नेतृत्व, पपुलारिजम र यसको वास्तविकता

गणेश आचार्य

आजको विश्व राजनीति हेर्दा हामी एउटा यस्तो युगमा बाँचिरहेका छौं जहाँ लोकप्रियता र नेतृत्वबीचको सीमाना निकै धमिलो हुँदै गएको छ। लोकतान्त्रिक प्रणालीको सुन्दर पक्ष भनेकै जनताको मतद्वारा नेताहरूको छनोट हो, तर विडम्बना के छ भने कतिपय नेताहरू जनताको भावना र भीडलाई उक्साएर, जिम्मेवारीभन्दा बढी लोकप्रियता खोज्ने होडमा छन्। यहाँ उठ्छ गम्भीर प्रश्न: राजनीतिक नेतृत्व के केवल लोकप्रियताको खेल हो त, या त्यो जिम्मेवारी र नीतिगत दृढतामा आधारित हुनुपर्छ?

राजनीतिक नेतृत्व केवल भाषण दिने वा मानिसहरूलाई ताली पिटाउने कुरा होइन। यो एउटा ठूलो जिम्मेवारी हो जसले राष्ट्रको भविष्यलाई प्रभाव पार्छ। नेतृत्व त्यस्तो शक्ति हो जसले समाजलाई दिशा दिन्छ, समस्या समाधान गर्छ, नीति निर्माण गर्छ, र कठिन परिस्थितिमा जनतालाई एकजुट राख्छ। नेतृत्वले विकासका योजना ल्याउनुपर्छ, सामाजिक समानता स्थापित गर्नुपर्छ, र संविधानले दिएका अधिकारहरू सबैले पाउने सुनिश्चित गर्नुपर्छ। तर जब नेतृत्वको मर्म बुझ्नुको साटो नेताहरू केवल भीड जम्मा गर्न, ‘भोट बैंक’ बनाउन वा सामाजिक सञ्जालमा ट्रेन्डिङ बन्न चाहन्छन्, तब त्यो नेतृत्व होइन, पपुलारिजम हो।

पपुलारिजमले नेताहरूलाई छोटो समयमा लोकप्रिय बनाउँछ, तर दीर्घकालीन असरमा त्यो खतरनाक हुन्छ। पपुलारिजममा नेताहरूले भावनात्मक, अक्सर अतिवादी र कट्टर वक्तव्य प्रयोग गरेर जनतालाई आकर्षित गर्छन्। यसले तथ्यभन्दा भावना र उत्तेजनालाई प्राथमिकता दिन्छ। यसले जनतामा झूटा आशा जगाउँछ, विभाजनको राजनीति गर्छ, र मूल समस्याबाट ध्यान हटाउँछ। इतिहासमा थुप्रै यस्ता उदाहरण छन् जहाँ पपुलर नेताहरूले देशलाई पतनतर्फ लैजाने काम गरेका छन्।

उदाहरणका लागि, २०औं शताब्दीमा विश्वका केही देशहरूमा पपुलार नेताहरूले अल्पकालीन लोकप्रियता पाए पनि दीर्घकालीन रूपमा सामाजिक द्वन्द्व, आर्थिक पतन, र मानवअधिकार उल्लंघन निम्त्याए। यस्ता नेताहरूले जनताको भावना उठाएर आफ्नो स्वार्थ पूरा गरे, तर राष्ट्रलाई विनाशको दिशामा लैजान पुग्यो।

नेतृत्व भनेको उत्तरदायित्व हो, जहाँ जनतालाई केवल मन पर्ने कुरा गर्नु हुँदैन; कहिलेकाहीँ कठोर निर्णय लिनु पर्छ, जुन अल्पकालीन लोकप्रियता घटाउन सक्छ तर दीर्घकालीन रूपमा राष्ट्रलाई समृद्ध बनाउँछ। उदाहरणका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, वातावरणीय संरक्षणका कडा नीति आवश्यक छन् तर तत्कालमा मतदाता असन्तुष्ट हुन सक्छन्। जिम्मेवार नेताहरूले यस्ता चुनौतीहरू सामना गर्ने साहस देखाउनुपर्छ।

हालका धेरै नेताहरू आलोचना वा कठिन निर्णयहरूबाट डराउँछन्। उनीहरूले अलोकप्रिय नीति लागु गर्न डराउँछन्, चाहे ती नीति दीर्घकालीन रूपमा राष्ट्रको हितमा किन नहोस्। यसले नेतृत्वलाई कमजोर बनाउँछ र देशमा अस्थिरता बढाउँछ।

पपुलारिजमले नेतृत्वको परिभाषालाई विकृत बनाइरहेको छ। पपुलर नेताहरू, विशेष गरी सामाजिक सञ्जालमा सक्रिय, भावनात्मक अभिव्यक्ति, भाषण र राष्ट्रवादका नारा मार्फत भीड खिच्न सफल हुन्छन्। उनीहरूको प्राथमिक उद्देश्य नीति होइन, प्रभाव हो। यस्तो प्रवृत्तिले योग्य, इमानदार र दूरदर्शी नेतृत्वलाई पृष्ठभूमिमा धकेल्ने खतरा पैदा गर्छ। जब नेताहरू जनतालाई भड्काउने भाषणमार्फत विभाजन र द्वन्द्व फैलाउँछन्, त्यसले देशको सामाजिक र राजनीतिक स्थिरता संकटमा पार्दछ।

यो मात्र होइन, पपुलारिजमले प्रायः अल्पज्ञान र गलत सूचना फैलाउँछ, जसले जनतालाई भ्रमित पार्छ र लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाउँछ। जब नेताहरू जनतालाई भावनात्मक अपीलका आधारमा मात्र प्रभावित पार्छन्, तब नीति र तथ्यका आधारमा विवेकपूर्ण निर्णय गर्न सक्ने वातावरण तयार हुँदैन। यसले लामो समयसम्म लोकतन्त्रलाई कमजोर पार्न सक्छ।

राजनीतिक नेतृत्वको साँचो मर्म भनेको जनताको विश्वास जित्नु हो, जुन केवल भाषण वा लोकप्रियताबाट होइन, ईमानदारी, कडा मेहनत, नीतिगत स्पष्टता र जवाफदेहिताबाट प्राप्त हुन्छ। जिम्मेवार नेतृत्वले सबै वर्ग र समुदायका अधिकार र हितलाई समान रूपमा समेट्नुपर्छ, कुनै एक वर्ग वा समूहलाई मात्र होइन।

जनताले पनि चेतनशील बन्न आवश्यक छ। हामीले केवल राम्रो बोल्ने, भावनात्मक भाषण दिने नेता हेरेर मत दिनु हुँदैन। हामीले हेर्नुपर्छ कि नेता कति जिम्मेवार छन्, विगतमा कस्तो निर्णय लिएका छन्, नीतिगत स्पष्टता कति छ, र मात्र आलोचना होइन समाधान पनि दिन सक्छन् कि सक्दैनन्। सचेत मतदाता नै लोकतन्त्रको आधार हो।

सञ्चार माध्यम, शैक्षिक संस्था, र नागरिक समाजको भूमिका पनि यहाँ महत्वपूर्ण हुन्छ। जबसम्म जनतालाई राजनीति र नीति निर्माणबारे सशक्त जानकारी दिइँदैन, तबसम्म पपुलर नेताहरूले झूट र उग्र राष्ट्रवादका नारा मार्फत जनमत उचाल्न सक्नेछन्। सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूको भूमिकालाई सकारात्मक तवरले प्रयोग गर्न जरुरी छ ताकि सत्य तथ्यलाई जनतासम्म पुर्‍याउन सकियोस्।

राजनीतिक नेतृत्व एउटा ठूलो जिम्मेवारी हो — केवल पद वा लोकप्रियताको होड होइन। नेताहरूले मात्र चर्चित हुनु हुँदैन, सक्षम, इमानदार, र जवाफदेही हुनुपर्छ। पपुलारिजमले अल्पकालीन सफलताको भ्रम दिन सक्छ, तर त्यो दीर्घकालीन संकटतर्फ लैजान सक्छ। त्यसैले हामी सबै — नागरिक, बुद्धिजीवी, मिडिया र नेतृत्वकर्ताहरू — मिलेर भन्न जरुरी छ: “राजनीतिक नेतृत्व र जिम्मेवारी बहन गर्ने कुरालाई कसैले पपुलारिजमको विषय बनाउनु हुँदैन।”

राष्ट्रिय नेतृत्वको मूल्यांकन भाषण वा लोकप्रियताबाट होइन, कार्यबाट गरिनुपर्छ। केवल लोकप्रिय नभएर, जिम्मेवार नेतृत्व नै राष्ट्र निर्माणको मेरुदण्ड हो।

अन्त्यमा, नेतृत्व त्यो पद होइन जुन सजिलै प्राप्त हुन्छ; यो त्यस्तो जिम्मेवारी हो जुन जीवनभर निभाउनु पर्छ। यसले देशको विकास, स्थिरता र प्रगतिको मार्गनिर्देशन गर्छ। हामी सबैले मिलेर जिम्मेवार नेतृत्व र विवेकपूर्ण मतदाताको संस्कृतिलाई बढावा दिन आवश्यक छ, ताकि हाम्रो राष्ट्र समृद्ध, प्रगतिशील र न्यायपूर्ण बनोस्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation