चेतना जागरणमा लोक साहित्यको भूमिका

 चित्रबहादुर केसी

संसारभरि आफ्नो भनाइ वा विचारलाई समाजलाई बुझाउनका लागि लोक साहित्यको प्रयोग हुन्छ । लोक साहित्य मानव सभ्यताको संस्कार र कार्यव्यवहारको रूपमा व्यक्त हुँदै आएका विभिन्न पक्षहरूको साहित्यिक अभिव्यक्ति हो । लोकगीत, उखानटुक्का, लोककथा, लोकगाथा, लोक कविता, गाउँखाने कथा, लोकनाटक आदि विभिन्न रूपमा लोक साहित्य व्यक्त हुँदै आएको छ । लोकसाहित्य आमजनताको पहुँचमा रहेको हुन्छ । यो जीवनसंस्कार, मृत्युसंस्कार, विवाहसंस्कार, कृषि कार्य, मेलापात, बनपाखा आदि स्थानहरूमा स्वतःस्फूर्त व्यक्त भइरहेको हुन्छ । समयसन्दर्भ मिलाएर गाइने लोकगीत, दोहोरी, गाइने, घाँसे, असारे रोपाई आदि गीतहरूको ठुलो अर्थ हुन्छ । त्यस्तै बिभिन्न संस्कारहरूमा विधि, नियम, आदि कुराहरूको परम्परा व्यक्त हुन्छ । तिनीहरूले इतिहास र पुर्खालाई पनि अवगत गराउने काम गर्दछन् । बनपाखामा गाइने गीतहरूबाट मर्मस्पर्शी भाव स्वतःस्फूर्त व्यक्त हुने गर्दछ । नेपाली समाजमा विशेष गरेर गाउँघरमा सर्वसाधारण, हली, गोठाला, किसानहरूले गीत, कथा वा उखानटुक्काको माध्ययमबाट आफ्नो भनाइलाई अप्रत्यक्ष रूपले प्रतिकात्मक रूपमा व्यक्त गर्छन् । गोठाला, खेतालाहरू वनपाखा पखेरामा घाँस दाउरा लिन जाँदा आउँदा गाइने झ्याउरे गीतहरू अत्यन्त मार्मिक हुन्छन् । नेपाली समाजमा पहिले पहिले झ्याउरे गीत गाउने चलन (दोहोरी गीत) थियो । प्रायजसो गीतहरू मायाप्रीतिकै हुन्थे । जीवनमा मानिसले झेलिरहेका कठिनाइको बारेमा झ्याउरे गीतको माध्यमबाट प्रकट गर्ने प्रचलन थियो र अहिले पनि कहीङ्कहीं छ । सर्वसाधारण मान्छेहरू चार्डपर्व मेलाहरूमा आफ्ना वेदना र पीरमर्काहरू झ्याउरे गीतको माध्यमबाटै प्रकट गर्छन् ।

लोकसाहित्य, गीत, कथा, नाटक, उखानटुक्का आदिको माध्ययमबाट मानिसहरूले शासनव्यवस्थाका विरुद्ध आफ्ना विचारहरू राखेको पाइन्छ । कतिपय गीतहरू शासनप्रणालीप्रति व्यङ्ग गरेर समाजमा परिवर्तन ल्याउने काम पनि हुन्छ । पहिलेपहिले लोकगीत र लोककथा तथा लोकनाटकहरूमा व्यक्त हुने धारणाले शासकवर्गलाई घोचपेच, सामाजिक कुरीतिको पर्दाफास गर्ने काम धेरै नै हुने गरेको पाइन्छ । उहिलेको सामन्ती युगमा स्वतन्त्र र खुला ढङ्गले मानिसहरूले विचार राख्न नपाएपछि लोकसाहित्यलाई माध्ययम बनाएर एक अर्कामा सूचना प्रवाह गर्ने र असन्तुष्टि बाँड्ने काम हुन्थ्यो । लोकसाहित्यको माध्यमबाट शत्रूपक्षको बद्ख्वाइँ गर्ने परम्परालाई नेपाली लोकगीति परम्परामा रोइला भनेर बुझ्न सकिन्छ । शत्रुलाई होच्याउनुपर्दा, आलोचना गर्दा वा आफ्नो पक्षलाई जागरूप तुल्याउनका लागि पनि लोकगीत, लोकनाटक, लोककथा आदि लोकसाहित्यको व्यापक प्रयोग हुने गरेको पाइन्छ ।
नेपालमा पञ्चायती व्यवस्थाको निरङ्कुश दमनका बेला रक्तिमका साथै अन्य बिभिन्न कलाकारहरूले निरङ्कुश पञ्चायती व्यवस्थाको जुवामुनि नेपाली जनताले भोगेका पीडा, अन्याय, अत्याचारको विरुद्धमा जनतालाई चेतनशील बनाउने रे सङ्गठित गर्ने अभियानमा ऐतिहासिक भूमिका रहेको छ । गीत सङ्गीतको माध्यमबाट चराचर जगतलाई बुझ्ने, जनताको शत्रु को हो मित्र को हो ? भन्ने कुरा सर्वासधारण जनतलाई सङ्गीतकोको माध्यमबाट जति चाँडो विषयवस्तु बुझाउन सकिन्छ, लामालामा भाषण, ठुला ठुला बौद्धिक प्रवचनबाट बहुसङ्ख्यक शोषित पीडित जनतलाई सम्झाउन, बुझाउन मुस्किल पर्दछ । लोकसाहित्यमा उखानटुक्का धेरै शक्तिशाली हुन्छ । यसको अर्थलाई सर्वसाधारण जनताले सजिलै व्यक्ताउन सक्दछन् । सजिलै गरी सर्वसाधारण जनताको पहुँचमा रहने र सजिलै बुझिने भएकोले उखानटुक्का लोकप्रिय रहन गएको हो । उखानटुक्काको धेरै पहिलेदेखि प्रचलन छ । यसको प्रयोग संसारभरि नै हुन्छ । तर सबैले गर्न सक्दैनन् । यसको माध्ययमबाट भन्न खोजेको कुरालाई छोटकरी र साङ्केतिक रूपमा बुझाउन सकिन्छ । उखान टुक्का एउटा प्रतिकात्मक शब्द पनि हो । नेपाली समाजमा साधारण मान्छेदेखि लिएर ठुला–ठुला बुद्धिजीवीहरू लेखक साहित्यकारहरूले पनि आफ्नो भनाइलाई समाजमा बुझाउन उखान टुक्काको प्रयोग गर्दछन् । कसैले “एउटा उखान टुक्का भन त” भनेर कर लगाएर उखान टुक्का आउन्न । सबै ठाउँमा सबै परिस्थितिमा उखान टुक्का उपयुक्त हुँदैन र त्यसो हुनाले कर्ताले पनि त्यसरी उखान टुक्का हाल्दैन । तर सन्दर्भवश आफूले भनेको भनाइलाई पुष्टि गर्नेबेलामा भने कहिलेकाँही उखान टुक्का फुर्ने गर्दछ । उखान टुक्कामा व्यङ्ग्य, पुष्टि आदि पक्षहरू घनिभूत भएर रहेका हुन्छन् । त्यसैले कहिलेकाँही समाज, शासक र शत्रूपक्षलाई सीधा बचनबाट आक्रमण गर्नुपर्ने हुँदैन, उखानटुक्काले मात्रै पनि अर्थ प्रष्ट पार्ने काम गर्दछ र जनता जागरूप हुने गर्दछन् । त्यस्तै गाउँखाने कथा, नाटकहरूको प्रदर्शन, लोककथाहरूले पनि नैतिक शिक्षा उपलब्ध गराउनका साथै परिवर्तनका लागि चेतना प्रदान गर्ने काम गर्दछन् ।
सर्वसाधारण र निरक्षर जनताले कलात्मक साहित्यलाई बुझ्न सकिरहेका हुँदैनन् । त्यसैले उनीहरूले मौखिक साहित्यलाई बढी रूचाउँछन् । किनभने त्यो साहित्य भनेको लोकसाहित्य नै हो ।माथि चर्चा भइसकेको छ कि लोकसाहित्य लोकजीवनको रहनसहन, संस्कार र कार्यव्यवहारको अभिव्यक्तिको रूपमा अगाडि आएको हुन्छ र यो जनजिब्रोमा जीवित भइरहेको हुन्छ । त्यसरी लोकसाहित्यले समाज परिवर्तनको लागि ठुलो भूमिका खेलेको कुरा प्रष्ट छ ।
साहित्य जुन प्रकारको भएपनि हरेक क्षेत्रमा काम गर्दा दृष्टिकोणको पक्षमा स्पष्ट हुनुपर्छ । दृष्टिकोण सही भएको खण्डमा मात्र साहित्यको अभिव्यक्ति मानवताका पक्षमा हुनसक्दछ । दृष्टिकोण भनेको जीवन, जगत, जनता, स्वतन्त्रता, अधिकार, न्याय, समानता आदि पक्षलाई मानवजातिको समृद्धि र हितसँग जोडेर हेर्ने वा यिनीहरूबाट अलग पारेर विचार गर्ने वा हेर्ने विपरित दार्शनिक धारणाहरू हुन् । जसले मानवहितको विषयलाई सबैभन्दामाथि राखेर विचार गर्दछ, त्यसअनुसार आफ्नो कार्ययोजना अगाडि बढाउँछ, त्यो उच्च र सही दृष्टिकोण हो । ठीक त्यस्तै प्रकारले दृष्टिकोणको कुरा कलाकारहरूमाथि पनि लागू हुन्छ । दृष्टिकोण सही भए कलाकारको लोकगीत वा कलात्मक कविताले जनतालाई अग्रगतिमा हिडाउनका लागि योगदान दिन सक्दछ ।
त्यसैगरी अनुशासनको विषयलाई पनि गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्दछ । बहुसङ्ख्यक शोषितपीडित जनताको मुक्तिको लागि सङ्घर्षरत कलाकार, सङ्गीतकारहरूले अनुशासनलाई गम्भीरतापूर्वक लिनुपर्छ । लोकसाहित्यमा होस् वा कलात्मक साहित्यमा होस्, अनुशासित लेखक, कलाकार, साहित्यकारहरूले मात्रै समाज परिवर्तन गर्न सक्छन् । कतिपय कलाकार, लेखक, साहित्यकारहरूले अनुशासन मान्नु भनेको पार्टी विशेषको दास बन्नु हो भन्ने गलत धारणा राख्छन् र आफ्नो सृजनात्मक योग्यता र क्षमतालाई सबैतिर व्यापार गर्न पाउनुपर्छ भन्ने धारणा राख्छन् । त्यसैले उनीहरूले सङ्गठित रूपले योगदान दिन सक्दैनन् । आजसम्मको इतिहासमा समाज परिवर्तन गर्ने कार्य सङ्गठित शक्तिले मात्रै गर्न सकेको पाइन्छ । सङ्गठनमा बस्न अनुशासन चाहिन्छ, त्यसैले सबै साहित्यिक आन्दोलनहरूमा त्यो पक्षलाई ध्यानमा राख्नुपर्छ ।
साहित्य, संस्कृतिले पनि निश्चित वर्गको स्वार्थको प्रतिनिधित्व गर्दछ । हामीलाई थाहा भएकै कुरा हो, समाज वर्गीय छ । बहुसङ्ख्यक जनता शोषितपीडित छन्, अल्पसङ्ख्यकको हातमा अहिले पनि संसारको ऐश्वर्य कब्जामा छ । कतिपय कलाकार वा साहत्यिकारहरू दुवैतिर साखिलो हुन खोज्छन् । दुवैतिर साखिलो हुन खोज्दा विस्तारै विस्तारै अल्पसङ्ख्यकको क्याम्पमा सामेल हुन्छन् । महान बैज्ञानिक विचारक कार्लमाक्र्सले भने जस्तै ठुलो विद्वान, वैज्ञानिक, लेखक, सङ्गीतकारहरू करोडौँ शोषित पीडित जनताको पक्षमाभन्दा मुठ्ठिभर शोषकहरूको कारिन्दा हुन मन पराउँछन् । यो के हो भने वर्गीय समाजको शक्तिको प्रयोगको कुरा हो । समाजमा मुठ्रठीभरको वर्गले आफ्नो हैकम कायम गरिरहेको सामाजिक व्यवस्थाको चरित्र कलाकार, साहित्यकार वा वैज्ञानिकहरूमा परिरहेको हुन्छ । उनीहरू प्नि त्यसका शिकार भइरहेका हुन्छन् । तात्कालीन रूपमा दबदबामा रहेको त्यो मुठ्ठीभरवर्गको पक्षमा रहेपछि उनीहरूलाई लाभ, प्रतिष्ठा र पुरस्कारको प्रलोभनले विचलन गराउँछ । त्यसैले उनीहरू मुठ्ठीभर रहेको वर्गको कारिन्दा हुन पुग्दछन् । त्यसैले वर्गीय समाजमा यो कुरा गाह्रो छ ः लोकसाहित्य होस् वा आधुनिक साहित्य, मुख्य कुरा त्यसले बहुसङ्ख्यक जनताको पक्षमा आफ्नो अभिमत दिन सक्छ वा सक्दैन ? भन्ने कुरा प्रमुख हो । अहिले पनि संसारभरि अल्पसङ्ख्यक मुठ्ठीभर शोषकहरूको हातमा धर्तीको ऐश्वर्य कब्जामा छ । बहुसङ्ख्यक मानवसमुदायले नारकीय जीवन विताइरहेको छ । लोकसाहित्यलाई जनताले बुझ्न सक्छन् र त्यो उनीहरूको व्यवहार हो भने कलाधर्मीहरूले जनताको पहुँचमा पुग्ने लोकसाहित्यको महत्वमाथि ध्यान दिंदै निरन्तर रूपमा बहुसङ्ख्यक शोषितपीडित मानवजातिको पक्षमा काम गर्ने र समाज बदल्ने अभियानमा दृढतापूर्वक लागिरहनुपर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation