
रमा पन्थी ,रुपन्देही।
किशोरीहरूको आत्मविश्वास र सुरक्षा सुदृढ बनाउने उद्देश्यले मायादेवी गाउँपालिकाको आयोजनामा चार दिने आत्मरक्षा तालीम गाउँपालिकाको हलमा सम्पन्न भएको छ। तालिममा गाउँपालिकाका विभिन्न वडाबाट करिब ५० जना किशोरीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्य सामाजिक कुरीति, बलात्कार, आत्महत्या, मनोवैज्ञानिक समस्या जस्ता संवेदनशील विषयहरूप्रति सचेतना बढाउनुका साथै किशोरीहरूलाई आवश्यक आत्मरक्षा सीप प्रदान गर्नु रहेको थियो। तालिममा सहभागीहरूलाई Good touch र Bad touch को अवधारणा, किशोरी शिक्षा, प्रजनन स्वास्थ्य, मनोवैज्ञानिक समस्याहरूका बारेमा विस्तृत जानकारी दिइएको थियो।
प्रशिक्षणमा प्रहरी तेक्वान्दो टोली र अन्य विज्ञ प्रशिक्षकहरूद्वारा आत्मरक्षा सीपहरू प्रयोगात्मक रूपमा सिकाइएको थियो । सहभागीहरूले प्रशिक्षण उपयोगी भएको प्रतिक्रिया दिएका छन् र यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर गरिनुपर्नेमा जोड दिएका छन्।
कार्यक्रमको संयोजन महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुख रमा पौडेलले गरेकी थिइन्। उनले किशोरीहरूलाई सुरक्षित, आत्मनिर्भर र सशक्त बनाउने उदेश्यले आयोजना भएका यस्ता कार्यक्रमहरूको प्रभाव सकारात्मक भएको बताइन्।