माक्र्सवाद र राज्यसत्ताको प्रश्न?

सन्तबहादुर नेपाली

कार्ल माक्र्सको जन्म १८१८ मे ५ मा राइन प्रान्तको त्रियेर नगरमा भएको थियो । राइन जर्मनीको एउटा प्रान्त भए पनि फ्रान्सको नजिक अवस्थित थियो । राइन प्रदेश प्रसामा पर्दथ्यो । फ्रान्सको नजिक रहेको हुँदा राइनमा फ्रान्सिसी क्रान्तिको त्यहाँ पर्याप्त प्रभाव परेको थियो । बाबु हेनरिक माक्र्स कानुनका ज्ञाता थिए । आमा हेनरियटा माक्र्स, जो हल्यान्डमा जन्मेकी थिइन्, एउटा साधारण परिवारकी थिइन् । यिनै आमाबाट पाँच छोराहरू जन्म लिएका थिए । जेठा छोरा मोरिस डेभिडको अल्पायुमै मृत्यु भयो । त्यसपछि माक्र्स नै सबैभन्दा जेठा छोरा हुन गए । माक्र्सको परिवार एउटा सुसंस्कृत परिवार थियो । माक्र्सका बाबु वकिल भएर पनि ज्यादै भद्र व्यक्ति थिए । माक्र्सकै भनाइमा “उनी निश्चल चरित्र तथा कानुनको क्षेत्रमा विशेष प्रतिभाका धनी” थिए ।
माक्र्सले आफ्नो प्रारम्भिक शिक्षा त्रियेरमा नै प्राप्त गर्नु भएको थियो । उहाँ उच्च शिक्षाका लागि १८३५ अक्टोबरमा कानुन विषयमा अध्ययनका लागि भर्ना हुनु भयो । एक वर्षसम्म बोन विश्वविद्यालयमा अध्ययन गरिसकेपछि उहाँ बर्लिन विश्वविद्यालयमा अध्ययनका लागि भर्ना हुनु भयो । माक्र्सको विवाह जेनी फान बेस्टफालेनसित भएको थियो । जेनी एउटा उच्च खानदान र धनी परिवारकी छोरी थिइन् ।
राइन प्रान्तमाथि प्रसाकोे कब्जा भएपछि त्यहाँको सामन्ती निरङ्कुशताको क्रियाकलापलाई माक्र्सले नजिकबाट हेर्नु भएको थियो । सामन्ती तत्वहरूका विरुद्ध नयाँ पुँजीवादी शक्तिहरूको उदय भइरहेको थियो । अध्ययन मण्डल सङ्गठित भइरहेका थिए । फ्रान्सेली क्रान्तिको असरले गर्दा त्यहाँको राजनीतिक वातावरण उथलपुथलपूर्ण थियो । यी सबै कुराको प्रभाव माक्र्समा परेको थियो । त्यतिबेला हेगेलको द्वन्द्ववादको बारेमा व्यापक चर्चा थियो । हेगेलले प्रकृति र सामाजिक घटनालाई उत्पत्ति, विकास र विनासलाई द्वन्द्ववादका आधारमा हेर्ने र बुझ्ने कुरा उठाए । हेगेलको द्वन्द्ववादमा वस्तु आफैमा स्वतन्त्र नभएर आत्मा (इश्वर) निर्णायक तत्व हुन्छ भन्ने व्याख्या गरिएको थियो । तर हेगेलको विचारमा के कुरा महत्वपूर्ण थियो भने उनले हरेक वस्तुमा विपरीत तत्वहरू हुन्छन् र विपरीत तत्वहरूबीचको द्वन्द्वका कारण वस्तुको विकास हुन्छ भन्ने सिद्धान्त प्रतिपादन गरेका थिए । यो विषय सम्पूर्ण जीव जगत, समाज तथा प्राकृतिक घटनामा लागु हुन्छ । यही विचारका कारण अन्य युवा जमात, जस्तै– माक्र्स पनि हेगेलबाट प्रभावित हुनु हुन्थ्यो । तर अध्ययनकै दौरानमा माक्र्सले हेगेलमा भौतिकवादी चिन्ताको अभाव देख्नु भयो । माक्र्सले हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवादलाई मिलाउनु भयो । माक्र्सले द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त प्रतिपादन गरेर दर्शनको क्षेत्रमा नयाँ र उच्च प्रकारको वैज्ञानिक मान्यता स्थापित गर्नु भयो । दर्शनको क्षेत्रमा गरेको यो नयाँ खोजले मजदुर आन्दोलनलाई नयाँ दिशा प्राप्त भयो । माक्र्सको दर्शनको क्षेत्रमा प्राप्त नयाँ खोजले मजदुर वर्गका लागि पुँजीपति वर्गको राज्यसत्ता ध्वस्त पारेर सर्वहारा वर्गको राज्यसत्ता कायम गर्न वैज्ञानिक तथा सैद्धान्तिक आधार प्राप्त भयो ।
दर्शनको क्षेत्रमा मात्र होइन, राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक सबै क्षेत्रमा माक्र्सले मानव जातिलाई नयाँ ज्ञान र विचार दिनु भयो । माक्र्स र एङ्गेल्स मिलेर १८४८ मा कम्युनिस्ट घोषणा पत्र तयार पार्नु भयो, जुन दस्तावेजले संसारभरिका मजदुरलाई राज्यसत्ताको मालिक बन्ने बाटो प्रशस्त गरेको छ । माक्र्सद्वारा लिखित ‘पुँजी’ ले पुँजीपतिद्वारा गरिएको शोषणको पर्दाफास गर्न पुग्यो र त्यसले मजदुर वर्गलाई आफ्नो हक खोस्नका निम्ति अदम्य साहस पैदा गर्न सफल भयो । ऐतिहासिक भैतिकवादका आधारमा मानव समाजको विकासलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणका आधारमा विश्लेषण गरेर भावी समाजको चित्र निरूपण गर्नु भयो । वैज्ञानिक समाजवाद र अर्थशास्त्रका महत्वपूर्ण सिद्धान्त प्रतिपादन गर्नु भयो । संसारलाई नै परिवर्तनको बाटो मात्र होइन, सर्वहारा वर्ग तथा सम्पूर्ण मानव जातिको मुक्तिको बाटो देखाउने यी महान युगपुरुष १४ मार्च १८८३ मा घरैमा आराम कुर्सीमा बसेकै अवस्थामा संसारबाट विदा लिनु भयो ।
माक्र्सको मृत्युभन्दा अगाडि नै २ डिसेम्बर १८८१ मा माक्र्सकी पत्नी जेनीको मृत्यु भइसकेको थियो । उहाँले प्रकाशन गर्न नसकेका र अधुरा कृतिलाई समेत पुरा गरेर प्रकाशित गर्ने काम माक्र्सको मृत्युपछि उहाँका अनन्य मित्र तथा दार्शनिक फेडरिक एङ्गेल्सले गर्नु भयो । माक्र्सले जे जति काम गर्न सक्नु भयो, त्यसमा एङ्गेल्सको सहयोगको ठुलो देन रहेको छ । एङ्गेल्सले जीवनभरि माक्र्सलाई सबै प्रकारको सहयोग गर्नु भयो । माक्र्सले विभिन्न क्षेत्रमा प्रकट गरेका विचारमध्ये राज्यसत्तासम्बन्धी विचारका बारेमा छलफल गर्ने यो लेखको उद्देश्य रहेको छ ।
राज्यसत्ता के हो ? राज्यसत्ताको निर्माण कसरी भयो ? भन्ने विषयमा विभिन्न विचार देखा परिरहेका छन् । अध्यात्मवादीहरू राज्यसत्तालाई इश्वरीय देन मान्दछन् । राजा÷महाराजालाई पृथ्वीका जनतामाथि शासन गर्न पठाइएको हुन्छ । उनीहरूको काम जनताको सुरक्षा गर्नु हो । राज्यसत्तामाथि कहीँ कतैबाट आक्रमण हुन्छ भने त्यसका विरुद्ध प्रत्याक्रमण गरेर राज्यलाई जोगाउने काम राजा÷महाराजाको हो । हाम्रो देशका पौराणिक कथाहरूले पनि त्यो कुराको पुष्टि गर्छन् । यस प्रकारका परम्परागत विश्वासलाई विश्वका धेरै मुलुकले मान्दै आएको पाइन्छ । तर पछिल्लो कालमा राज्यसम्बन्धी अवधारणामा परिवर्तन आउन थाल्यो । माक्र्स र एङ्गेल्सले राज्यसत्तासम्बन्धी वैज्ञानिक मान्यता अगाडि सार्नु भयो । उहाँहरूले राज्यसत्तासम्बन्धी वर्गीय अवधारणाका आधारमा वर्गसङ्घर्षसित जोडिएको विषय बताउनु भयो र उहाँहरूले राज्यसत्तालाई एउटा वर्गले अर्को वर्गलाई दमन गर्ने संयन्त्र बताउनु भयो ।
एङ्गेल्सले “परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति” मा राज्यसत्ताको निर्माणमा, खास गरेर मानव समाजको जुन विकास हुँदै आएको छ, त्यस सिलसिलामा राज्यको पनि विकास हुँदै आएको बताउनु भएको छ । एङ्गेल्स लेख्नु हुन्छ– “अब खालि एउटा चिजको आवश्यकता थियो, यस्तो संस्थाको, जसले न केवल अलग अलग व्यक्तिहरूले नयाँ हासिल गरेको सम्पत्तिलाई गोत्र–व्यवस्थाको पुरानो सामुदायिक परम्परालाई बचाउन सकोस्, जुन निजी स्वामित्वलाई, जसको पहिले त्यति प्रतिष्ठा थिएन, न केवल पवित्र करार देओस् र यस पवित्रतालाई मानव समाजको चरम घोषित लक्ष्य घोषित गरी देओस्, बरु जुन सम्पत्ति प्राप्त गर्न र यसकारण धनदौलतलाई लगातार बढाइरहनका लागि नयाँ र विकसित भइरहेका तरिकामाथि सार्वजनिक मान्यताको मोहर लगाइदेओस्, यस्तो संस्थाको, जुन न केवल समाजको नवजात वर्ग विभाजनलाई, बरु सम्पत्तिवान वर्गद्वारा सम्पत्तिहीन वर्गलाई शोषण गर्ने अधिकारलाई र सम्पत्तिविहीन वर्गमाथि सम्पत्तिवान वर्गको शासनलाई पनि स्थायी बनाइदेओस् र यस्तो संस्था पनि आइपुग्यो । राज्यको आविष्कार भयो ।” एङ्गेल्सको यो भनाइ अनुसार धनी वर्गद्वारा गरिब वर्गलाई शोषण गर्ने अधिकार राज्यले दिएको हुन्छ । धनी वर्गको गरिब वर्गमाथि शासनलाई स्थायी बनाउने काम राज्यले गरेको हुन्छ ।
एङ्गेल्स लेख्नु हुन्छ– “हामीले देखिसकेका छौँ कि राज्यको एउटा आवश्यक गुण यो छ कि त्यो (राज्यसत्ता) एउटा यस्तो सार्वजनिक सत्ता हो, जो आम जनताबाट अलग हुन्छ ।” उहाँ लेख्नु हुन्छ– “एथेन्समा एउटा जनमिलिसिया थियो । त्यो सेनाले बाहिरी दुश्मनसित देशको रक्षा गथ्र्यो, बहुसङ्ख्यक दासहरूमाथि अङ्कुश लगाउँथ्यो ।” यसरी एङ्गेल्सले राज्यसत्तालाई दमनको यन्त्र हो भन्ने कुरा तथ्यहरूद्धारा प्रस्तुत गरेर पुष्टि गर्नु भएको छ । लेनिनले माक्र्स र एङ्गेल्सको राज्यसत्तासम्बन्धी विचारलाई अझै व्याख्या गर्दै लेख्नु हुन्छ– “राज्य भनेको शक्तिको विशेष सङ्गठन हो, कुनै वर्गलाई दबाउनका निम्ति बल प्रयोगको सङ्गठन हो । सर्वहारा वर्गले कुन वर्गलाई दबाउन जरुरी छ ? अवश्यमेव, केवल शोषक वर्गलाई अर्थात् पुँजीजीवी वर्गलाई घ् सर्वहारा वर्गलाई शोषकहरूको प्रतिकार दबाउनका निम्ति मात्र राज्यको आवश्यकता छ” (राज्य र क्रान्ति, पृ. ३२) ।
राज्यको उत्पत्ति वर्ग अन्तर्विरोधको विकासको साथसाथै भएको छ । जुन निजी सम्पत्तिको प्रारम्भ भयो, निजी सम्पत्तिका कारण धनी र निर्धनबीच द्वन्द्व उत्पन्न भयो, राज्यले त्यो द्वन्द्वको समाधान गरिदियो । धनी वर्गलाई राज्यले संरक्षण गर्यो । तब गएर पुँजीको निर्वाध विकास हुन थाल्यो । यसरी यो लेनिनले भने जस्तै “यो समाजको उपज हो, विकासको एउटा निश्चित अवथामा पैदा हुन्छ” (लेनिन, उही) ।
शोषक वर्गले आफ्नो वर्गको हित र स्वार्थका निम्ति राज्यसत्ता निर्माण गरेको हुन्छ । राज्यसत्ता सेना, प्रहरी, जेल, अदालत, कानुनद्वारा टिकेको हुन्छ । राज्यसत्ताको संरक्षण र आड–भरोसामा नै शोषक वर्ग, चाहे त्यो सामन्त वर्ग होस् वा पुँजीपति वर्ग, ले आफ्नो शोषणलाई निरन्तरता दिन सकेको हुन्छ । यो अवस्थामा सर्वहारा वर्गले राज्यसत्तामाथि कब्जा गर्नका लागि सानो शक्तिले हुँदैन, राज्यसत्ताका सबै संयन्त्रलाई चकनाचुर पार्ने प्रकारले शक्ति वा बल प्रयोग गर्नु पर्दछ । कम्युनिस्ट घोषणा पत्रमा माक्र्स÷एङ्गेल्सले लेख्नु भएको छ– “मजदुर वर्गले राज्यसत्ताको बनिबनाउ यन्त्रलाई कब्जा गरेर आफ्नो निजी उद्देश्य पूर्तिका लागि जस्ताको त्यस्तै त्यसको उपयोग गर्न सक्दैन ।” राज्यसत्तालाई कब्जा गर्नुले मात्र सर्वहारा वर्गको उद्देश्य पुरा हुन सक्दैन भन्ने माक्र्सको विचार थियो । १८७१ मार्चमा पेरिसमा विद्रोह भयो । त्यो विद्रोहलाई माक्र्सले “पेरिसका मजदुरहरूलाई सरकार पल्टाउने प्रयास अधैर्यतापूर्ण मूर्खता हुनेछ भन्ने पुष्टि गर्दै कडा चेतावनी दिनुभएको थियो । जब विद्रोहले पनि वास्तविकताको रूप लिइसकेको थियो, त्यसबेला माक्र्सले नराम्रा लक्षण मौजुद हुँदाहुँदै पनि अत्यन्तै उमङ्गका साथ सर्वहारा क्रान्तिको स्वागत गर्नु भयो” (लेनिन उही) ।
त्यसैबेला १८७१ अप्रिलमा माक्र्सले कुगेलमानलाई, जो उनका मित्र पनि थिए, पत्र लेखेर भन्नु भएको थियो– “यदि तिमीले मेरो ‘अठारौँ बु्रमेर’ मा अन्तिम नजर लगायौँ भने त्यसमा लेखेको तिमी देख्नेछौ कि फ्रान्सेली क्रान्तिको अर्को कदम नोकरशाही सामरिक यन्त्र एक हातले अर्को हातमा सुम्पिदिने मात्र होइन, बरु त्यसलाई नष्ट गर्ने हुनुपर्दछ ।” पेरिसमा इतिहासमा पहिलो पल्ट मजदुरले सत्ता कब्जा गरेका थिए । तर राज्यसत्ताका सम्पूर्ण अङ्गमा कब्जा जमाउनेबारे पूर्व चेतना नभएका कारण बहत्तर दिनमा प्रतिक्रान्ति हुन गयो । पुरानो राज्ययन्त्रलाई नष्ट गर्नुको कुनै विकल्प छैन भन्ने कुरा विश्वभरिका क्रान्तिकारीहरूले ठुलो शिक्षा लिए । पेरिसमा पाएको ठक्करबाट शिक्षा लिँदै रसियाली मजदुर वर्गले लेनिनको नेतृत्वमा स्थायी प्रकारको आफ्नै सेना निर्माण गरे । लाखौँलाख मजदुरहरू सैनिक सेवा गर्न तयार भए । रसियाली बहादुर मजदुरको सेनाले अन्ततः १९१७ को अक्टोबर क्रान्ति सफल पार्यो र विश्वमा पहिलो मजदुर वर्गको राज्यसत्ता स्थापना गर्यो । राज्य स्थापना गर्नु मात्र महत्वपूर्ण काम थिएन, त्यसलाई आन्तरिक तथा बाहिरी दुश्मन शक्तिहरूसित लेनिन र स्तालिनको नेतृत्वमा बहादुरीपूर्वक लडेर सर्वहारा राज्यसत्तालाई बचाउने काम गरे । यो कम चुनौतीपूर्ण काम थिएन । त्यसरी नै स्तालिनको ओजस्वी नेतृत्वमा रसियाली मजदुर र किसानले समाजवादलाई ४० वर्षसम्म टिकाउन सफल भए । तर पार्टीभित्रका पुँजीवादी तत्वसितको सङ्घर्षलाई बेवास्ता गर्दा पार्टीभित्रैबाट दक्षिणपन्थी संशोधनवादीले सर्वहारा समाजवादी राज्य व्यवस्थामाथि ठुलो विश्वासघात गरे । १९५६ को बिसौँ पार्टी काङ्ग्रेसमा ख्रुश्चेभले स्तालिनको विरोध गर्ने नाममा समाजवादी नीति र सिद्धान्तलाई नै परिवर्तन गरी बुर्जुवा राज्यव्यवस्था कायम गर्यो ।
राज्यसत्ता वर्गीय हुन्छ भन्ने कुरामाथि नै चर्चा भइसकेको छ । जुन वर्गको हातमा राज्यसत्ता हुन्छ, त्यो वर्गले अन्य वर्गलाई दमन गरेर मात्र टिक्न सक्छ । एउटा वर्गले अर्को वर्गलाई दबाउने सङ्गठित शक्ति राज्यसत्ता हो । राज्यसत्ता एउटा वर्गले अर्को वर्गबाट खोस्दा शान्तिपूर्ण तरिकाले सम्भव छैन । माक्र्सले अहिलेसम्मको इतिहासलाई वर्गसङ्घर्षको इतिहास बताउनु भएको छ । माओत्सेतुङले पनि “राजनीतिक सत्ता बन्दुकको नालबाट जन्मन्छ” भन्नु भएको छ । उहाँले सर्वहाराका निम्ति राज्यसत्ता बाहेक अरू सबै भ्रम हो भन्नु भएको छ । त्यसकारण सर्वहारा वर्गले सञ्चालन गर्ने वैधानिक वा अवैधानिक सङ्घर्षको केन्द्रीय प्रश्न राज्यसत्ता कब्जा गर्नु नै हुन्छ । सर्वहारा वर्ग एक्लैले त्यो कार्यभार पुरा गर्न सक्दैन । उसले अन्य सामन्तवाद, साम्राज्यवाद वा पुँजीवाद विरोधी शक्तिलाई साथमा लिन सक्नु पर्छ । राज्यसत्ता प्राप्त गर्नका लागि कुन बेला कसरी क्रान्ति थाल्ने भन्ने प्रश्नलाई कुनै पनि देशका क्रान्तिकारीहरूले निरपेक्ष वा यान्त्रिक रूपले प्रयोग गर्नु सही हुँदैन । बेग्लाबेग्लै देशका आर्थिक, सामाजिक, राजनैतिक अवस्थाहरू फरक हुन्छन् । त्यसकारण कम्युनिस्ट क्रान्तिकारीहरूले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर क्रान्तिकारी नीतिलाई सिर्जनात्मक ढङ्गले प्रयोग गर्नु पर्ने आवश्यकता छ । लेनिनले भन्नु भएको छ– “प्रत्येक क्रान्तिको आधारभूत सवाल सत्ताको सवाल हो ।” स्तालिन भन्नु हुन्छ– “सत्ता कब्जा त क्रान्तिको सुरुवात मात्र हो । एउटा मुलुकमा सत्ताबाट फ्याँकिएको पुँजीपति वर्ग विभिन्न कारणहरूले गर्दा लामो समयसम्म आफूलाई फाल्ने सर्वहारा वर्गभन्दा बलियो रहन्छ । तसर्थ मुख्य कुरो हो– सत्ता कायम राख्नु, त्यसलाई सुदृढ पार्नु, त्यसलाई अजेय बनाउनु” (लेनिनवादका आधारहरू पृ. ३३) ।
अहिले विश्वमा पुँजीवादी व्यवस्थामाथि आएको आर्थिक सङ्कटले के बताउँछ भने पुँजीवाद गम्भीर सङ्कटको दिशामा फस्दै गएको छ । स्वयं पुँजीवादी देशहरूभित्र द्वन्द्व चर्किरहेको छ । पुँजीवादले जनताको हित संरक्षण वर्ग सक्दैन नै, स्वयं पुँजीवादले अब आफूलाई पनि बचाउन सक्दैन । पुँजीवादमा आएको सङ्कटले त्यसको गर्भमा हुर्कदै गएको मजदुर वर्ग, क्रान्तिकारी वर्ग अवश्यमेव जन्मन्छ र त्यो क्रान्तिकारी वर्गले पुँजीवाद र त्यसको रक्षक पुँजीवादी राज्यसत्तालाई ध्वस्त पारेर सर्वहारा राज्यसत्ता स्थापना गर्छ । राज्यसत्ता स्थापना मात्र गर्दैन, पहिलेका अनुभवबाट पाठ सिक्दै राज्यसत्तालाई कहिल्यै हातबाट नउम्कने गरी सञ्चालन पनि गर्छ । यो सार्वभौम सत्य हो । तर आज मजदुर वर्ग अर्थात् कम्युनिस्ट क्रान्तिकारीहरू कमजोर हुनुमा त्यो वर्गभित्रका छद्य पुँजीवादी अथवा दक्षिणपन्थी संशोधनवादी, जसले समाजवादमा शान्तिपूर्ण रूपान्तरणको वा पुँजीपति वर्गले सजिलोसित सर्वहारा वर्गलाई राज्यसत्ता दिनेछन् भनेर सपना देखिरहेका हुन्छन् वा देखाउन खोजिरहेका छन्, तिनीहरूले क्रान्तिकारी मजदुर वर्गमाथि विश्वासघात गर्नुले गर्दा हो, जसलाई क्रान्तिकारीले समयमै चिन्न नसक्नुले पनि हो । विश्वभरि तथा स्वयं हाम्रै देशमा पनि क्रान्तिकारी कम्युनिस्टहरू माक्र्सवादी–लेनिनवादी शिक्षाको आलोकमा यति दीक्षित भइसकेका छन् कि माक्र्सवाद र संशोधनवादलाई सजिलैसित केलाउन सक्छन् । सिद्धान्तलाई व्यवहारको कसीमा जाँच्न सक्छन् । माक्र्सवादी समाज विज्ञानलाई बुझ्न नसक्ने, पुँजीवादबाटै सर्वहारा जनताले अधिकार पाउँछन् भन्ने सोच राख्ने संशोधनवादी समाजवादको भविष्य देख्दैनन् । तर क्रान्तिकारी सर्वहारा वर्गको राज्यसत्ता स्थापना हुने कुरामा कुनै भ्रम पालेका हुदैनन् ।
आज विश्वमा संशोधनवाद हावी भएको छ । सर्वहारावर्गको राज्यसत्ता छैन । सर्वहारा क्रान्तिकारी रक्षात्मक अवस्थामा खुम्चिनु परेको छ । तर विश्वको भौतिक परिस्थिति क्रान्तिकारी परिवर्तनको विस्फोटको नजिक पुगिसकेको छ । पुँजीवादी राज्यसत्तामाथिको सङ्कटका कारणले सर्वहारा वर्गका लागि क्रान्तिकारी आधार निर्माण हुने दिशामा विश्व अगाडि बढेको छ र सर्वहारा वर्गको राज्य स्थापनाको भविष्य उज्जवल छ । माक्र्सले भने झैँ पुँजीवादको पतन र समाजवादको जित अवश्यम्भावी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation