
काठमाडौं : सरकारले शिक्षकहरूको मागको सम्बोधन गर्न तयार रहेको जनाएपछि शिक्षकहरूले भने आन्दोलन जारी राखेका छन् । आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै उनीहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन् ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा बुधबार पनि शिक्षकहरूले माइतिघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन् । शिक्षकहरूले निरन्तर आन्दोलन गरेपछि मंगलबार राती बसेको मन्त्रीपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।
बैठकले एसईईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरि कार्यथलोमा फर्किन अनुरोध समेत गरेको थियो । तर महासंघले संघीय संसदको अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित भएपछि मात्रै आन्दोलन रोकिने स्पष्ट पारेको छ ।
शिक्षकहरूको निरन्तरको आन्दोलनका कारण मुलुकभरको शैक्षिक गतिविधि प्रभावित भएको छ ।