
बिस्व नेपाली मिडिया प्रा.लि .द्वारा सञ्चालित
सम्पर्क ठेगाना : बुटवल -६,चांदबारी रूपन्देही
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४८६९/२०८१/०८२
प्रेस काउन्सिल सूचिकरण प्रमाणपत्र दर्ता नं:४८८२/२०१/०८२
कम्पनी दर्ताः ३४०४३८/२०८०/०८१
विज्ञापनका लागि
फोन नं: (☏) +977-9842295277
इमेल : 📧 info@vishwanepali.com
सम्पादक : बामदेव भण्डारी
संचालक तथा कार्यकारी सम्पादक : शंकर प्रसाद पोख्रेल
मार्केटिङ प्रमुख :
विश्व नेपाली डटकम नेपाली भाषाको समाचार पोर्टल हो । यो वेबसाईटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सूचना प्राविधि लगायत श्रमजीवी वर्गको पक्षमा बढी भन्दा बढी आवाज उठाउने कोशिश र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।
काठमाडौँ । नेकपा (मसाल) ले रुपन्देहीको उपचुनाव राष्ट्रिय जनमोर्चाको ब्यानरमा एक्लै भाग लिने बताएको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ असार २३ गते सोमबार प्रेसवक्तव्य जारी गर्दै मसालले सो जानकारी दिएको हो ।
नीतिगत रूपमा चुनावी तालमेल गर्ने नीतिमा कुनै फेरबदल नभएको जानकारी दिँदै मसालले स्थानीयस्तरका चुनावमा तालमेलको ढोका खुला राखेको पनि स्पष्ट पारेको छ ।
गत कालको चुनावी तालमेलको क्रममा अन्य पक्षले धोका दिएको शिक्षास्वरूप नै अहिले रुपन्देहीमा एकल रूपमा चुनावमा भाग लिन थालेको बताउँदै मसालले यो चुनावले २०८२ सालको चुनावका लागि नीतिगत आधार तयार पार्ने पनि बताएको छ ।
“रुपन्देहीमा हुन थालिरहेको चुनावमा पनि हाम्रो उद्देश्य बढीभन्दा बढी राजनीतिक भण्डाफोर गर्नु, जनताको राजनीतिक चेतना उठाउनु र जनाधारको निर्माण गर्नु नै हुनेछ” वक्तव्यमा भनिएको छ– “यद्यपि त्यसका साथ साथै जनताको बढी समर्थन प्राप्त गरेर बढीभन्दा बढी भोट प्राप्त गर्नका लागि हामीले कोसिस गर्नेछौँ ।”
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“रुपन्देहीमा छिट्टै उपचुनाव हुँदैछ । हाम्रो पार्टीले त्यो चुनावलाई उपयोग गर्ने निर्णय गरेको छ । त्यो चुनावसम्बन्धी केही नीतिगत प्रश्नबारे प्रकाश हाल्नका लागि यो वक्तव्य जारी गरिएको छ ।
योभन्दा पहिलेका दुईओटा आमचुनावमा हामीले अन्य कतिपय पक्षसित चुनावी तालमेल गरेर चुनाव लडेका थियौँ । आवश्यकताअनुसार विभिन्न राजनीतिक शक्तिसित गठबन्धनको हाम्रो नीति अहिले पनि कायम छ तर कुन बेला कुन राजनीतिक शक्तिसित गठबन्धन वा कार्यगत एकता गर्ने ? त्यो देशको कुनै बेलाको खास राजनीतिक स्थिति, आवश्यकता र बेग्लाबेग्लै राजनीतिक शक्तिसित हाम्रो कति समझदारी वा सहमति कायम हुन सक्दछ ? त्यसमाथि निर्भर गर्ने कुरा हो ।
चुनावको प्रश्नमा पनि हामीले गत कालमा कैयौँ राजनीतिक शक्तिसित चुनावी तालमेल गरेर चुनावमा भाग लिँदै आएका थियौँ तर हाम्रो पार्टीको नवौँ महाधिवेशनले आगामी चुनावलाई कसैसँग तालमेल नगरिकन चुनावको उपयोग गर्ने निर्णय गरेको छ । राष्ट्रियस्तरमा हामीले त्यस प्रकारको चुनावको नीति अपनाउने निर्णय गरेको भए पनि स्थानीय रूपमा कुनै पक्षसित विश्वसनीय समझदारी कायम हुन सकेमा चुनावी तालमेल गर्न सक्ने सम्भावनालाई हाम्रो पार्टीको नवौँ महाधिवेशनले पूरै अस्वीकार पनि गरेको छैन ।
आवश्यकताअनुसार अन्य पक्षसित चुनावी तालमेल गर्ने नीतिलाई हामीले सिद्धान्ततः नै अस्वीकार गरेका छैनौँ तर गत चुनावमा हामीले चुनावी तालमेल गरेका अन्य विभिन्न पक्षले इमानदारिता नदेखाएको वा अन्तर्घात गरेको हुनाले नै हामीले मुख्य रूपले चुनावलाई एक्लै उपयोग गर्ने नीति अपनाउने निर्णय गरेका हौँ ।
हामीले चुनावी तालमेलमा भएको सहमतिलाई इमानदारीपूर्वक पालना गरेका थियौँ र चुनाव लड्ने राम्रो सम्भावना भएका स्थानमा पनि हामीले आफ्ना उम्मेदवारलाई उठाएनौँ वा अन्य उम्मेदवारलाई समर्थन गर्ने कार्य गऱ्यौँ तर अन्य कतिपय पक्षले त्यस प्रकारको इमानदारिता देखाएनन् । अन्तर्घात गरे वा सहमति भएका उम्मेदवारका विरुद्ध विद्रोही उम्मेदवार उठाउनेसमेत काम गरे । त्यो स्थितिले बाध्य भएर नै हामीले आगामी चुनावलाई एक्लै उपयोग गर्ने निर्णय गरेका छौँ । त्यही नीतिअनुसार रूपन्देहीको उपचुनावलाई पनि हामीले एक्लै उपयोग गर्ने नीति अपनाउनेछौँ ।
हाम्रो पार्टीको लागि चुनाव उपयोगको अर्थ राजनीतिक भण्डाफोर गर्नु, जनताको चेतना उठाउनु वा जनाधार तयार पार्नु नै हो । २०८४ मा चुनावको उपयोग गर्दा पनि ती उद्देश्य पूरा गर्नु नै हाम्रो मुख्य प्राथमिकता हुनेछ । अहिलेको रूपन्देहीको चुनावले २०८४ को चुनावका लागि पनि नीतिगत आधार तयार पार्नेछ भन्ने हामीलाई विश्वास छ ।
गतकालमा जुन पक्षसित हामीले चुनावी तालमेल गरेका थियौँ, त्यस प्रकारको तालमेल सिद्धान्तहीन वा अराजनीतिक प्रकारले सौदाबाजी गरेर हामीले कहिल्यै पनि कसैसित तालमेल गरेका थिएनौँ र भविष्यमा पनि हाम्रो त्यो नीति कायम रहनेछ । हाम्रो चुनावी तालमेलको आधार कुनै बेला वामपन्थीका बिचको एकता हुन्थ्यो भने कुनै बेला प्रतिगमनका विरुद्ध सङ्घर्षका लागि नै एकता हुन्थ्यो । खालि चुनावमा सफलताका लागि नै हामीले कहिल्यै चुनावी तालमेल गरेका थिएनौँ यद्यपि कुनै चुनावलाई उपयोग गर्नुको अर्थ बढीभन्दा बढी भोट वा सफलता प्राप्त गर्नु पनि हुन्छ ।
रुपन्देहीमा हुन थालिरहेको चुनावमा पनि हाम्रो उद्देश्य बढीभन्दा बढी राजनीतिक भण्डाफोर गर्नु, जनताको राजनीतिक चेतना उठाउनु र जनाधारको निर्माण गर्नु नै हुनेछ यद्यपि त्यसका साथ साथै जनताको बढी समर्थन प्राप्त गरेर बढीभन्दा बढी भोट प्राप्त गर्नका लागि हामीले कोसिस गर्नेछौँ । रुपन्देहीमा उपचुनावको उपयोगको सिलसिलामा ती उद्देश्य पूरा गर्नको लागि बढीभन्दा बढी ध्यान दिन हामीले आफ्नो पार्टी, मोर्चा वा जनवर्गीय सङ्गठनका कार्यकर्ता, समर्थक र जनतासित पनि अपिल गर्दछौँ ।”