भन्ने कुरा शासकका कानमा पुर्याउन हामीले राजधानी केन्द्रित आन्दोलन सुरु गरेका हौँ’ केसीले भन्नुभयो, ‘सुरुमा संघीयता जनताको अधिकारका लागि हो भनेर भ्रम दिन सफल भएपनि यो १५/१६ वर्षको अवधिमा जनतामा धेरै नै भ्रम साफ भएको छ ।’
उहाँले पञ्चायत फाल्न ३० वर्ष लागेको, राजतन्त्र विरुद्ध कैयौँ वर्ष संघर्ष गरेर मात्रै राजतन्त्र समाप्त भएको उल्लेख गर्दै संघीयता पनि यही आन्दोलनले खारेज नगरेपनि यो सुरुवात भएको बताउनुभयो ।
‘सतीप्रथा एकैपटक हटेको हो ?’ केसीले प्रश्न गर्नुभयो, ‘पञ्चायत फाल्न ३० वर्ष संघर्ष गर्नुपर्यो । राजतन्त्र फाल्न कत्रो संघर्ष भयो । त्यसकारण संघीयता आजै जान्छ भन्ने होइन । यो त सुरुवात हो । अब जनताले नै यसलाई खारेज गर्छन् ।’
अध्यक्ष केसील देशले संघीयता खारेज नगरे संघीयताले देशै खारेज गर्ने दोहोर्याउनुभयो ।
उहाँले संघीयता नेपाललाई खारेज गर्न भारतीय साम्राज्यवादीलाई चाहिएको दाबी गर्दै त्यसको प्रतिनिधित्व नेपालमा तराईका जमिन्दारहरूले गरेको आरोप पनि लगाउनुभयो ।
‘तराईलाई एक मधेश एक प्रदेश बनाएर हिमाल र पहाडबाट अलग गर्ने र आत्मनिर्णयको अधिकार दिएर छुट्टिन पाउने व्यवस्थाका लागि संघीयता चाहिएको हो’ केसीले भन्नुभयो, ‘भारतीय साम्राज्यवादले नेपाललाई नै खारेज गर्न संघीयता बोकायो, तराईका जमिन्दारले यहाँ ल्याए, राजनीतिक दलहरूले दबाब थेग्न सकेनन् र त्यसलाई स्वीकार गरे ।’
उहाँले संबिधान सभाको अधिकार खोसेर अन्तरिम संविधानमा जबर्जस्ती संघीयता घुसाइएको बताउनुभयो ।
भारतका शासकको उद्धेश्य काँकडभिट्टादेखि महेन्द्रनगरसम्मको भूभाग अलग गरेर कब्जा गर्ने रहेको र युरोपियन युनियनले नेपालमा जातीय राज्य बनाएर विध्वंश मच्चाउन लगानी गरेको स्पष्ट पार्नुभयो ।
अध्यक्ष केसीले सत्तामा बसेका राजनीतिक दलहरूले गरेका भ्रष्टाचार र कुशासनका कारण राजावादीहरू फेरि सल्बलाएको आरोप पनि लगाउनुभयो । जनताले संघर्ष गरेर रछ्यानमा मिल्काएको राजतन्त्रलाई कुनै पनि बहानामा टाउको नउठाउन पनि उहाँले चेतावनी दिनुभयो ।
उहाँले भारतीय र अमेरिकी साम्राज्यवादीको हस्तक्षेप बढ्दै गएको भन्दै चिन्ता जाहेर गर्नुभयो ।
राष्ट्रियता र गणतन्त्र जोगाउन संघीयता खारेज गर्नुपर्ने, प्रदेश संरचनामा जाने दुई खर्ब रुपैयाँ शिक्षा र स्वास्थ्यमा लगानी गर्नुपर्ने, स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने तथा भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने केसीको भनाई थियो ।
राजमो उपाध्यक्ष दुर्गा पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव मनोज भट्टले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न जनवर्गीय संगठनका नेताहरूले संघीयताविरुद्ध आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गर्नुभएको थियो भने रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले जोशिलो गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
आन्दोलनमा सहभागी हुन विभिन्न जिल्ला तथा प्रवासबाट समेत राजमोका नेता कार्यकर्ताहरू राजधानी आएका छन् ।