
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेपालमा संघीयताको जननी भारतीय दूतावास भएको बताउनुभएको छ ।
मंगलबार (चैत २६ गते) माइतीघर मण्डलामा आयोजित सभालाई सम्बोधन गर्दै महासचिव भट्टले नेपालका कुनै पनि दल संघीयताका जननी नभएको जिकीर गर्नुभयो ।
माओवादी र मधेशवादी दलहरूले आफूहरूले संघीयता ल्याएको भनेपनि संघीयता भारतले बोकाएको एजेन्डा भएको भट्टको भनाई थियो।
‘नेपालमा संघीयताको जननी लैनचौरको भारतीय दूतावास हो । लैनचौरको भारतीय दूतावासमा बसेर मधेश आन्दोलनको योजना बन्यो । २०६३ को माघ २ देखि १८ सम्म मधेशमा आन्दोलन चल्यो । त्यही आन्दोलनको दबाबमा अन्तरिम संविधानमा संघीयता घुसाइयो’ भट्टले प्रश्न गर्नुभयो, ‘अब भन्नुहोस्, संघीयताको जननी प्रचण्ड हो कि लैनचौरको भारतीय दूतावास ?’
उहाँले सातवटा प्रदेशमा २६ हजार कर्मचारी आवश्यक पर्नेमा अहिले १३ हजार कर्मचारी मात्रै भर्ना हुँदासमेत करको भारले जनतालाई थिचेको उल्लेख गर्नुभयो ।
बागमतीमा ६ अर्ब आम्दानी हुँदा २६ अर्ब प्रशासनिक खर्च भएको उदाहरण प्रस्तुत गर्दै भट्टले संघीयताले देशलाई टाट पल्टाउने स्पष्ट पार्नुभयो ।
राष्ट्रिय जनमोर्चाले चैत २४ गतेदेखि काठमाडौँमा संघीयताविरुद्ध आन्दोलन थालेको हो ।
आज माइतीघरमा शभा सुरु हुनुअघि जाउलाखेलबाट जुलुश प्रदर्शन गरिएको थियो । जुलुशमा संघीयताको खारेजी, गणतन्त्रको रक्षा, तथा राष्ट्रियता रक्षाका लागि चर्का नाराबाजी गरियो ।
सभामा जर्मन कम्युनिष्ट पार्टीका प्रतिनिधिसहित विभिन्न जनवर्गीय संगठनका नेताहरूले आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गनुभएको थियो भने रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले जोशलिो गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।