राजमोको संघीयताविरुद्ध आन्दोलनमा ऐक्यवद्धता जनाउनेमा अन्य दलका कार्यकर्तादेखि विदेशीसम्म

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले काठमाडौँमा सञ्चालन गरिरहेको संघीयताविरुद्धको आन्दोलनमा विभिन्न दलका कार्यकर्ता तथा भाइचार पार्टीहरूबाट ऐक्यबद्धता जनाउने क्रम बढेको छ ।

अन्य दलका कतिपय कार्यकर्ता तथा विगतमा राजमोको सदस्य भएर पार्टी परित्याग गरेका व्यक्तिहरूसमेत कार्यक्रमप्रति ऐक्यवद्धता जनाउन सभास्थलमा आइरहेका अखिल (छैठौं) का अध्यक्ष सुभास जिसीले बताउनुभयो ।

‘विगतमा हाम्रो पार्टीमा रहेर पार्टी परित्याग गरेका पुराना साथीहरूदेखि अन्य पार्टीमा रहेका संघीयता विरोधी कार्यकर्ता हाम्रो आन्दोलनस्थलमै आएर ऐक्यवद्धता जनाइरहनुभएको छ’ जिसीले भन्नुभयो, ‘यो मुद्दा हाम्रो मात्रै होइन, आम जनताको मुद्दा भएकाले यसप्रति समर्थन बढ्दै गएको पाएका छौँ ।’

अध्यक्ष जिसीका अनुसार मंगलबार माइतीघर मण्डलामा आयोजित सभामा पनि विभिन्न पार्टीमा आवद्ध कार्यकर्ता तथा राजमोका पूर्वसदस्यहरू आएर आन्दोलनप्रति समर्थन जाहेर गरेका छन् ।

मंगलबार नै जर्मन कम्युनिष्ट पार्टी (एमएलपीडी) का प्रतिनिधि अल्बर्ट स्मिथले सम्बोधन गर्दै एमएलपीडीको तर्फबाट आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गर्नुभएको थियो ।

कार्यक्रममा स्मिथले भन्नुभयो, ‘तपाईंहरूको संघीयता विरोधी अभियान स्पष्ट रूपमा देखाउँछ कि तपाईंहरू डराइरहनु भएको छैन, बरु यो साम्राज्यवादी नीतिको विरुद्ध साहसका साथ संघर्षरत हुनुहुन्छ।’

राजमोले चैत २६ गते ललितपुरको जाउलाखेलबाट जुलुश प्रदर्शन गरी माइतीघरमा आएर जनसभा गरेको हो ।

सो सभामा राजमो महासचिव मनोज भट्ट, नेताहरू अन्तर्राष्ट्रिय नेपाली एकता समाजका उपाध्यक्ष प्रेम पौडेल, राजमो केन्द्रीय सदस्य डम्बर पुरी, लुम्बिनी प्रदेश सांसद तारा थापा, राजमो सुर्खेतका नेता पूर्ण शाही, राजमो बागलुङका अध्यक्ष तिलक थापालगायत वक्ताहरूले सम्बोधन गर्नुभएको थियो ।

राजमो केन्द्रीय सचिवालय सदस्य एवम् सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पूर्वसचिव कृष्ण अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले विभिन्न प्रस्तुती दिएका थिए ।

आन्दोलनस्थलमा सरसफाइ
यसैबीच राजमो स्वयंसेवकहरूले आन्दोलनको कार्यक्रमपछि नगर सफा राख्न सरसफाइ अभियान पनि सञ्चालन गरेका छन्। कार्यक्रमपश्चात आन्दोलन स्थलमा उनीहरूले सरसफाइ गरेका हुन्।

राष्ट्रिय जनमोर्चाका काठमाडौं जिल्ला अध्यक्ष झविन्द्र बेलवासेले आन्दोलनपछि सहभागीहरूको सहयोगमा सफाइ गरेको जानकारी दिनुभयो ।

राजमोले चैत २४ गतेदेखि ३० गतेसम्म आन्दोलनका कार्यक्रम गर्ने तय भएपनि बढ्दो प्रदूषणका कारण कार्यक्रम दुई दिन छोट्याएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation