
बुटवल । बुटवलको कालिकापथमा ३ दिने सडक खाना महोत्सव हिजोदेखी सुरु भएको छ। नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा बुटवलमा शनिबार रातीबाट लाइभ म्युजिकसहितको सडक खाना महोत्सव सुरु भएको हो।
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबन) रुपन्देहीको आयोजनामा आजदेखि ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नारासहित सडक खाना महोत्सवको आयोजना गरिएको अध्यक्ष प्रसन्न कोइरालाले बताए।
कोइरालाले आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गरी आयोजना गरेको कार्यक्रममा समस्तको साथ सहयोगको खाँचो रहेको बताएका थिए। उनले पछिल्लो समय देखा परेको आर्थीक मन्दिका कारण रेस्टुरेन्ट व्यवसायीहरूमा उत्पन्न नैराश्यता मेटाउन महोत्सवको आयोजना गरिएको बताए।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले आर्थिक हवको रुपमा चिनिएको बुटवलमा यस्ता कार्यक्रम आयोजना गर्नु सकारात्मक पक्ष रहेको बताएका थिए। पाण्डेले उपमहानगरपालिकाले जुनसुकै ढंगले सहयोग र सहकार्य गर्न तयार रहेको र बुटवलबासी तथा रुपन्देहीवासीले एकपटक अवलोकन गरी खानासँगै लाइभ म्युजिकमा रम्न आग्रह गरेका थिए।
बुटवलको कालिकापथ सडकमा मिलन चोक तीनकुने चोकदेखि कालिका नगर शिवालय मन्दिरसम्म ५० भन्दा बढी स्टल रहेको महोत्सवमा लाइभ म्युजिक , झाँकी, विभिन्न सांस्कृतिक झलकसँगै दोहोरीको रमाइलोसँगै विभिन्न खानाका परिकारहरू चाख्न सकिने छ। महोत्सव तीन दिनसम्म चल्ने छ।