असहाय तथा गरिब छात्रवृत्ति अक्षयकोषको १७औं साधारण सभा सम्पन्न

दुर्गा पौड्याल , ललितपुर, बैशाख ५ – असहाय तथा गरिब छात्रवृत्ति अक्षयकोषको १७औं साधारण सभा ललितपुर महानगरपालिका–१४, ताछिखेलमा सम्पन्न भएको छ। गुल्मी चन्द्रकोटको शान्तिपुरस्थित उदय स्कूलका पूर्व विद्यार्थी तथा शिक्षकहरूको पहलमा स्थापना गरिएको यस कोषले विगतदेखि आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ।

सुरुमा उदय स्कूलका लागि मात्र सीमित रहेको कोषले अहिले चन्द्रकोट गाउँपालिकाभित्रका अन्य विद्यालयमा अध्ययनरत छात्रछात्राहरूलाई समेत सहयोग पुर्‍याउन थालेको छ। यसै सन्दर्भमा सभाले आजीवन सदस्य, संस्थागत सदस्य तथा साधारण सदस्यता बढाउने निर्णय गरेको छ। सदस्यता शुल्कबाट संकलित रकम मुद्दती खातामा जम्मा गरी त्यसबाट प्राप्त ब्याजमार्फत छात्रवृत्ति वितरण गरिनेछ।

कार्यक्रम कोषकी अध्यक्ष विष्णुमति थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कोषका सचिव गोपाल थापाले कोषको स्थापना, उद्देश्य र हालसम्मका गतिविधिबारे प्रकाश पार्नुभयो। प्रमुख अतिथि हिमबहादुर क्षेत्रीले दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो भने तुलसीप्रसाद गौतमले स्वागत मन्तव्य दिनुभएको थियो।

कोषका सल्लाहकार मदनलाल पौड्यालले उदय स्कूलको स्थापना, प्रारम्भिक अवस्था तथा कोषको अवधारणा कसरी विकसित भयो भन्ने विषयमा जानकारी गराउनुभयो। संरक्षक डा. गोविन्दप्रसाद थापाले एक लाख रुपैयाँ तथा प्रमुख अतिथि क्षेत्रीले २५ हजार रुपैयाँ कोषलाई प्रदान गर्नुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथि ध्रुव सुवेदी र अर्जुन गैरेले आ–आफ्ना मन्तव्य राख्नुभएको थियो। कोषाध्यक्ष रेशमबहादुर थापाले कोषको आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो। अन्त्यमा अध्यक्ष विष्णुमति थापाले सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation