सिद्धार्थनगर नगरपालिकाले गर्‍यो नववर्षको शुभकामना आदान–प्रदान

रमा पन्थी । रुपन्देही – चैत २९ गते भैरहवा एक होटेलमा “हाम्रो नगर, हामी सबैको सरोकार” भन्ने मूल नारालाई आत्मसात गर्दै सिद्धार्थनगर नगरपालिकाले सफल कार्यसम्पादनको आधारमा देशभरका ७५३ पालिकामध्ये उत्कृष्ट नगरपालिकाको उपाधि प्राप्त गरेको छ। यही गौरवपूर्ण अवसरका साथै नववर्ष २०८२ को आगमनलाई स्वागत गर्दै नगरपालिकाले शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको थियो।

उक्त कार्यक्रमको सभापतित्व सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खान ज्यूले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि उमाकान्त चापागाईं , विशिष्ट अतिथि उपमेयर उमा अधिकारी , १३ वटै वार्डका अध्यक्षज्यूहरू, संघसंस्थाका प्रतिनिधिज्यूहरू, जनप्रतिनिधिज्यूहरू, पत्रकार, समाजसेवी तथा नगरवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

मेयर खानले कार्यक्रममा बोल्दै “सिद्धार्थ नगर नगर पालिकाले देशकै उत्कृष्ट नगरको उपाधि प्राप्त गर्नु सम्पूर्ण नगरवासीको साझा उपलब्धि हो। यस सफलतामा साथ, सहयोग गर्ने सबै पत्रकार, समाजसेवी, जनप्रतिनिधि तथा कर्मचारीहरूप्रति आभार प्रकट गर्दै आगामी दिनहरूमा नगरलाई अझै प्रगतिशील र समावेशी बनाउने हाम्रो संकल्प हो।” भनेका थिए ।

उपमेयर उमा अधिकारीले शुभकामना दिँदै सबैको निरन्तर साथ र सहयोगका लागि धन्यवाद व्यक्त गरिन । उनले भनिन , “यस सफलतामा हामी सबैको योगदान महत्वपूर्ण छ। नगरको समृद्धि र सुशासनमा हामी अझ प्रतिबद्ध भएर लाग्नेछौं।”

कार्यक्रम उत्साहजनक वातावरणमा, आपसी शुभकामना आदान–प्रदानका साथ सम्पन्न भएको थियो।
नगरवासी, जनप्रतिनिधि तथा सरोकारवाला सबैमा उल्लास र गौरवको भावना देखिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation