देशभर मनसुनी वायुको प्रभाव केहि स्थानमा हल्का बर्षा हुने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी प्राप्त भएको छ

आज दिउँसो पनि देशका सबै प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहने जनाइएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि महाशाखाले औँल्याएको छ । साथै, देशका उच्च–पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने देखिएको छ ।

महाशाखाले आगामी २४ घण्टा भित्र सम्भावित वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको स्पष्ट पारेको छ । शहरी तथा तराई क्षेत्रहरूमा डुबानको सम्भावना, नदी तथा खोलामा पानीको सतह बढ्ने खतरा रहेको भन्दै जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने चेतावनीसमेत दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation