
रुपन्देहीको शुद्धोदन गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ७५ करोड ३२ लाख ८० हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बजेट गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले गाउँसभाको १८औं अधिवेशनमा प्रस्तुत गर्नुभएको थियो।बजेटमा चालु खर्चतर्फ ४२ करोड १७ लाख ११ हजार ७ सय ५५ रुपैयाँ अर्थात ५६ प्रतिशत र पूँजीगत खर्चतर्फ ३३ करोड १५ लाख ६८ हजार ७ सय ४५ रुपैयाँ अर्थात ४४ प्रतिशत विनियोजन गरिएको छ। चालुतर्फ सशर्त अनुदानको हिस्सा बढी भएकाले प्रतिशतमा केही तलमाथि देखिएको गाउँपालिकाले स्पष्ट पारेको छ।बजेटको स्रोततर्फ आन्तरिक आम्दानीबाट २ करोड २५ लाख ३९ हजार, चालु आवको नगद मौज्दातबाट १७ करोड ३१ लाख ५९ हजार, संघ तथा प्रदेश सरकारबाट राजस्व बाँडफाँडको रूपमा १३ करोड ३३ लाख ९२ हजार र विभिन्न अनुदान (सशर्त, समानीकरण, विशेष) बाट ४२ करोड ४१ लाख ९० हजार ५ सय प्राप्त हुने अनुमान गरिएको छ। गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित कर प्रणालीमा संरचनात्मक सुधार गरिने र कर प्रणालीलाई पारदर्शी, वैज्ञानिक र अनुमान योग्य बनाइ निजी क्षेत्रमैत्री वातावरण निर्माण गरिनेछ। कर छली र चुहावट नियन्त्रण गर्दै कर दर घटाइ दायरा विस्तार गर्ने, मानव स्वास्थ्य र वातावरणमा असर पार्ने वस्तुको प्रयोगलाई निरुत्साहित गर्ने, सूचना प्रविधिको प्रयोगमार्फत कर संकलन गर्ने, नदीजन्य पदार्थको ठेक्का व्यवस्थापन समयमै गरिने र गैरकर राजस्वका दर समसामयिक तथा लागत आधारित बनाइ थप राजस्व संकलनको प्रयास गरिनेछ। गाउँसभाको १८औं अधिवेशनबाट न्यायिक, विधायन र लेखा समितिका अर्धवार्षिक प्रतिवेदन प्रस्तुत, छलफल र पारित गरिएको छ। सामाजिक, आर्थिक, पूर्वाधार, वातावरण तथा सुशासनसम्बन्धी ५ वटा विषयगत समितिहरूका प्रतिवेदनहरू पनि छलफल गरी पारित गरिएका छन्।चालु आवको विनियोजन ऐनमा संशोधन प्रस्ताव पारित गरिएको छ। यस अधिवेशनमार्फत चालु आर्थिक वर्षमा तयार पारिएका १० वटा कानुनहरू अनुमोदन गरिएको छ। पहिलोपटक जिल्ला समन्वय समितिका प्रमुखको सहभागिता रहेको यो अधिवेशनमा कार्यालयको संगठन तथा व्यवस्थापन सम्बन्धी प्रतिवेदनमा संशोधन प्रस्ताव प्रस्तुत, छलफल र पारित गरिएको छ। समसामयिक विषयहरूमा छलफल गर्दै सभाको ध्यानाकर्षणसमेत गरिएको छ।